Comments Add Comment

कच्चा कफीको मूल्य निर्धारण, आयात बढ्दा निर्यात घट्यो

३० कात्तिक, काठमाडौं । यस वर्षका लागि कच्चा कफीको मूल्य निर्धारण भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले भोलि -मंसिर १ गते) देखि लागु हुने गरी यो वर्षका लागि कच्चा कफीको मूल्य तोकेको हो ।

बोर्डका अनुसार ए ग्रेडको फ्रेस चेरी कफीको मूल्य यसवर्षका लागि प्रतिकिलो ८५ रुपैयाँ निर्धारण गरिएको छ । बि ग्रेडको फ्रेस चेरी कफीको मूल्य ८० रुपैयाँ प्रतिकिलो तोकिएको छ । ए ग्रेडको फ्रेस चेरी कफी अर्गानिक प्रमाणित हो भने बि ग्रेडको अर्गानिक प्रमाणित होइन ।

गत वर्ष ए ग्रेडको फ्रेस चेरी कफीको मूल्य प्रतिकिलो ८३ र बि ग्रेडको फ्रेस चेरीको ७८ रुपैयाँ प्रतिकिलो थियो । ए ग्रेडको पार्चमेन्ट कफीको मूल्य गत वर्षभन्दा १० रुपैयाँ वृद्धि भएको छ ।

अर्गानिक प्रमाणित नभएको यसको मूल्य गत वर्ष ४१५ रुपैयाँ प्रतिकिलो रहेको यसवर्षका लागि प्रतिकिलो ४२५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै बि ग्रेडको पार्चमेन्टमा पनि १० रुपैयाँ बढाएर प्रतिकिलो ४१० रुपैयाँ निर्धारण गरिएको छ । बोर्डले वि.स. २०७१ यता पार्चमेन्ट कफीको मूल्य बढाएको थिएन ।

तीन वटै ग्रेडको ड्राइ चेरीको मूल्यमा हेरफेर भएको छैन । वि.स. २०७२ यता ए ग्रेडको ड्राइ चेरी कफीको मूल्य प्रतिकिलो १४०, बि ग्रेडको १०० र सी ग्रेडको ४० रुपैयाँ प्रतिकिलो छ । बोर्डले मंसिर १ लाई राष्ट्रिय कफी दिवसका रुपमा मनाउँदैछ ।

उत्पादनमा वृद्धि

बोर्डका अनुसार गत वर्षको तुलनामा कफीको उत्पादनले १० प्रतिशतले बढेको छ । गत वर्ष मुलुकभर ४ सय ६६ मेटि्रक टन कफी उत्पादन भएकोमा त्यो बढेर ५ सय १३ मेटि्रक टन पुगेको तथ्याकंले देखाएको छ ।

विभिन्न जिल्लाहरुमा बोर्ड तथा तत्कालिन जिल्ला कृषि विकास कार्याहरु र गैह्रसरकारी संस्थाहरुबाट सञ्चालन भएका कफी विस्तार कार्यक्रमको प्रभावका कारण खेती बढेकाले उत्पादनमा पनि वृद्धि भएको बोर्डको ठहर छ ।

हाल मुलुकभर २ हजार ६ सय ५० हेक्टर क्षेत्रफलमा कफी खेती हुने गरेको बोर्डले जानकारी दिएको छ । पछिल्लो ४ वर्षदेखि कफी विस्तार कार्यक्रमले व्यापकता पाएको अनुमान बोर्डको छ ।

आयात बढ्दै जाँदा निर्यात घट्यो

भन्सार विभागको पछिल्लो तथ्याकं अनुसार कफीको आयात करिब ६४ प्रतिशतले बढेको छ भने निर्यात करिब ११ प्रतिशतले घटेको छ ।

तथ्याकं अनुसार आर्थिक वर्ष २०७४/७५ मा ६ करोड ५८ लाख ९१ हजार मूल्य बराबरको १ सय ६३ दशमलब ३८ मेटि्रक टन कफी आयात भएको छ । तर, गत आर्थिक वर्षमा ९ करोड ३७ लाख २५ हजार मूल्य बराबरको ८४ दशमलब २२ मेटि्रक टन मात्रै स्वदेशी कफी निर्यात भएको छ ।

उत्पादनसँगै आन्तरिक बजारमै खपत पनि बढेकाले स्वदेशी कफीको निर्यात घटेको बोर्डको अनुमान छ ।

मुलुकभर क्याफे हाउसहरुको विस्तारले स्वदेशी कफीको माग र लोकपि्रयता बढेको ठहर बोर्डको छ । तर, उत्पादन अझै बढाएर निर्यात पनि बढाउन सक्नुपर्ने उसले भनेको छ ।

युरोपियन युनियनको सहयोगमा बोर्डले गरेको ‘जिओग्राफिकल इण्डिकेटर सिस्टम’ आधारित अध्ययन अनुसार मुलुकभर करिब ११ लाख ९८ हजार ५ सय ३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने देखिएको छ ।

त्यसमध्ये ६१ हजार २ सय २८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि उपयोगी रहेको बताइएको छ । तर, हालसम्म जम्मा ४ प्रतिशत क्षेत्रफलमा मात्र कफी खेती भइरहेको बोर्ड बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment