Comments Add Comment

दीपिका–रणवीरको बिहेमा फोटो खिच्न निषेध

बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहको विवाह ईटलीमा जारी रहेको छ । बुधबार कोंकणी रीति–रिवाजअनुसार विवाह भएको थियो भने आज सिन्धी परम्पराअनुसार वैवाहिक प्रक्रिया भइरहेको छ । बुधबारको समारोहमा दीपिकाले सेतो र सुनौलो रंगको साडी लगाएकी थिइन् ।

यसैगरी रणबीर पनि सेतै पोशाकमा सजिएका थिए । यसअघि संगीत समारोह, मेहेन्दी समारोह र ईंगेजमेन्ट भइसकेको छ । ईंगेजमेन्टमा रणवीरले घुँडा टेकेर दीपिकालाई औंठी लगाइदिएका थिए । साथै उनले गीत पनि गाएका थिए । मेहेन्दी लगाउने क्रममा दीपिका रोएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार वैवाहिक समारोहको इन्स्योरेन्स गरिएको छ । ओरिइन्टल इन्स्योरेन्स कम्पनीले यसको इन्स्योरेन्स गरेको हो र पोलिसी रणबीरको नाममा जारी गरिएको छ । यदि वैवाहिक प्रक्रियाको ५ दिनभित्र कुनै दुर्घटना भएमा त्यसको नोक्सानी इन्स्योरेन्स कम्पनीले व्यहोर्ने छ ।

ईटलीको लेक कोमोमा आयोजित वैवाहिक समारोहमा सञ्चारमाध्यमलाई प्रवेश दिइएको छैन । यसैगरी निम्तालुहरुलाई पनि मोबाइलबाट फोटो खिच्न बन्देज लगाइएको छ । यसले गर्दा अहिलेसम्म बिहेको गतिलो फोटो सार्वजनिक हुन सकेको छैन । बिहेको फोटो खिच्नका लागि कसैले एकाधिकार खरिद गरेको हुन सक्ने अनुमान छ ।

बिहे लगत्तै दीपिका र रणबीर छोटो हनिमुन ट्रिपमा जानेछन् । कहाँ जाने भन्ने चाहिँ उनीहरुले खुलाएका छैनन् । हनिमुनपछि उनीहरु आ–आफ्नो प्रोजेक्टमा व्यस्त हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment