Comments Add Comment

मध्यभोटेकोशी आयोजनाविरुद्ध सीडीओ कार्यालयमा उजुरी

२९ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाविरुद्ध बाह्रबिसे नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ । कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि सेयर खुला गरेकै दिन नगरपालिकाले उजुरी दिएको हो ।

मध्यभोटेकोशी जलविद्युत आयोजना सुरु गर्दा आयोजना प्रभावित क्षेत्रमा विभिन्न सहयोग गर्ने लिखित प्रतिवद्धता गरेपनि आजसम्म आयोजनाले कुनै पनि काम नगरेकाले उजुरी दिएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जानकारी दिए ।

बह्रविसे नगरपालिकाका मेयर शेर्पा सहितको टोलीले मध्य भोटेकोशी जलविद्युत आयोजनाका निर्देशक मणिराम काफ्ले, आयोजनाका कम्पनी सचिव टोमलाल सुवेदी, आयोजना प्रमुख सुनिलकुमार लामा र आयोजनाका डिजाइनर विजयलाल श्रेष्ठविरुद्ध प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् ।

नगरपालिकाले आयोजनाका अख्तियार प्राप्त सबैलाई बोलाएर आयोजना सुरु हुँदाका बखत प्रभावित क्षेत्रका बासिन्दासँग गरेका लिखित प्रतिवद्धता पूरा गराउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

‘स्वास्थ्य चौकी र विद्यालय बनेनन्, वडाले रकम पाएनन्’

मध्यभोटेकोशी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयलाई सहयोग गर्नका लागि मध्यभोटेकोशी जलविद्युत आयोजना कार्यान्वयन सरोकार समिति गठन गरेर कार्यविधि समेत बनाएर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो । सरोकार समितिका संयोजकमा बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा स्वयम् छन् । सरोकार समिति र स्थानीय सरकारले पटकपटक लिखित आग्रह गर्दा पनि आयोजनाले प्रतिवद्धता पूरा गर्न बेवास्ता गरेको शेर्पाले बताए ।

आयोजना प्रभावित साविकको गाति, मार्मिङ, मानेश्वाँरा सहित साविकको ५ गाविसमा सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक बजेट दिएर विभिन्न विकासका कामहरु गर्ने प्रतिवद्धता आयोजनाले गरेको थियो । आयोजनाले गरेको प्रतिवद्धता अनुसार हालसम्म पनि बजेट नदिएको मेयर शेर्पाले बताए । ‘आयोजनाले बजेट दिन्छ भनेर वडाले विकासका योजनाहरु अघि सारेका छन् तर आयोजनाले बजेट नै दिँदैन, हामीलाई काम गर्न नै समस्या भएको छ,’ मेयर शेर्पाले भने ।

आयोजनाको सुरुङ मार्ग लगायत अन्य संरचना निर्माणका क्रममा भत्काएको स्वास्थ्य चौकी, विद्यालय लगायतका अन्य संरचनाहरु समेत अहिलेसम्म निर्माण नगरेको वडा नम्बर ५ का अध्यक्ष बेलबहादुर रोक्काले बताए । आयोजनाले सुरुङ निर्माण गर्दा त्यहाँबाट निस्किका कच्चा पदार्थ (मग)लाई व्यवस्थित रुपमा नराखेको र भोटेकोशी नदीमा फाल्दा नदीले नगरपालिकाको वडा नम्बर ६ र ७ जोड्ने पुल समेत बगाएको मेयर शेर्पाको भनाइ छ ।

आयोजनाले प्रभावित क्षेत्रमा एम्बुलेन्स दिने, बिग्रेका संरचना निर्माण गर्ने भनेर लिखित प्रतिबद्धता गरेपनि केही पनि पूरा नगरेपछि आफूहरु बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा आएको मेयर शेर्पाले बताए । ‘हाम्रो तर्फबाट आयोजनालाई सधैं सहयोग गरिरहेका छौं, तर आयोजनाले स्थानीय सरकार र आयोजना आफैंले बनाएको सरोकार समितिलाई टेरेन,’ मेयर शेर्पाले भने ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले भने दुवै पक्षलाई छलफलमा बोलाउने तयारी गरेको बताए । ‘स्थानीय सरकार र आयोजनाको बिचमा द्वन्द्व हुने अवस्था आयो, शान्ति सुरक्षा नबिग्रीयोस् भनेर प्रहरीलाई समेत भनेका छौं,’ प्रजिअ अधिकारीले भने, ‘छिटो दुवै पक्षलाई बोलाएर निकास निकाल्ने तयारी भइरहेको छ ।’

यसबारे जानकारी लिन आयोजनाका अधिकारीसँग सम्पर्क गर्न खोज्दा स्थापित हुन सकेन ।

चिनियाँ ठेकेदारले पैसा पाएनन्, काममा ढिलाई

जिल्लाको हालसम्मकै ठूलो जलविद्युत आयोजना मध्य भोटेकोशीले हालसम्म ३० प्रतिशत काम पनि सकेको छैन । सन् २०१३ मा निर्माण सुरु भएको यो आयोजनामा व्यवस्थापकीय कमजोरीका कारण आयोजनाले गति लिन नसकेको स्थानीयको आरोप छ ।

२०१३ मा निर्माण सुरु भइ २०१७ को जुनमा आयोजना सक्ने योजनाका साथ काम सुरु भएपनि भूकम्प, नाकाबन्दी र भोटेकोशी बाढीको कारण आयोजनाको काममा ढिलाइ हुँदै आएको छ । त्यसैले म्याद थपिएर सन् २०१९ को जुन महिनामा आयोजना सक्नु पर्ने छ । तर अहिलेको कामको गति हेर्दा अझै लामो समयसम्म पनि आयोजना पूरा हुने संकेत नदेखिएको प्रभावित क्षेत्रका बासिन्दा एवम् बाह्रविसे नगरपालिकाका मेयर शेर्पा बताउँछन् ।

साढे १४ अर्बको लागानीमा निर्माण हुने मध्यभोटेकोशी आयोजनालाई चाहिने आवश्यक पुँजीका लागि कर्मचारी सञ्चयकोषसँग यसअघि नै ऋण सम्झौता भइसकेको छ ।

साविकको मार्मिङ गाविसको चाकु दोभानबाट भोटेकोशी र चाकु नदीको पानी सुरुङभित्र हालेर सात दशमलव २ किलोमिटर सुरुङबाट गातीको जम्बुमा पावरहाउस निर्माण हुने छ । आयोजनाको मुख्य सुरुङ निर्माणको जिम्मा चिनियाँ ग्वाङसी हाइड्रो इलेक्ट्रोनिक कम्पनीले पाएको थियो । झण्डै ८ अर्बमा चिनियाँ कम्पनीले सुरुङ र पावर हाउस निर्माणको ठेक्का पाएको मध्यभोटेकोशी जलविद्युत आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले ४५ करोड रुपैयाँ चिनियाँ कम्पनीलाई भुक्तानी दिन बाँकी छ । चिनियाँ पक्षले पटक पटक रकम माग्दा भुक्तानी दिन आलटाल गरेपछि यतिबेला चिनियाँहरुले काममा आलटाल गरेका छन् ।

चिनियाँ ठेकेदारले गरेको कामको पहिला कन्सल्टेन्टबाट पास भएपछि मात्रै भुक्तानी हुन्छ, तर कन्सलटेन्टका दिनेश भण्डारीले ४५ करोडको बिल पास गर्नका लागि २ करोड रुपियाँ माग गरेको स्रोतको दाबी छ । चिनियाँ पक्षले त्यत्रो रकम दिन अस्वीकार गरेपछि भण्डारी लगायतका समूहले भुक्तानी रोक्का गरेको चिनियाँका एक नेपाली सहयोगीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment