Comments Add Comment

घरमै नजरबन्द गरिएका वरबर राव हिरासतमा

२ मंसिर, काठमाडौं । माओवादीलाई सघाएको आरोपमा भारतका सामाजिक कार्यकर्ता वरवर रावलाई प्रहरीले हिरासतमा लिएको छ । परिवार सदस्यका अनुसार पुणे प्रहरीले घरबाटै रावलाई पक्राउ गरेको हो ।

उनलाई यसै वर्ष २९ अगष्टदेखि घरमै प्रहरीले नजरबन्दमा राखेको थियो । अब रावलाई पुणेस्थित अदालतमा पेश गरिने छ ।

यसअघि गत शुक्रबार वरवर रावका वकिलले हैदरावाद हाई कोर्टमा पुणे प्रहरीले पेश गरेको ट्रान्जिट वारेन्टलाई चुनौती दिएका थिए । वकिलका अनुसार यो वारेन्ट मराठीमा थियो र त्यसैले यसलाई खारेज गर्नुपर्दछ । अदालतले वरवर रावको वकिलको दलिललाई इन्कार गरेपछि प्रहरीले शनिबार साँझ घरबाटै नियन्त्रणमा लिएको हो ।

रावका भतिजा वेणुगोपालका अनुसार यो गैरकानुनी कदम हो । उनले भने, ‘शुक्रबार अदालतले उक्त ट्रान्जिट वारेन्टमा सुनुवाई गरेको थिएन, किनभने त्यसको अवधि समाप्त भइसकेको थियो । जब वारेन्टको अवधि नै सकिइसक्यो भने फेरि त्यसकै आधारमा हिरासतमा लिन कसरी सकिन्छ ?’

‘शनिबार साँझ पुणेका प्रहरी आएका थिए । न त उनीहरुसँग पक्राउ पूर्जी थियो, न त हाई कोर्टको आदेश । प्रहरीले गरेको यो गैरकानुनी काम हो ।’

भीमा–कोरेगाउँ हिंसा

यसै वर्षको गत जनवरी महिनामा महाराष्ट्रको भीमा–कोरेगाउँमा भएको हिंसामा संलग्न भएको आरोपमा प्रहरी पाँच जना सामाजिक कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो जसमध्ये एक जना वरवर राव पनि हुन् ।

यो पनि पढ्नुहोस असहिष्णु बन्दै मोदी, सामाजिक कार्यकर्ता पक्राउ परेपछि भारतभर विरोध

उनीसँगै सुधा भारद्वाज, गौतम नवलखा, वरनान गोन्जाल्विस र अरुण फरेरालाई फरक फरक ठाउँबाट पक्राउ गरिएको थियो । पक्राउविरुद्ध सर्वोच्च अदालतले चुनौति दिइएको थियो त्यसपछि अदालतले नजरबन्दमा राख्ने फैसला सुनाएको थियो ।

जातीय अत्याचारविरुद्ध दलित समुदायको ऐतिहासिक संघर्षपछि भीमा–कोरेगाउँमा र्‍याली आयोजना गरिएको थियो । उक्त र्‍यालीको दक्षिणपन्थी धडा समुदायले विरोध गरिरहेको थियो । यसबीचमा दुवै समुदायबीच हिंसात्मक झडप भयो । झडमा एक व्यक्तिको मृत्यु भयो ।

प्रहरीले र्‍याली आयोजकमाथि अनुसन्धान शुरु गर्‍यो र निष्कर्ष निकाल्यो कि जनता भड्काउने भाषण गरेका कारण हिंसा भयो । प्रहरीको दावी के छ भने त्यसलाई पुष्टि गर्ने संदिग्ध पत्र, इमेल र अन्य दस्तावेज हात परेको छ जसले यी सामाजिक कार्यकर्ताहरुको माओवादीसँग सम्बन्ध रहेको पुष्टि गर्दछ । यद्यपि दोस्रो पक्षले उक्त आरोपका ठाडै अस्वीकार गर्दै आएको छ ।

को हुन् वरवर राव ?

७८ वर्षीय वरवर पेन्डयाला राव वामपन्थीतर्फ झुकाव राख्छन् । उनी तेलुगु भाषाका कवि र लेखक हुन् । उनी ‘रिभोल्युसनरी राईटर्स एसोसिएशन’को संस्थापक पनि हुन् ।

उनी वारंगल जिल्लाको चिन्ना पेन्डयाला गाउँका हुन् । उनलाई संकटकालको बेला पनि बिभिन्न आरोप लगाउँदै प्रहरीले पक्राउ गरेको थियो । तर पछि आरोप पुष्टि नभएपछि रिहा गरिएको थियो ।

उनीविरुद्ध रामनगर र सिकन्दरावाद षडयन्त्र जस्ता २० भन्दा बढी मुद्दामा अनुसन्धान गरिएको थियो ।

उनले राज्यमा माओवादी हिंसा अन्त्य गर्नका लागि चन्द्रबाबु नायडु नेतृत्वको सरकार र माओवादी नेता गुम्माडी विट्टल रावसँग मिलेर मध्यस्थकर्ताको भूमिका पनि खेलेका थिए । वाईएस राजशेखर रेड्डी नेतृत्वको सरकार र माओवादीबीच वार्ता हुँदा पनि उनले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment