२७ कात्तिक , काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिसमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाका कारण पार्टी एकता प्रक्रिया रोकिएको बताएका छन् । सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राणाले एकता गर्न चार/पाँच दिनको समय माग्दा थापाले नमानेको दाबी गरे ।
पार्टीको नाम, झण्डा र चिह्न टुँगो नलागी एकता हुन नसक्ने राणाको भनाइ छ । ‘तातै खाउँ जल्दै मरौँ गर्न खोज्दा एकता प्रक्रिया तत्कालका लागि रोकियो’ राणाले कार्यक्रममा भने ।
गाईलाई चुनाव चिह्न बनाउने थापाको प्रस्ताव आफूलाई अस्वीकार्य भएको राणाको भनाइ छ । अध्यक्ष राणाले हिन्दु राष्ट्र र गणतन्त्रको विषयमा भने सहमति भइसकेको बताए । उनले भने, ‘हिन्दु राष्ट्र बनाउने विषयमा तीनै राप्रपाबीच कुरा मिलिसकेको छ ।’
गणतन्त्रको विषयमा भएको सहमति भने उनले खुलाउन चाहेनन् ।
राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक, थापा नेतृत्वको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादीबीच हुने भनिएको एकता घोषणा अन्तिम समयमा आएर रोकिएको थियो ।
प्रतिक्रिया 4