Comments Add Comment

बाग्लुङको बडिगाडमा न्वागी मेला

१ मंसिर, बाग्लुङ । बाग्लुङमा प्रथम बडिगाड महोत्सव तथा पौंदी न्वागी मेला आजबाट सुरु हुँदै छ । महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले उदघाटन गर्नेछन् ।

महोत्सवका लागि बडिगाड गाउँपालिकालाई सिगारेर चिटिक्क पारिएको छ । बडिगाड गाउँपालिकाभित्र पर्ने मध्यपहाडि लोकमार्गका बजारहरु दुलही झैं सिँगारिएको छ । खर्वाङ बजारदेखि भिमगिठेसम्म सबै बजारमा ध्वजापताका सहित व्यानरहरु टाँगिएको छ । प्रत्येक बजारक्षेत्र तथा गाउँगाउँमा सरसफाइ गरिएको छ ।

महोत्सवको पहिलो दिन आज कार्यक्रमस्थलमा पुग्ने सबैलाई निःशुल्क न्वागी खुवाउने व्यवस्था गरिएको वडा अध्यक्ष अर्जुन प्रसाद खरेलले बताए । पौंदेलीको विशिष्ट पहिचान बनेको न्वागीको साइत आज विहान ५ बजेर ४२ मिनेट जाँदा रहेको र नैरित्य दिशातर्फ फर्किएर भगवान् विष्णुलाई अर्पण गरी खानुपर्ने स्थानीय नैनप्रसाद आचार्यले बताए ।

महोत्सवको पहिलो दिन न्वागीको साइत परेकोले आज सवै आगन्तुक पाहुना सहित सवै दर्शकलाई तथा अतिथिहरुको लागि मेला अवधिभर न्वागी खुवाउने व्यवस्था मिलाइएको छ ।

न्वागी स्थानीय जातको जडन धानको चामल, दही र केरामा भिजाएर स्थानीय उत्पादन सिलाम, तिल मिसाई बास्तु पूजा गरी शुभ साइतमा शुभ दिशा फर्किएर खाने एक परिकार हो । पौंदेलीहरुले मंसिरमा पर्ने न्वागी नखाएसम्म नयाँ धान प्रयोग नगर्ने चलन रहेको महोत्सवका सचिव समेत रहेका स्थानीय विष्णुप्रसाद आचार्यले बताए ।

पौंदी क्षेत्रभित्र बागलुङको ग्वालीचौर, जलजला सहित गुल्मीको नेटा, पौदिअमराई लगाएत तत्कालिन इश्मा राज्य अन्तरगत पर्ने क्षेत्रहरु पर्ने गर्दछन् ।

‘कला, संस्कृति, कृषि र पर्यटन समृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदी न्वागी मेला नमूना बडिगाडको पूर्वाधार’ भन्ने नारासहित आजबाट सुरु हुने महोत्सव मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा मनोरञ्जनात्मक खेलका साथै स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुको पनि प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

-थम्मन थापाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment