News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री दीपिका पादुकोण दोस्रो गर्भावस्थामा रहे पनि फिल्म ‘किङ’ को छायांकनमा सक्रिय छिन् र शाहरुख खानसँग केप टाउनमा सुटिङ गरिरहेकी छिन्।
- फिल्म ‘किङ’ को छायांकन दक्षिण अफ्रिकामा १८ दिनसम्म चल्नेछ र यसमा शाहरुख खान, सुहाना खान, अभिषेक बच्चन, रानी मुखर्जी लगायत कलाकारको अभिनय रहनेछ।
- ‘किङ’ क्रिसमस २०२६ मा रिलिज हुने तय छ र यसको प्रतिस्पर्धा हलिउड फिल्म ‘एभेन्जर्स : डूम्स डे’ र ‘ड्यून पार्ट २’ सँग हुने देखिन्छ।
मुम्बई । बलिउड अभिनेता रणवीर सिंह हालैको फिल्म ‘धुरन्धर’ र ‘धुरन्धर २’ को सफलताको उत्सवमा व्यस्त छन् । यहीबीच उनकी श्रीमती तथा अभिनेत्री दीपिका पादुकोण भने दोस्रो गर्भावस्थाका बाबजुद पनि फिल्मको सेटमा सक्रिय देखिएकी छन् ।
दीपिका आफ्नो आगामी फिल्म ‘किङ’ को छायांकनमा जुटेकी छन्, जहाँ उनी शाहरुख खान सँग देखिनेछिन् । सेटबाट सार्वजनिक भएका केही तस्वीरले सामाजिक सञ्जालमा चर्चा पाएका छन् । ती तस्वीरमा दीपिकाको ‘प्रेग्नेन्सी ग्लो’ स्पष्ट देखिन्छ ।
हालै दोस्रो गर्भावस्था घोषणा गरेकी दीपिका दक्षिण अफ्रिकाको केप टाउनमा छायांकनमा व्यस्त छिन् । सार्वजनिक तस्वीरमा उनी शाहरुखसँग हातमा हात समाएर हिँडिरहेको देखिन्छिन् । लामो समयदेखि फिल्मबाट टाढा रहेकी दीपिकाले ‘कल्की २८९८ एडी’ पछि पहिलो सन्तानलाई जन्म दिएकी थिइन् र अहिले पुनः गर्भवती छिन् ।
आउटडोर सुटिङका क्रममा उनी मुस्कुराउँदै क्यामेरामा देखिएकी छन् । सेटमा शाहरुख अगाडि हिँडिरहेको देखिन्छ भने केही दृश्यमा उनले दीपिकाको हात समातेको देखिन्छ । दीपिकाले यस्तो पहिरन रोजेकी छन् जसले उनको ‘बेबी बम्प’ लुकाएको जस्तो देखिन्छ । उता शाहरुख भने रफ एन्ड टफ लुकमा प्रस्तुत भएका छन् ।
यस्तै, सेटबाट आएका तस्वीरमा शाहरुख नयाँ हेयर स्टाइलमा देखिएका छन् । यसअघि ग्रे कपालसहित सेटमा देखिँदा पनि उनी निकै चर्चामा आएका थिए ।

दोस्रो गर्भावस्थाका बाबजुद पनि दीपिकाले आफ्नो कामप्रतिको प्रतिबद्धता कायम राखेकी छन् । यही साताको सुरुवातमा उनी श्रीमान् रणवीरसँग मुम्बईबाट बाहिरिँदै गरेको अवस्थामा देखिएकी थिइन् । विमानस्थलमा उनको सरल र सहज शैलीले धेरैको ध्यान खिचेको थियो ।
त्यो दृश्य दोस्रो गर्भावस्था सार्वजनिक भएपछि पहिलो पटक दुवैजना क्यामेरामा देखिएको क्षण थियो । त्यस बेला रणवीर निकै सुरक्षात्मक भूमिकामा देखिएका थिए । कारबाट झार्नेदेखि विमानस्थलभित्र प्रवेश गराउँदासम्म उनले दीपिकाको विशेष ख्याल राखेको देखिन्थ्यो ।
फिल्म ‘किङ’बारे कुरा गर्दा, यो फिल्मलाई निर्देशक सिद्धार्थ आनन्दको सबैभन्दा महत्वाकांक्षी एक्सन–थ्रिलर प्रोजेक्ट मानिएको छ । छायांकन अहिले तीव्र गतिमा भइरहेको छ । यसमा शाहरुखकी छोरी सुहाना खान, अभिषेक बच्चन, रानी मुखर्जी लगायत अन्य कलाकारको पनि अभिनय रहनेछ ।
छायांकन दक्षिण अफ्रिकामा करिब १८ दिनसम्म चल्ने बताइएको छ । त्यहाँ अहिले टिम भव्य क्लाइमेक्स दृश्यको छायांकनमा व्यस्त छ । जानकारी अनुसार, टोलीले केप टाउनमा एक हप्तासम्म सुटिङ गर्नेछ भने त्यसपछि १० दिनका लागि मुम्बई फर्किने तयारी छ । यस क्रममा कलाकारले केही आकर्षक एक्सन दृश्य पनि खिच्नेछन् ।
क्रिसमस २०२६ मा रिलिज हुने तय गरिएको ‘किङ’ले आफ्नो भव्यता र स्टार कास्टकै कारण सुरुदेखि नै चर्चा बटुलिरहेको छ । यो फिल्म शाहरुख खान र उनकी छोरी सुहाना खान को पहिलो पटक पर्दामा देखिने सहकार्य पनि हो ।
रिपोर्टअनुसार, रिलिजको समयमा ‘किङ’को प्रतिस्पर्धा हलिउडका ठूला फिल्म ‘एभेन्जर्स : डूम्स डे’ र ‘ड्यून पार्ट २’ सँग हुने देखिन्छ । यी दुवै फिल्म ‘किङ’ भन्दा करिब एक हप्ता अगाडि नै सिनेमाघरमा आउने बताइएको छ ।
प्रतिक्रिया 4