Comments Add Comment

मुख्यमन्त्री पोखरेल र अमेरिकी राजदूत बेरीबीच छलफल

२९ कात्तिक, बुटवल । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले प्रदेशका प्राथमिकताबारे चासो व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यकक्षमा बिहीबार भएको भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम, समृद्धिका लागि प्रदेशका प्राथमिकता, नेपालको विकासमा अमेरिकाले गरेको सहयोग र सहयोगका क्षेत्रबारे छलफल भएको छ ।

भेटमा मुख्यमन्त्री पोखरेलले तीन तहको चुनावपछि राजनैतिक संघीयता पूर्ण रुपमा कार्यान्वयन भएको, प्रशासनिक पुनर्संरचना र वित्तीय संघीयता कार्यान्वयन हुन बाँँकी रहेको जानकारी गराएका थिए ।

प्रशासनिक पुनर्संरचनाले प्रशासनिक संघीयता कार्यान्वयन हुने र वित्तीय संघीयता कार्यान्वयन भएपछि संघीयताको पूर्णरुपमा व्यबहारिक अभ्यास र कार्यान्वयन हुने जानकारी मुख्यमन्त्रीले राजदूत बेरीलाई जानकारी गराएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश पाँच मिनी नेपालको रुपमा रहेको भन्दै मुख्यमन्त्रि पोखरेलले यो प्रदेशमा हिमाल, पहाड र तराई रहेको र नेपालका अरु सबै प्रदेशका विशेषताहरु रहेको राजदूतलाई जानकारी गराएका थिए ।

मुख्यमन्त्री पोखरेलले यो प्रदेश कृषिमा आत्मनिर्भर रहेको, आधुनिकीकरण र व्यवसायीकरण गर्दा खाद्यान्न निर्यात गर्ने अवस्थामा रहेको, प्रदेशमा शहरीकरणलाई व्यवस्थित गर्न र कृषि उत्पादनको बजारलाई सुनिश्चित गर्न महानगरीय पूर्वाधार विकासको मोडल अघि सारेको, प्रदेशको गरिबी हटाउन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अघि सारेको जानकारी गराए ।

भेटमा राजदूत बेरीले नेपालको संघीयता कार्यान्वयनमा अमेरिका सरकारले के सहयोग गर्न सक्छ भन्ने जिज्ञासा राखेका थिए ।

अमेरिकाले २ सय ५० वर्षदेखि संघीयताको अभ्यास गर्दै आएको र अझै धेरै गर्न बाँकी रहेको तथा संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको राजदूत बेरीले बताएका थिए ।
अमेरिकाले ३० वर्ष अघि राप्ती एकीकृत ग्रामीण विकास कार्यक्रम सञ्चालन गरेर पूर्वाधार विकासमा ठूलो टेवा पुर्‍याएको स्मरण गर्दै मुख्यमन्त्रीले अझै पूर्वाधार विकासका लागि ठूलो श्रोतको आवश्यकता रहेको बताए ।

प्राविधिक शिक्षाको महत्वपूर्ण केन्द्र स्थापनाका लागि सघाउन आग्रह गर्दै उनले नेपालको विकास प्रयासमा अमेरिकाको सधैं सद्भाव रहेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

भेटमा राजदूत बेरीले समावेशी लोकतन्त्र, सुशासन र स्थायित्वका लागि सधैं मिलेर काम गर्ने जानकारी गराउदै आफूले लुम्बिनीको भ्रमण गरेको र यस्ता सम्पदा जोगाएर अघि बढ्न सके नेपालले लाभ लिन सक्ने बताए । कृषिको आधुनिकीकरण र पर्यटन विकासले नेपालले समृद्धि हासिल गर्न सक्ने बताए ।

राजदूत भएर आएपछि पहिलोपल्ट लुम्बिनी भ्रमण गरेकोमा मुख्यमन्त्रीले राजदुत बेरीलाई धन्यवाद समेत दिएका थिए ।

त्यसैगरी आजै मुख्यमन्त्रीलाई बेलायती सहयोग नियोग डीएफआइडी अन्तगर्तको रोजगारका लागि सीप कार्यक्रमका टिम लिडर बाल्जित भोराले भेट गरेका छन् ।

भेटमा रोजगार श्रृजना, सीप विकास र आर्थिक वृद्धिका लागि सरकार र निजी क्षेत्र बीच सहकार्य गर्ने विषयमा प्रदेश सरकारसंग मिलेर कार्यक्रम कार्यान्वयन गर्ने बारे छलफल भएको छ ।

चार वर्षे यो कार्यक्रम सञ्चालन गर्न नेपाल सरकार अर्थमन्त्रालयसंग सम्झौता भइरहेको छ । त्यस अनुरुप यस प्रदेशमा प्रदेशको आवश्यकता, संभावना र क्षमताका अधारमा कार्यक्रम पहिचान तथा सञ्चालन गर्ने बारेमा प्रारम्भिक छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment