+
+
Shares

मन्त्रीबाट बर्खास्त सोडारीको सांसद पद के हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २८ गते १६:३३

२८ कात्तिक, काठमाडौं । पदीय आचरणमा नबसेको आरोपमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीबाट बर्खास्त दीर्घबहादुर सोडारीको सांसद पद पनि धरापमा पर्ने भएको छ ।

उनको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेकाले अब उनको प्रदेशसभा सदस्य पद के हुन्छ भन्ने विषयमा बहस भएको छ ।

सोडारी गत वर्ष सम्पन्न प्रदेशसभामा निर्वाचनमा कैलाली ४ ‘क’ बाट १६ हजार १११ मत ल्याएर निर्वाचित भएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार कुनै दलको तर्फबाट उम्मेदवार भएर निर्वाचित भएका प्रदेशसभा सदस्यले पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न नसक्ने उल्लेख छ । उक्त ऐनको दफा ३४ मा सांसदले दलत्याग गरेको वा उनलाई कारबाही गरेको जानकारी सम्बन्धित संसदीय दलले प्रदेशसभा सचिवालयलाई दिनुपर्छ ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतम कुनै पनि सांसदलाई पार्टीले निश्कासन गरेको लिखित जानकारी प्राप्त भएपछि उक्त स्थान रिक्त गराउने प्रक्रिया अगाडि बढ्ने बताउँछन् । गौतमले अनलाइनखबरसँग भने, ‘प्रदेश सांसदको हकमा सम्बन्धित प्रदेशमा पत्र पुगेपछि स्थान रिक्तता र निर्वाचन सम्बन्धी प्रक्रिया अगाडि बढ्छ ।’

पार्टीले आफ्नो साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जानकारी संसद सचिवालयलाई औपचारिक रुपमा नगराएसम्म उनी पदमुक्त नहुने कानुनी व्यवस्था छ ।

नेकपाको सुदुरपश्चिम इन्चार्ज भीमबहादुर रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई मंगलबार मन्त्रीबाट बर्खास्त गरेका थिए । नेकपाकै अर्का सांसद कृष्ण सुवेदी सामाजिक विकास मन्त्री नियुक्त भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?