News Summary
Generated by OK AI. Editorially reviewed.- संरक्षित क्षेत्रभन्दा बाहिर बाघको वासस्थान बढ्दा नयाँ जोखिमको संकेत गरेको छ ।
- संरक्षित क्षेत्रभन्दा बाहिर विस्तार हुँदै जाने बाघको वासस्थानले मानव-बाघ द्वन्द्व, आहारा प्रजातिको अभाव र नीतिगत चुनौतीहरू पनि थपिने सम्भावना देखिएको छ ।
- सरकारले यस वर्ष बाघ गणना गर्ने तयारी गरेको छ।
सन् २०१० मा प्रसिद्ध नेचर क्लाइमेट चेन्ज जर्नलमा बंगलादेशको सुन्दरवनमा पाइने बाघ सन्दर्भमा एउटा लेख छापियो । जलवायु परिवर्तनले सुन्दरवनका बाघ लोप हुन सक्ने उल्लेख थियो । सन् २००० लाई आधार वर्ष मानेर २८ सेन्टिमिटरले समुद्री सतह बढ्दै जाने हो भने बाघको बासस्थान ९६ प्रतिशतले घट्ने उल्लेख थियो । विश्व वन्यजन्तु संरक्षण कोषका उपप्रमुख एवं अनुसन्धाकर्ता कोल्भी लोउक्सको उक्त लेखमा प्रजनन् योग्य बाघको संख्या २० भन्दा कम हुने भनियो ।
जलवायु परिवर्तनको उच्च जोखिममा पर्ने मुलुकहरूको मध्येको एक बंगलादेशलाई अझै पनि बाघ जोगाउन चुनौती छ । सन् २०१५ मा १०६ वटा बाघ रहेको सुन्दरवनमा २०२४ सम्म आइपुग्दा १९ वटा थपिएर १२५ वटा पुगेका छन् । नेपाल सन्दर्भ हेर्ने हो भने केही फरक छ । बाघको संरक्षणमा नेपालले उल्लेख्य उपलब्धि हासिल गर्दै सन् २०१० को तुलनामा नेपालमा बाघको संख्या करिब तेब्बर नै भएको छ । १२१ बाट ३ सय ५५ वटा पुगेको छ ।
यो वर्ष सरकारले बाघ गणनाको तयारी गरेको छ । बाघको भविष्यलाई लिएर दुवै देशका संरक्षणकर्मीहरू चिन्तित छन् । सुन्दरवनमा पनि नेपालको जसरी नै बासस्थान सुधार, आहरा प्रजातिको संख्या बढाउने, संरक्षण क्षेत्र विस्तार गर्ने, चोरीशिकार नियन्त्रण,समुदायस्तरका संरक्षण कार्यक्रमहरू गरिएको छ तर नेपालको जसरी उपलब्धी हासिल गर्न सकिरहेको छैन ।
जैविक विविधता संरक्षणमा जलवायु परिवर्तन बाधक बनेर आएको छ । जब जलवायु परिवर्तनले जल चक्र, खाद्य चक्र र पारस्थितिकीय प्रणालीलाई प्रभावित पार्न थाल्यो तब जैविक विविधताको संरक्षणमा पनि चुनौती थपिँदै गएको छ । यसले प्रजातिहरूबीच प्रतिस्पर्धा, अनुकूलन वा लोप हुन सक्ने अवस्था निम्त्याउँछ ।
बाघ जस्ता केही जीवहरू उपयुक्त बासस्थानको खोजीतिर लाग्छन् र नयाँ बासस्थान रोज्छन् । बासस्थान पाए पनि आहार प्राप्त नगरे लोप हुने खतरा बढ्छ ।

मानवीय कारणबाट सिर्जित हरित गृह उत्सर्जन दर बढ्दा ओसतभन्दा बढीले तापक्रम बढिरहेको परिप्रेक्ष्यमा बाघजस्ता जीवहरूको अवस्था के हुन्छ ? के नेपालका संरक्षित क्षेत्रहरूमा धेरै संख्यामा रहेका बाघ कता जान्छन् ? उनीहरूको भविष्य के होला ? मानव बाघ द्वन्द्वका घटना पछिल्ला ३/४ वर्षयता घटिरहेको सन्दर्भमा बढि नै हुन्छ कि घट्छ ? यसका विविध पाटाहरूलाई जोडेर नेपालका संरक्षणकर्मीहरूले अध्ययन अनुसन्धानहरू गरिरहेको अवस्था छ ।
यही सन्दर्भलाई लिँदै नेपालका बाघको भविष्य सन्दर्भमा हालै एक अनुसन्धान प्रकासित भएको छ । जैविक विविधताका विषयलाई स्थान दिएर प्रकासित हुने ‘इकोलोजी एन्ड इभोलुसन’ जर्नल (क्यू१)मा नेपालमा जलवायु परिवर्तनले बाघको बासस्थानलाई कस्तो प्रभाव पार्छ भन्ने सन्दर्भमा प्रकासित भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्की मुख्य लेखक र उनका पीएचडी सुपरिवेक्षक जोन कोप्रोस्कीसहित एक दर्जन अनुसन्धानकर्ताको सहलेखनमा प्रकाशित अध्ययनले जलवायु परिवर्तनका कारण नेपालमा सन् २०५० सम्म बाघको बासस्थान ८० प्रतिशतले बढ्ने देखाएको छ ।
जलवायु परिवर्तनका कारण बाघको बासस्थान खुम्चने , विनाश हुने सुनिरहेको सन्दर्भमा एकाएक उक्त लेख प्रकासित भएपछि बहस तथा छलफलहरू हुनुपर्ने थियो । तर पर्याप्त मात्रमा भएको देखिँदैन । सामाजिक सञ्जालहरूमा उक्त लेख प्रकाशित भएको हालिएपनि बधाई बाहेक त्यसमा सार्वजनिक टिप्पणी एवं छलफल भएको देखिँदैन । यद्यपि उक्त अध्ययनको निष्कर्षको छलफल अहिले बाघ संरक्षण सवालमा नेपालमा गरिनुपर्ने प्रमुख मुद्दा बनेको यो लेखकको भनाइ छ ।
अहिले नेपालमा बाघको बासस्थान ५ हजार ६२५ वर्गकिलमिटर (कूल भूभागको ३.८ प्रतिशत) रहेको छ । नयाँ बासस्थानहरू प्रायः संरक्षित क्षेत्रभन्दा बाहिर केन्द्रीत हुनेछन् । सन् २०१८ र २०२२का बाघ गणनाका क्रममा संकलित जीपीएस तथ्यांकलाई टेकेर गरिएको मोडलिङ विधिको यो अध्ययनले नेपालमा सन् २०५० सम्म बाघको बासस्थान अहिलेको भन्दा ८० प्रतिशतले बढ्ने निष्कर्ष निकालेको हो ।
म्याकसेन्ट सफ्टवेयर प्रयोग गरेर गरिएको यो अध्ययनले बाघ पाइने संरक्षित क्षेत्रभन्दा अन्यत्र र उत्तर पूर्वी क्षेत्रमा बासस्थान बढ्ने उल्लेख छ । अध्ययन अनुसार सन् २०५०मा बाघको बासस्थान संरक्षित क्षेत्रमा ३ हजार ६२३ वर्ग किलोमिटरबाट ४ हजार १३३ वर्गकिलोमिटर हुने उल्लेख छ । यस्तै संरक्षित क्षेत्रभन्दा बाहिर २ हजार २ वर्गकिलोमिटरबाटसन् २०७० मा६ हजार १ सय १२ वर्गकिलोमिटरमा पुग्ने उल्लेख छ ।

असामान्य मौसमी घटना, औद्योगिकरण, सहरीकरण र भूमिप्रयोगमा भएकोतीव्र परिवर्तनले बाघको विचरण, फैलावट र बासस्थानमा प्रत्यक्ष असर पार्ने देखाएको छ । जलवायु परिवर्तनका कारण वर्षा र तापक्रमको ढाँचा परिवर्तन हुँदा बाघ नयाँ ठाउमा सर्ने सम्भावना बढ्दो छ । जसका कारण बाघको बासस्थान मानवीय बस्ती नजिक सर्दा मानव-बाघ द्वन्द्व बढ्ने चेतावनी यस अध्ययनमा उल्लेख गरिएको छ ।
१९औं र २०औं शताब्दीमा भएका वन फडाँनी, शिकारतथा बासस्थान विनाशका कारणले बाघको बासस्थान खुम्चिएका थिए । संरक्षणका प्रयास र पारिस्थितकीय प्रणालीको पुनःस्थापनाका कामहरू भइरहेपनि जलवायु परिवर्तनले यो चुनौतीलाई अझ जटिल बनाइदिएको छ ।
यस्तो अवस्थामा जलवायु परिवर्तन अर्को चुनौतीको रूपमा खडा हुँदा वन्यजन्तुहरूलाई प्रभाव पारेको देखिन्छ । विगतका केही अध्ययनहरूले पनि बाघको स्थायी बासस्थान घट्ने अनुमान गरेका थिए । विगत देखि नै नेपालमा जलवायु परिवर्तन बाघ संरक्षणको मुख्य चुनौतीको मुख्य कारण भनिएको थियो । जलवायु परिवर्तनको प्रभाव अन्यत्रभन्दा नेपाल जस्ता हिमाली मुलुकहरूमा बढी देखिने चेतावनी विभिन्न अध्ययनहरुमा भनिएको छ । बाघको प्राकृतिक बासस्थान घट्दै जाने र नयाँ बासस्थान प्राकृतिक बासस्थानबाट अन्यत्र मानिसको नजिकैको स्थानमा सर्दा जोखिम धेरै नै बढ्ने देखिएको हो ।
अध्ययनमा सामाजिक आर्थिक तथ प्रविधि विकास र जमिनको उपयोगमा हुने फेरबदललाई आधार मान्दै मेक्सेन्ट सफ्टवेयरको प्रयोग गरिएको थियो । एक दर्जन अनुसन्धानकर्ताको यो अनुसन्धानमा दुईवटा परिदृश्य एसएसपी २४५ (SSP245) र एसएसपी ५८५ (SSP 585) प्रयोग गरिएको छ । दुवै मोडललाई रन गराएर हेर्दा सन् २०५० सम्म दुवै अवस्थामा ८० प्रतिशतले बासस्थान बढ्ने देखिन्छ ।
दुवै मोडल चलाउँदा सन् २०५० सम्म बासस्थानमा उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ । तर बासस्थानको विस्तार मुख्य गरी संरक्षित क्षेत्रभन्दा बाहिर हुने भएकाले संरक्षण रणनीति पुर्नविचार गर्नुपर्न देखिन्छ । अहिले नेपालमा पाइने ६४ प्रतिशत बाघको बासस्थान संरक्षित क्षेत्रमा र बाँकी ३६ प्रतिशत बाहिर छन् ।
अध्ययनले भविष्यमा संरक्षित क्षेत्रबाहिरको हिस्सा ५८ देखि ६४ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ । यो अनुसन्धानमा तराई भूपरिधि क्षेत्रका १९ वटा जिल्लाका विभिन्न ३ हजार ९९४ वटा स्थानमा रेकर्ड भएका बाघको उपस्थितीलाई आधार मानिएको थियो । जसमा अध्ययनका लागि १९ वटा बायोक्लाइमेटिक भेरिएबल्सहरू प्रयोग गरिएको थियो ।

दुवै परिदृश्यमा एउटाले शताब्दीको अन्त्यसँगै नै बासस्थान बढिरहेको देखायो भने अर्कोले मोडलले सन् २०६० सम्म बासस्थान बढ्ने र विस्तारै घट्ने अनुमान गरेको छ । यद्यपि सबै अवस्थाहरूमा नेपालमा बाघको बासस्थान संरक्षित क्षेत्रभन्दा बाहिर बढि हुने निष्कर्ष छ ।
अहिले बाघको उपस्थिती भनेको बासस्थान र त्यसको गुणस्तर, आहार प्रजातिको उपलब्धता र घनत्व, वन विनाश,चोरी शिकारीको अवस्था र सहरीकरणा जस्ता विषयले निर्धारण गर्छन् । बाघलाई ठूलो घना जंगल चाहिन्छ जहाँ उसका लागि पर्याप्त मात्रामा आहारा प्रजाति र मानवीय प्रभाव शून्य हुनुपर्छ । बासस्थान खुम्चँदा वा विनाश हुँदा बाघ नया क्षेत्रमा सर्दा मानव बस्ती नजिक पुग्ने र त्यसले द्वन्द्व बढाउँछ ।
अध्ययनमा बाघ विभिन्न असामान्य मौसमी घटनाहरूमा पनि अनुकूलित हुन सक्ने जीव भएको उल्लेख गर्दै वर्तमान रूपमा प्रक्षेपण गरिएको जसरी बाघको बासस्थान नघटी केही भएकै बासस्थानहरूमा पनि बस्न सक्ने अनुमान पनि गरेका छन् । केही हदसम्मबासस्थानको विस्तार क्षेत्र बढ्दा पुरानो ठाउँमा पनि केही बाघहरू विचरण गर्ने हुन्छन् ।
संरक्षित क्षेत्रभन्दा बाहिर रहेका बाघका बासस्थानहरूमा विकास निर्माणलगायत मानवीय चाप बढ्दो छ । जसले बाघलाई असर गर्छ । फाट्टफुट्ट रूपमा चुरे क्षेत्रका जंगलहरूमा देखिएपनि धेरै संख्यामा भने भेटिएका छैनन् । त्यो भनेको उनीहरू संरक्षित क्षेत्र बाहिर नजिकैको चुरेका जंगलहरूमा प्रजनन् गर्दै आफ्नो विचरण क्षेत्र बनाइसकेका छैनन् । आक्लझुक्कलमा आहरा खोज्ने क्रममा पुगेको अनुमान छ । कहिलेपहाडी क्षेत्रम पनि देखिएका छन् । ती देखिएका स्थानहरू आगामी दिनमा बाघको बासस्थान हुने अनुमान छ ।

पूर्वी र पश्चिम नेपालमा पाइने बाघहरूबीच ओहोदोहोर तथा कनेक्सनका लागि चुरे क्षेत्र उपयुक्त मानिएपनि चुरेमा बाघलाई चाहिने पर्याप्त आहारा प्रजाति भने कम छ । बाघ सकेसम्म मानिसको बस्ती भएको आसपास बस्दैन । घना जंगल ने रुचाउँछ ।
भोलिका दिनमा जलवायु जन्य प्रभावले बासस्थान खुम्चिदा मानिसको उपस्थिति भएको स्थानमा पनि आउँदा द्वन्द्वका घटनाहरू बढ्न सक्नेतर्फ यो अध्ययनले पनि उल्लेख गरेको छ ।
यो अध्ययनमा पारस्थितीकीय र आहारा प्रजातिको घनत्वलाई मोडलसँग प्रत्यक्ष रूपमा जोड्न नसके पनि ती दुवै बाघ बाघ संरक्षणका निर्णायक पक्ष भएको स्पाष्ट पार्दै त्यता पनि अध्ययन गर्न सुझाएका छन् । बासस्थान विस्तारसँगै मानव वन्यजन्तु द्वन्द्व न्यूनिकरण, करिडोर कनेक्टिभिटी र पारस्थितिक प्रणालीको पुर्नस्थापनामा पनि ध्यान दिन जरुरी देखिन्छ ।
यो अध्ययनको निष्कर्षलाई आधार मान्ने हो भने नेपालमा बाघ संरक्षणका नीतिहरू बनाउँदा संरक्षित क्षेत्रबाहिरका भूभाग र चुरे क्षेत्रहरूमा हुने विकास निर्माण कार्यले पार्ने प्रभाव पनि विचार गर्नुपर्ने देखिन्छ । बासस्थान बढ्नु सकरात्मक रूपमा लिएपनि संरक्षणका रणनीतिहरूलाई हामीले पुनःरुपमा पनि परिभाषित गर्नुपर्ने आवश्यकता देखिएको छ ।
बाघलाई सहज हुने किसिमका जैविक मार्गहरूको व्यवस्थापन, सहअस्तित्वका उपयाहरूलाई अवलम्बन गरिएन भने बाघको संख्या बढ्ने नभएर मानव बाघ द्वन्द्व बढ्ने सम्भावना बढी हुन्छ भने नयाँ क्षेत्रमा बाघ विचरण गर्दा त्यसले थप चुनौती पैदा गर्ने सम्भावना देखिन्छ ।
र अन्त्यमा नेपालमा जलवायु परिवर्तनका प्रभावहरूलाई बुझ्दै विज्ञानमा आधरित दीर्घकालीन संरक्षण कार्ययोजनाहरू निर्माणसँगै त्यसलाई कार्यान्वयन गर्नु आवश्यकता देखिएको छ ।
प्रतिक्रिया 4