Comments Add Comment

छापामा आजः वैदेशिक रोजगारीबाट फर्केकालाई सरकारको १० लाख ऋण

२१ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले तिहारसँग सम्बन्धित सामग्रीका साथै  विजय गच्छदारको मनोनयनले कांग्रेसमा बढेको विवाद , उच्चस्तरीय भ्रमण वर्षको प्रगतिलगायत विषयमा समाचार  छापेका छन् ।

त्यसैगरी, पूर्वराजदूत केशव झाको हत्यारा खोजीमा भइरहेको प्रगति,  अनलाइन सेयर कारोबार ,  वैदेशिक रोजगारीबाट फर्केकालाई  सरकारले दिन लागेको ऋण पनि आजका पत्रपत्रिकामा हेडलाइन बनेका छन् ।

पोखरा प्रिमियर लिगको फाइनल खेलका बिजेता खेलाडीहरुको सामूहिक तस्वीरलाई छापेको कान्तिपुरले विजय गच्छदारलाई कांग्रेसले उपसभापतिमा मनोनित गरेपछि रामचन्द्र पौडेल पक्ष आक्रोसित बनेको लेखेको छ । यसअघि नै देउवा पक्षधर मानिने विमलेन्द्र निधि उपसभापतिमा मनोनित भइसकेका छन् ।

व्यक्तिगत लेनदेनको सिलसिलामा नेपाल प्रहरीका एक सईको साथ लागेर गएका व्यक्तिको भोलिपल्ट रहस्यमय मृत्यु भएकोलाई पनि कान्तिपुरले प्राथमिकताका साथ लेखेको छ । आइतबार राति सई सुरेन्द्र कार्कीले मोटरसाइकलमा लिएर गएका रवीन्द्रकुमार ढुंगानाको सोमबार वीर अस्पतालमा मृत्यु भएको परिवारको भनाइ छ ।

कान्तिपुरमै मोरङमा गहुँत पिउन स्थानीयको लर्को लाग्ने गरेको अर्को समाचार पनि छ । विराटनगर–१४ जतुवास्थित श्रीकृष्ण गौसेवा सदनमा दैनिक ९० भन्दा बढी गहुँत पिउनकै लागि आउने गरेको समाचारमा उल्लेख छ । निरोगिताका लागि यसरी गहुँत पिउनेहरुको भीड लाग्ने गरेको हो ।

गोदावरी फूलको चित्ताकर्षक तस्वीर छापेको अन्नपूर्णले नेपालमा वार्षिक ४३ करोडको सयपत्री किनबेच हुने गरेको हिसाब प्रस्तुत गरेको छ । समाचार अनुसार तिहारमा मात्रै ११ करोड रुपैयाँको सयपत्री कारोबार हुन्छ ।

अन्नपूर्णमै पोखरा प्रिमियर लिगमा मात्रै १२ विदेशीले खेलेको समाचार छ । अन्नपूर्णले यही कडीसँगै जोड्दै  नेपाल खेलभूमि बन्दै गइरहेको लेखेको छ ।

नयाँ पत्रिकाले ‘उच्चस्तरीय भ्रमण वर्षः मोदी एक्लै’ शीर्षक दिएर प्रमुख समाचार लेखेको छ ।

सरकारले वर्ष सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष घोषणा गरे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक कोही पनि नआएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । सरकारले भ्रमण वर्ष घोषणा गरे पनि चीन, भारत र कोस्टारिकाबाहेक कसैलाई पनि निम्ता गरेको छैन ।

समाचार अनुसार, बेलायतका प्रधानमन्त्रीले कहिल्यै नेपाल भ्रमण गरेका छैनन् ।

नागरिकको प्रथम पृष्ठमा मधेसको मौलिक तिहारको चर्चासँगै कांग्रेस महासमिति बैठक सरेको समाचार छ ।

राजधानीले प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबार नगएको र बालुवाटारबाटै सरकार चलाएको लेखेको छ । वीर अस्पतालको उपकरण खरिदमा भएको १० करोड घोटालालाई राजधानीले एंकर बनाएको छ ।

कारोबारले वैदेशिक रोजगारीबाट फर्केकालाई १० सरकारले १० लाखसम्म ऋण दिने भएको लेखेको छ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने गरी सरकारले कार्यक्रम अघि बढाएको हो ।

विदेशबाट रेमिट्यान्ससहित सीप र प्रविधि ल्याएका नेपाली युवालाई देशको आर्थिक विकासमा सहभागी गराउने लक्ष्यसहित सरकारले ऋण दिने नीति अघि बढाएको छ । समाचार अनुसार सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको परियोजनामा आधारित ऋण कार्यक्रमको कार्यविधि अन्तिम चरणमा पुगेको छ ।

विदेशबाट फर्केका युावाहरुको सीप परीक्षण गरेर दक्ष युवाहरुलाई सम्बन्धित व्यवसाय सञ्चालन ऋण दिने सरकारी योजना छ । यसरी दिने ऋण परियोजनामा आधारित हुनेछ ।

गोरखापत्रले निर्माणाधीन १५ सय पुल अलपत्र परेको लेखेको छ । आवश्यक ठाउँमा पुल निर्माण हुन नसक्दा डुंगा दुर्घटना र नदी तर्ने क्रममा बर्सेर्नि दर्जनौं मानिसको मृत्यु भइरहेका बेला पुल निर्माणले गति लिन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment