Comments Add Comment

दिनहुँ बजार अनुगमन, उपलब्धी शून्य

२१ कात्तिक, काठमाडौं । बुधबार केही पत्रकारलाई पछि लगाएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कुमार कर्ण नेेतृत्वको टोली महाराजगञ्ज हिँड्यो ।

टोलीले भाटभटेनीसहित आसपासका केहि मिठाइ पसलमा अनुगमन गरिटोपल्यो । तर, तामझामका साथ बजार पुगेको टोलीको उपलब्धि व्यापारी तर्साउने बाहेक अरु देखिएन ।

अखाद्य वस्तु पत्ता लगाउन ल्याब र प्राविधिकसहितको मोबाइल भ्यानमा खाद्य स्वच्छताका लागि विभागले बनाएको बिज्ञापन बजाउँदै हिँडेको टोलीले कुनै गुणस्तहीन र अखाद्य वस्तु फेला पार्न सकेन ।

खुर्सानीका प्याकेट, दुध पाउडर र ड्राइ फूडमा आशंका लागे पनि तत्कालै केही नमूना मोबाइल ल्याबमा परीक्षण गर्दा उपभोगका लागि उपयुक्त नै भएको नतीजा आयो ।

भाटभटेनीको मदिरा विक्रि कक्ष, हरिया तरकारी र मिठाई कक्षसहित भाटभटेनी आफैंले प्याकेजिङ गरेर विक्रि गर्न राखेको मसलाजन्य वस्तु राखिएको कक्षमा विभागका महानिर्देशक कर्णसहित प्राविधिक एवं अप्राविधिकहरुले उल्टाइ पल्टाइ हेरेका थिए । तर, गम्भिर कैफियत फेला परेन ।

भाटभटेनीमा राखिएको आरभेस्ट ब्राण्डको फूल क्रिम मिल्कमा फ्याटको मात्रा अपुग्दो भएको भन्दै १६० वटा प्याकेट विक्रि कक्षबाट हटाउन निर्देशन दिइयो । टोलीले भाटभटेनीको गोदामघर पुग्ने कष्ट भने गरेन ।

आज मात्र होइन, दशैं अगाडिदेखि बजार अनुगमनको कर्मकान्ड यही रुपमा चलिरहेको छ । अरु बेला कुम्भकर्ण जस्तो सुतेर बस्ने नियमनकारी निकाय चाडपर्वका बेला एकाएक चल्मलाउँछ । मानौं, गुणस्तहीन खाद्य वस्तुले चाडपर्वमा मात्रै मानिसको स्वास्थ्यमा हानी गर्छन् ।

खानेकुरामा अखाद्य वस्तु मिसाउन र गुणस्तहीन वस्तु बेचबिखन रोक्न कृषि तथा पशुपंक्षि विकास मन्त्रालय मातहत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग छ ।

यो विभागले दशैंयता दिनहुँ बजार अनुगमन गरिरहे पनि कुनै कैफियत भेटाउन सकेको छैन । तर, यसको अर्थ बजार पूरै सुधि्रएको होइन, अनुगमन प्रभावकारी नभएको हो ।

कर्मकाण्डी अनुगमन
विभागको टोलीले मंगलबार पनि आँगनसहित केहि मिठाई पसलमा अनुगमन गरेको थियो । तर, त्यहाँ पनि कुनै कैफियत भेटिएन ।

बुधबार महारागञ्जको भाटभटेनीबाट निस्किएपछि त्यहिं नजिकैको टिपटप मिठाई पसलमा पस्यो टोली । सामान्य सोधपुछपछि त्यहाँबाट निस्किएर टोली गौशालातर्फ लाग्यो ।

गौशालाको प्रहरी कार्यालय अगाडि रहेको अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारका सञ्चालकलाई हप्कीदप्की गर्दै पक्वान्न कक्ष निरीक्षण गरियो ।

व्यञ्जनमा केहि दिनअघि मात्रै मिठाइ राख्ने स्टोरमा साङ्ला भेटिएपछि विभागले शिलबन्दी नै गरेको थियो । यी तीनै वटा मिठाई पसलमा तेलको गुणस्तर सुधार्न सचेत गरायो टोलीले । यस्तै मिठाईमा रङको प्रयोग नगर्न पनि भनियो ।

विभागका एक अधिकारीका अनुसार बुधबार महाराजञ्जको भाटभटेनी वाहेक अन्यत्र जाने तालिका थिएन ।तर, फिल्डमा निस्किएपछि यसो छिरौं न त भनेझैं ती मिठाई पसलमा पनि जाने मूड आयो हाकिमलाई ।

बुधबार अनुगमन गरिएका मिठाई पसलमा पटक-पटक चाडपर्वका बेला अनुगमन हुँदै आएको छ । नियमित अनुगमन भ्रमण हुने यी मिठाई पसल बाहेक अन्यत्र विभागका नजर परेको छैन ।

अनुगमनमा जाँदा पनि विभागकै अधिकारीबाट पूर्व सूचना दिइने गरेको स्रोत बताउँछ । ‘सेटिङ मिलेन भने मात्रै शिल हुन्छ,’ स्रोतले अनलाइनखबरसँग भन्यो ।

अनुगमनमा खटिएका अधिकारी निकै प्रचारमुखी हुँदा परिणामभन्दा चर्चा बढि हुने गरेको छ । अनुगमनबाट खाद्य वस्तुमा कैफियत पत्ता लगाउन हैन कि टेलिभिजनमा अनुहार देखाउन र अनलाइनमा हेडलाइन बन्न लालायित देखिन्थे उनीहरु ।

विभागका महानिर्देशक कर्णका अनुसार चाडपर्व सुरु भएयता दैनिकजसो दुई वटा टोली बजार अनुगमनमा जाने गरेको छ ।
‘दशैं अघिदेखि नै अनुगमन गर्दै आएका हौं, १३० पटक जति बजार अनुगमन गरिएको छ,’ उनले भने ।

कर्णका अनुसार यस दौरान बानेश्वरको संगममा अखाद्य वस्तु भेटिएपछि उत्पादन कक्ष बन्द गराईएको थियो ।

यस्तै गौशालाको व्यञ्जन र अन्नपूर्णको मिठाई राख्ने ठाउँमा साङ्ला भेटिएपछि शिल गरिएको थियो । हाल यी तीनै मिठाई पसल पुन सञ्चालनमा आइसकेका छन् ।

अनुगमन कि रिफ्रेसमेन्ट?

बुधबारको अनुगमन टोलीमा विभागको माथिल्लो निकाय कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सहसचिव रघुराम विष्ट पनि सहभागी थिए ।

अनुगमनको नियमनकारी निकाय विभाग स्वयं नै भए पनि उनी मन्त्रालयका प्रतिनिधिका रुपमा आएका हुन् । तर, विष्टले नै भनेअनुसार मन्त्रालयबाट प्रतिनिधि अनुगमनमा आउनै पर्ने बाध्यता भने छैन ।

उदेकलाग्दो के भने विष्टले आफ्ना छोरालाई पनि साथै ल्याएका थिए । कार्यालय समयमा छोरा पनि साथै लिएर अनुगमनमा सहभागी हुनुको कारण सोध्दा उनले भने, ‘छोरा पनि रिफ्रेस हुनुपर्यो नि, त्यसैले ल्याएको ।’

अनुगमनमा भन्दा पनि उनी छोराको डिमाण्ड पूर्ति र रेखदेखमै व्यस्त देखिन्थे । उनको प्रस्तुती हेर्दा उनी काममा गम्भिर देखिन्थेनन् । ‘अनुगमन भन्ने कुरो चलिरहन्छ, यस्तै त हो’, उनी भन्दै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment