Comments Add Comment

मोदीले ईपीजीको प्रतिवेदन छिट्टै बुझ्नुहुन्छ : राजन भट्टराई

२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने बताएका छन् ।

बिहीबार रिपोर्टस क्लबमा आयोजित साक्षातकारमा उनले भने, ‘यसबारेमा हामी दुवै तर्फका सदस्यहरुबीच कुराकानी भैरहेको छ । हाम्रो तर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ । अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ । तर अहिले मिति तोक्दैनौं ।’

ईपीजीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धका सन्धी, सम्झौतादेखि लिएर सबै पक्षको बारेमा पुनरावलोकन गरेको दाबी गरे । उनले थपे, ‘ईपीजीको यो दुई वर्षे कार्यकालमा ९ पटकसम्म बैठक बसेर हामीले विभिन्न आयामबारे छलफल गर्यौं । र, हामी दुवै तर्फका बसेर एकल प्रतिवेदन बनायौं अब यो रिपोर्ट पहिला मोदीलाई बुझाउने भनेका छौं । दुवै देशका प्रधानमन्त्रीलाई बुझाएर नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्ने भनेका छौं ।’

भट्टराईले ईपीजीको रिपोर्ट अत्यन्तै राम्रो बनेको र दुवै देशको हितमा रहेको पनि जिकिर गरे । उनले भने, ‘रिपोर्ट कसरी अघि बढाउने भन्नेबारे अहिले दुवै तर्फका संयोजकबीच कुराकानी तथा सम्वाद भइरहेको छ ।’

भारत र चीन दुवै सम्पन्न मुलुक भएकोले अब नेपालले दुवैसँग आफ्नो सम्बन्ध आर्थिक रुपमा केन्द्रित गर्ने पनि उनले जनाए । उनले भने, ‘भारत र चीन दुवै मुलुक आर्थिक र सामरिक हिसाबले पनि विश्वमा उदीयमान मुलुक हुन् । राजनीतिक हिसाबले पनि उनीहरुको प्रभाव फैलँदो छ । त्यो फैलँदो प्रभावबाट हामीले हाम्रो मुलुकको हितमा, हाम्रो राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर के–के कुरा लिन सक्छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओली आगामी सन् २०१९ को जनवरी/फेब्रुअरीतिर महत्वपूर्ण भ्रमणमा जाने आफूले सूचना पाएको पनि भट्टराईले जानकारी दिए । उनले भने, ‘उहाँ महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन विदेश भ्रमणमा जानुहुन्छ । त्यस्तै द्विपक्षीय भ्रमणमा पनि जाने सूचना छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment