Comments Add Comment

१४ वर्षसम्म पनि नबनेको झोलुङ्गे पुल

२७ कात्तिक। डोटी । एउटा झोलुङ्गे पुल निर्माण गर्नका लागि कति समय लाग्ला ? एक वर्ष, दुई वर्ष वा तीन वर्ष ! तर डोटी जिल्लामा एक झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको १४ बर्ष बित्दा पनि पुरा भएको छैन ।

सेती नदीमा निर्माण गर्न लागिएको झोलुङ्गे पुल निर्माण कार्य पूरा नहुँदै बाङ्गएिपछि आवत जावत गर्नमा समेत समस्या भएको छ ।

शिखर नगरपालिका-११ तल्लिसातमा “तल्लिसात झोलुङ्गे पुल” नामाकरण गरी २०६१ सालदेखि निर्माण गर्न लागिएको उक्त झोलुङ्गे पुलको निर्माण कार्य अलपत्र परेको छ । पुललाई मजबुत बनाउन साईडमा कस्नु पर्ने केवलहरु कसिएका छैनन् । केवल नकसिएपनि अर्को कुनै बिकल्प नभएका कारण स्थानीयहरु सोही पुलबाट आउजाउ गर्न बाध्य छन् । पुल बांगिएको छ । मान्छे आउजाउ गर्दा हल्लिन्छ ।

पुललाई साइडबाट कसिएको पनि छैन जसका कारण पुल बाङ्गएिको शिखर नगरपालिका-११ का देवबहादुर किमाडी बताउँछन् । ‘यो पुल निर्माण कार्य सुरु हुँदा द्वन्द्वकाल थियो, अहिले देशमा गणतन्त्र आइसक्यो, हाम्रो बारपाटा गाउँ विकास समिति नगरपालिकामा परिणत भइसक्यो’ उनी भन्छन् ‘यो १४ बर्षको अवधिमा धेरै विकास भयो तर हाम्रो पुल बनेन ।’ आफुहरुले पटक पटक कुरा उठाउँदा पनि कसैले सुनुवाई नगरेको उनको गुनासो छ ।

स्थानीय तहको निर्वाचन र संघीय एवं प्रादेशिक संसदको निर्वाचनमा भोट माग्न आएका अधिकांश नेताहरु सोही पुलबाट ओहोरदोहोर गरेको तर पुल छिटो निर्माण गर्न कसैले पहल नगरेको स्थानीयको गुनासो छ ।

स्थानीय भन्छन्, ‘मेयर साप त चुनाव जितेपछि पनि दुई/तीन पटक यो पुलमा हिड्नु भएको छ तर पनि कुनै चाँसो राख्नु भएन ।’

एकसाथ चारजना मात्रै पनि हिड्दा अव खस्छ जस्तो गरी पुल हल्लिने गरेको स्थानीय कमल जोराईला बताउँछन् । जोराईलाले यो पुलवाट ओहोरदोहोर गर्न जोखिमपूर्ण भएको वताए । ‘पुलको यो अवस्थामा वारेमा पटकपटक सरोकार-वालाहरुलाई जानकारी गराउँदा समेत कुनै सुनुवाई भएन’ स्थानीय शेरवहादुर बोहरा भन्छन ‘कुन दिन पुल चुडिँन्छ र अर्को समस्या आउँछ ।’

साइड केबलहरु र अन्य सामानहरु पनि निर्माण स्थलमै छ । तर काम भने हुँदैन, न त काम कस्ले गर्ने हो भन्ने कुनै जानकारी छ ।

यस्तो छ पुलको कथा

साविकको जिल्ला विकास समिति डोटीले पुल निर्माणका लागि २०६१ सालमा ठेक्का आव्हान गर्‍यो । ठेक्का सम्झौता गर्ने निर्माण व्यवसायी दावा शेर्पा बिचमै काम छोडेर गए । लामो प्रक्रियापछि उनीसंगको ठेक्का रद्द भयो ।

फेरी अर्को ठेक्का सम्झौता भयो । अर्को ठेक्का सम्झौता गर्ने निर्माण व्यवसायी छत्रसिं कठायतले पनि तोकिएको समयमा काम पुरा गरेनन् । पुल निर्माण कार्य ढिलो हुन थालेपछि स्थानीयहरु साईडमा जालीसमेत नलाएको पुलमा आउजाउ गर्न बाध्य भए ।

२०६८ सालमा पनि एक पटक पुल बांगियो । स्थानीयले आन्दोलन गर्ने चेतावनी दिएपछि काम चलाउका रुपमा सोझ्याईयो तर निर्माण कार्य भने पुरा भएन । त्यसै बिचमा बजार भाउ बढेको भन्दै ठेक्का रकम बढाउने कसरत भयो ।

केही सयमसम्म केवल नपाईएको भनियो, केवल आयो तर त्यो छोटो भयो । त्यसपछि तन्काउने मेसिनको खोजी भयो । तन्काउने मेसिन आएपछि मजदुर नपाईएको बहाना बनाइयो ।

मजदुर पाइएपछि काम सुरु भयो तर केवल तन्काउने क्रममा काम गरिरहेका मदजुर-हरुलाई चोट लाग्यो । त्यसपछि पुल निर्माण कार्य पूर्ण रुपमा ठप्प भयो । उक्त अधुरो काम ठेकेदारले बनाउँछन कि बनाउँदैनन् भन्ने पनि जानकारी छैन स्थानीयलाई । ‘सुन्नमा आए अनुसार ठेकेदारले मैले मेरो काम पुरा गरिसकेँ भन्छन् रे’ एक स्थानीयले भने ‘अव बाँकी काम कसले गर्ने हो थाह भएन ।’

यस बिषयमा जानकारी लिनका लागि ठेकेदार छत्रसिं कठायतसंग टेलिफोन सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।

किन आए त साईज भन्दा साना केवलहरु ? के इष्टिमेट विनै वनेको हो त त्यो पुल ? १४ वर्षसम्म पनि किन बनेन झोलुङ्गे पुल ? यस्ता कतिपय प्रश्नहरु निरुत्तरितै रहेका छन त्यो पुलमा ।

ठेकेदारको लापरवाही हो वा सम्वन्धित निकायका कर्मचारीहरुको ठेकेदारसँगको मिलेमोतो हो ? यस्को उत्तर को ले दिने ! ठेक्का सम्झौता दिने जिल्ला विकास

समिति पनि खारेज भईसकेको अवस्थामा पुल निर्माण कार्य भने थप अन्यौल बनेको छ ।

राज्यको पुनसर्ंरचना भइसकेपछि आफ्नो क्षेत्रभित्रका सम्पूर्ण भौतिक पूर्वाधारको स्वामित्व स्थानीय तहमा जान्छ ।

आर्थिक वर्ष०७४/७५ मा झण्डैं ४३ करोड र ०७५/७६ मा झण्डै ३० करोड बजेट बिनियोजन गरेको शिखर नगरपालिकाले न त यो पुलको स्वामित्व लिएको देखिन्छ न त यसको निर्माणका लागि योजना बनायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment