+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
विराटनगर किंग्स 2025
0/0
Shares

यात्रा स्मरणः डिप्रेशनमा थबाङ !

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २ गते १०:३३

रोल्पाको थबाङ पुग्न सुनेजस्तो सजिलो रहेन छ । शहीदमार्गले घोराही-थबाङ जोडे पनि मोटर थबाङ नपुग्दो रहेछ । जोर्तिबाङदेखि थबाङसम्म दर्जनौं ठाउँमा बाटो भत्किएका कारण हामीले जीप जोर्तिबाङमै छाड्यौं । अनि, साँझ ६ बजे ६ भाइ थबाङतिर पैदलै कस्सियौं ।

हामीलाई थबाङ जाने न त बाटो थाहा थियो, न त बाटो देखाउने कोही साथी नै थिए । जोर्तिबाङमा स्थानीयले चोरीऔंला तन्काएर देखाएको क्षितिजतिर उकालो चढ्दै गयौं ।

हिँडेको केहीबेरमा हामी हिँड्दै गरेको जङ्गलीपाखोमा रात झर्‍यो । अन्धकार बाक्लियो । निस्पट्ट भयो धर्ती । छामछाम-छुमछुम गर्दै मोबाइलको उज्यालोमा केहीबेर त हिँड्यौं । केहीक्षण पछि बाटो हरायौं । ठूलो अक्करे पहिरोमा फस्यौं । न त पहिरो छिचोलेर शिखरमा पुग्न सक्थ्यौं, न त पहिरोको बीचबाट पहिलेको ठाउँमा र्फकन नै सक्थ्यौं । जसोतसो विश्वदीप पाण्डे र नारायण पाण्डे भीरको टुप्पोमा पुग्न सफल भए । किशोर पन्थी, प्रहृलाद पोखरेल र मनोज ढोडारी पनि भीरको फेदीबाटै वैकल्पिक बाटो खोज्दै छलिए । म फँसे अक्करमा । जहाँँ टेक्यो, त्यही ढुङ्गा पल्टने डर । जुन बुटो समायो, त्यो सिस्नु नै पर्ने डर । कञ्चट वरिपरी मात्र उम्रेको पसिना केहीबेरमै शरीरभरि खोलो बग्न थाल्यो ।

मलाई ०५२ साल फाल्गुण १ गते सिन्धुलीगढी प्रहरी चौकी कब्जा गर्न जाँदा बाटो हराएर भीरमा फसेको र सिस्नुले बेस्सरी पोलेको ऐतिहासिक दिनको याद आयो । सिन्धुली, रोल्पा र रूकुमले ३ ठाउँमा प्रहरी चौकी कब्जा गरेर तत्कालीन राज्यसत्ताको बिरूद्ध जनयुद्धको शुरूवात गरेको दिन थियो ०५२ फाल्गुण १ । यही जनयुद्धको जग बसाउने ऐतिहासिक किल्ला र जनयुद्धको तुफानी केन्द्र थबाङमा एउटा अनौठो कौतुहल बोकेर जाँदै थियौं हामी ।

मेरो मनमा थबाङ र थबाङीप्रति हिजो पनि उच्च सम्मान थियो र आज पनि छँदैछ । तर, आज मेरो मनमा थबाङ र थबाङीप्रति केही प्रश्न, केही जिज्ञासा र कौतूहल पनि छ । जसलाई मेटाउन हामी थबाङतिर अघि बढिरहेका छौं । अक्करे भीरको बीचमा केही मिनेट मेरो दिमाग चक्करायो । शरीरमा कम्पन पैदा भयो । सुख्खा भयो मुख । जनयुद्धकालीन साहस बटुलें र अक्करे भीरको बीचबाट सकुशल सुरक्षित ठाउँमा निस्किएँ ।

राति ८ बजे हामी डाँडोको भञ्ज्याङ्गमा जम्मा भयौं । पारि क्षितिजतिर आकासमा तारा चम्किएझैं बिजुलीका चिमहरू बलिरहेका थिए । हाम्रो आजको गन्तब्य थबाङ त्यही हो भनेर अँध्येरोमा कोही साथी दाबी गर्दै थिए भने कोही चाहिँ होइन, होइन त्यो त बाबुराम भट्टराईलाई पार्टी सदस्य मात्र रहने गरी प्रचण्डले कार्बाही गरेको ऐतिहासिक गाउँ लाभाङ हो भनेर जिकिर गर्दै थिए । म भने बिजुलीको चिम तारा झैं झिलमिलाएको दृश्य देखेर मख्ख थिएँ ।

निछाम्म अँध्यारोमा पनि साथीहरूको मुहारमा मुस्कान फुलेको प्रष्टै अनुभूत गरें मैले । स-सानो युद्ध जितेजस्तै मन फुलेल भयो हाम्रो । शरीरको पसिना ओभाउँदै जाँदा भञ्ज्याङ्गको सिरोटोले सिस्नुले चिले जसरी चिल्न थाल्यो । हामी बिस्तारै ओरालो झर्न थाल्यौं ।

निकै कष्टपूर्ण तर रोमाञ्चक यात्रा पूरा गर्दै राति १० बजे थबाङ पुग्यौं । रातको अन्धकारसँगै थबाङ पनि करिब सुतिसकेको रहेछ । गाउँको पुछारमा एउटा होटल खुल्ला भेट्यौं ।

होटलमा एकजना अधबैंसे पुरूष नसाको सुरमा आफू नेपाली भए पनि नेपाली बोल्न नजान्ने अंग्रेजी मात्र बोल्न जान्ने भाषण नेपाली भाषामै दिइरहेका थिए । जाँडलाई जंगबहादुरको घोडा त्यतिकै भनेको होइन रहेछ । उनको कुरा सुनेपछि हामी सबै पेट मिचेर हाँस्यौं । हाम्रो भोको आन्द्रा बाउँडिएर आयो । हाम्रो भोक र थकान एकछिनलाई चट भयो । हामी वडाध्यक्ष वसन्त घर्तीजीकहाँ जानुपर्ने थियो ।

जंगबहादुरको घोडा चढेर अंग्रेज पुरूष बाटोको बार समाउँदै अघि लागे । हामी उनको कासन मान्दै पछि लाग्यौं । आधाबाटोमा पुगेपछि देब्रे हातको औंलामा च्यापिएको चुरोट अन्तिम सर्को मजाले तान्यो र रिसाउँदै ठुटोलाई झ्वाँकले भुइँमा बजारे । उनले हामीलाई गाउँको सिरानमा पुर्‍याए । निकैबेर घरको आँगनमा बसेर ‘ज्वाइँ ! ज्वाइँ !!’ भनेर कराए पनि घरभित्रबाट ज्वाइँको जवाफ आएन । उनले जंगबहादुरको लबजमा जंगिँदै भने- ‘तपाईंहरू यहीँ बस्दै गर । म एकछिनमा आउँछु ।’ भक्तपुरको गल्लीझैं थबाङको अँध्यारो बस्तीमा ऊ अलप भयो । अँध्यारोमा जति आँखा बिछ्याएर खोजें पनि अत्तोपत्तो लागेन उसको ।

होटलवालासँग वसन्तको अर्को कुनै सम्पर्क नम्बर छ कि भनेर माग्यौं । नयाँ नम्बरमा फोन सम्पर्क भयो । वसन्तजीसँग एकछिन अघि उठेको रिस फोन सम्पर्कपछि शान्त भयो । फोन वार्तापछि फेरि हामी आन्द्रा बटारिने गरी हाँस्यौं । किनकि, त्यस जंगबहादुरको घोडा चढेको अंग्रेजले हामीलाई वसन्तको घर भनेर अरू कसैको मान्छे नै नबस्ने खाली घरमा पुर्‍याएको रहेछ ।वल्लो घर पल्लो घर ब्युँझने गरी निकैबेर हामी पनि चिच्यायौं । तर, वसन्तजी ब्यँझनु भएन । युद्धकालीन थबाङको याद आयो मलाई । सेना हो कि भन्ने शंका गरेर युद्धकालमा जति बोलाए पनि जनता उठ्दैन थिए । अन्ततः हार मानेर अर्कै घरमा बास माग्न जानु पर्थ्यो । सम्झें, यो युद्धकाल त होइन । सम्पर्क नै नगरी सोझै आएको पनि होइन । के पारा हो साथीको ? कन्सिरीको रौं ठाड-ठाडो भएर आयो । भोक र थकाइले उभिएकै ठाउँमा सपना देखिएलाजस्तो भइसकेको थियो । किशोरजीले फोन सम्पर्क गर्ने अन्तिम प्रयास गर्नु भयो । सम्पर्क भएन । ढोका पनि खुलेन । मुर्मुरिँदै हामी अघिकै होटलमा फर्कियौं ।

उहाँले हामी भएको ठाउँमा एकजना साथी पठाउनुभयो । हाम्रा लागि एउटा अर्को होटलमा खाना र बस्नको प्रवन्ध मिलाउनु भएको रहेछ । खाना खाएर सुत्दा झन्नै रातको १ बज्न लागेको थियो ।

राति अबेर सुते पनि बिहान सखारै उठ्यौं । किनकि, बेलुका बास बस्न जसरी पनि दाङको घोराही पुग्नु थियो हामीलाई ।

अचम्म ! बिहान ६ बजे नै हामी बसेको होटलमा अर्को जंगबहादुर नुनको ढिकोसँग गिलास रित्याउँदै थिए । आफू नुनको ढिकोसँग गिलास रित्याउँदै भए पनि हामीलाई भने दूधको बाक्लो चिया खुवाउने प्रस्ताव गर्दै थिए ।

परिचय मागे उनले । परिचय दिएँ मैले । उनले १४ वर्ष अघि थबाङ नजिकै फुन्टिबाङमा भएको तत्कालीन माओवादी पार्टीको केन्द्रीय समिति बैठकको सम्झना गरे । ‘लौ सरलाई मैले राम्रोसँग चिनें । फुन्टिबाङको बैठकमा गाईको मासु खाएपछि बाँसको झ्याङमा आएर छादेको तपाईंले नै त हो । सब सम्झना छ मलाई ।’

हिन्दूहरूको पशुपतिनाथ र मुस्लिमहरूको मक्का मदिनाजस्तै तिर्थस्थल थियो हाम्रा लागि थबाङ । क्रान्तिकारी इतिहासको एउटा जीवित केन्द्र थियो थबाङ । दर्जनौं शहीदहरूका रगतले सिञ्चित बलिदानको गाथा बोकेको शहीदभूमि थियो थबाङ

ओहो ! के भन्नु जंगबहादुरजीलाई ? हो भनौं भने सत्य हुँदै होइन । कसरी हो भनौं ? होइन भनौं भने जंगबहादुरजीसँग तर्क गर्ने अवस्थै छैन । १४ वर्ष अघि केन्द्रीय समितिको बैठकमा फुन्टिबाङ आएको कुरा साँचो हो । सायद मेरो अनुहारसँग मिल्दोजुल्दो कसैले त्यसबेला गाईको मासु खाएर वान्ता गरेको उनले देखेको र अहिले सम्झेको पनि हुन सक्छ । मलाई यस्तै लाग्यो ।

जंगबहादुरजीले फुन्टिबाङ बैठक सम्झाएर १४ व अघि सम्पन्न त्यस बैठकका दृश्यहरू दिमागमा ताजा गराइदियो । ‘प्रचण्ड विरूद्ध निर्णायक लडाइँ लड्ने हो’ भन्दै इलामदेखि सिङ तिखारेर बाटोभरि साँढेझैं डुक्रदैं आउनुभएका बादल प्रचण्डलाई भेट्नेबित्तिकै जुध्दै नजुधी टाङमुनि पुछार हालेर ग्वाँ गर्ने गोरूजस्तो गलेको देखेर त्यसबेला अचम्मै लागेको थियो मलाई । नेताहरू कति चाँडै गल्दा रहेछन् भन्ने उदाहरण थियो त्यो घटना मेरा लागि । उता बाबुराम पार्टी केन्द्रीय समितिबाट राजिनामा दिएर, मञ्च बहिष्कार गरी एक्लै प्रचण्डबिरूद्ध विद्रोह गर्दै हुनुहुन्थ्यो । सुराकीको आरोपमा देवेन्द्र पौडेललाई कार्बाही गरिएको थियो । देवेन्द्रजी भक्कानिएर रूँदै बैठक हलबाट बाहिरिनुभएको थियो ।

‘अन्तरबिरोध बदलियो । अब घरेलु सामन्तवाद भन्दा भारतीय विस्तारवाद प्रमुख दुश्मन बनेर आयो । तसर्थ, अब भारतीय विस्तारवादबिरूद्ध सुरूङ युद्ध लड्नु पर्छ ।’ प्रचण्डले प्रस्ताव राख्नुभयो । प्रस्ताव पारित भयो भनियो । मेरो लागि केन्द्रीय समिति बैठकको अनुभव यो पहिलो थियो । बैठकको दृश्य देखेर अनौठो लाग्यो मलाई । बैठकमा सहभागीहरूको चित्त बुझ्नु र नबुझ्नुको कुनै अर्थ नहुने रहेछ । जनवाद त केवल भट्याउने नारा रहेछ- गायत्री मन्त्रजस्तै । पार्टी केन्द्रीय समितिको बैठक हो कि सेनाको रोलकल ? बुझ्न गाह्रो पर्‍यो मलाई । पार्टी आलोचनात्मक चेत गुमाएको आदेशपालक सिपाहीहरूको पल्टन जस्तो लाग्यो ।

भारतबिरूद्ध सुरूङ युद्ध गर्ने प्रचण्डको आदेश बोकेर यही थबाङ हुँदै फर्किएको थिएँ म चौध वर्ष अगाडि । त्यसबेला क्रान्तिकारीहरूको लालकिल्ला थियो थबाङ । हामी सबैको प्रेरणाश्रोत र ऊर्जास्रोत थियो थबाङ । हिन्दूहरूको पशुपतिनाथ र मुस्लिमहरूको मक्का मदिनाजस्तै तिर्थस्थल थियो हाम्रा लागि थबाङ । क्रान्तिकारी इतिहासको एउटा जीवित केन्द्र थियो थबाङ । दर्जनौं शहीदहरूका रगतले सिञ्चित बलिदानको गाथा बोकेको शहीदभूमि थियो थबाङ । जनयुद्धको मुख्यालय थियो थबाङ । तत्कालीन समानान्तर सत्ता, जनसत्ताको राजधानी थियो थबाङ ।

साँच्चै, यस्ता दर्जनौं विशेषणहरू जोड्न सकिन्छ विगतको थबाङसँग ।

तर, अहिले कस्तो छ त वर्तमानको थबाङ ?

वास्तवमा हाम्रो थबाङ यात्रा यही प्रश्नको उत्तर खोजी गर्नका लागि थियो । हामीले नांगो आँखाले जे देख्यौं र जे भोग्यौं त्यसको अलावा सर्वसाधारण जनतादेखि गाउँपालिका प्रमुखलगायतका निर्वाचित जनप्रतिनिधिहरू र बिभिन्न पार्टीका प्रतिनिधिहरूसँग समेत भेटघाट गर्‍यौं । शिक्षक र सरकारी कर्मचारीसँग पनि भेट्यौं ।

थबाङमा हामीले गुणस्तरीय शैक्षिक संस्था र स्वास्थ्य केन्द्र देखेनौं । ब्यवस्थित खानेपानी देखेनौं । मोटरबाटोको कुरै नगरौं । नदी, खोलाहरूमा पक्की पुल कहिँकतै नजरमा आएन । रोजगारीको खोजीमा बिदेशिने युवाहरूको कारण १००० भन्दा बढी घरधुरी भएको थबाङमा बालबालिका र बृद्धबृद्धाकै संख्या अधीक देखियो । उत्पादनको कुनै नमूना देखिएन ।

केही घरमा होमस्टे र केही सामान्य होटलहरूभन्दा रोजगारीको अरू कुनै प्रयत्न भएको पाइएन । भरपर्दो टेलिफोन सेवा नभएपछि इमेल इन्टरनेटको कुरै भएन । बरू अचम्म त अहिले पनि थबाङमा कटुवालको प्रचलन जीवितै देखियो । एकजना दलित गर्वसाथ आफ्नो कटुवालको जिम्मेवारी पूरा गर्दै गरेको अवस्थामा भेटिए ।

प्रचण्ड-बाबुराम खासगरी प्रचण्डले जनयुद्धको स्वामित्व लिन नसक्दा थबाङ र थबाङीलाई मात्र होइन, जनयुद्ध लडेका नेपाल र नेपालीलाई नै धोखा भएको छ

सांस्कृतिक रूपमा निकै स्खलित भए जस्तो लाग्यो थबाङ । राति १० बजे थबाङ प्रबेश गरेदेखि भोलिपल्ट बिहान १२ बजे थबाङ नछाड्दासम्म हामीले जंगबहादुरको घोडा चढेकाहरूसँग छुटकारा पाएनौं । राजनीतिक रूपमा आफ्नो पार्टी उत्तम र अरूको खत्तम भन्ने निषेधकारी असहिष्णु सोच अझै जब्बर भएको पाइयो । १४ बर्षपछि पनि थबाङको आर्थिक जीवन जस्ताको तस्तै नै पाएँ । समृद्धिको कुनै छेकछन्द देखिएन ।

थबाङको केही घण्टाको बसाइपछि मेरो मन नराम्रो गरी अमिलियो । मुटु भारी भयो । नेपाली इतिहास बदल्न सक्ने थबाङीहरूले आखिर आफूलाई किन बदल्न सकेनन् ? उनीहरूको जीवनमा किन वसन्त आएन ? किन जून खुलेन ? अधिकांशको अनुहारमा किन ‘डिप्रेशन’ देखिन्छ ? साँच्चै मनमा आँधी चल्यो ।

आफ्नै पार्टीका कट्टर कार्यकर्ताबाहेक अधिकांश सर्वसाधारणले प्रचण्डले कम्युनिस्ट आन्दोलनप्रति गÞद्दारी गरेको र थबाङीहरूलाई धोखा दिएको आरोप लगाए । बाबुराम बिद्वान हुन्, इमान्दार छन् तर मार्क्सवाद छाडेर बाटो बिराएको गुनासो गरे । विप्लवप्रति शंकासहितको विश्वास ब्यक्त गरे ।

थबाङबाट फर्किँदै गर्दा म पनि निश्कर्षमा पुगें- वास्तवमा थबाङ अलपत्र परेकै हो । थबाङले धोखा पाएकै हो । थबाङीमाथि घात भएकै हो । यसको मूल कारण जनयुद्धको स्वामित्व नेतृत्वले लिन नसक्नु हो । प्रचण्ड-बाबुराम खासगरी प्रचण्डले जनयुद्धको स्वामित्व लिन नसक्दा थबाङ र थबाङीलाई मात्र होइन, जनयुद्ध लडेका नेपाल र नेपालीलाई नै धोखा भएको छ ।

थबाङ र थबाङीहरुको सम्मान र समृद्धिका लागि प्रचण्ड-बाबुरामले बिशेष गरी प्रचण्ड नेतृत्वको नेकपाको सरकारले बिकास र समृद्धिको बिशेष योजना बनाई कार्यान्वयन गर्न जरुरी छ । आधारभूत भौतिक पूर्वाधारसहित उत्पादन र रोजगारीको न्यूनतम योजना बनाई थबाङ र थबाङीलाई सहयोग गर्नु सरकारमा रहेका रोल्पाली पूर्वमाओवादी नेताहरु र प्रचण्डको कर्तब्य हो । राम्रो भौतिक पूर्वाधार र जनयुद्ध सङ्ग्रहालयको रुपमा थबाङलाई बिकास गर्ने हो भने वार्षिक लाखौं स्वदेशी तथा बिदेशी पर्यटकहरु थबाङ भित्र्याउन सकिन्छ । हिजोको शहीदभूमि थबाङलाई आज युद्ध पर्यटनस्थल बनाउन सकिन्छ । थबाङीहरुको समृद्धिको आधार बन्नसक्छ युद्ध पर्यटन ।

इतिहासको जगमा टेकेर मात्रै वर्तमानको नेतृत्व गर्न सकिन्छ । इतिहासको अपराधिकरण गरेर अनि इतिहासप्रति पश्चाताप गरेर कोही अगाडि बढ्न सक्दैन । म इतिहासप्रति गर्व गर्छु । हिजो माओवादी भएकोमा आज पनि मेरो छाती गर्वले चौडा हुन्छ । कसैले जनयुद्धको अपराधीकरण गर्छ वा कसैले जनयुद्ध गरेकोमा पश्चाताप गर्छ भने म डटेर प्रतिवाद गर्छु । हो, हिजो जनयुद्धको क्रममा कतिपय कमिकमजोरीहरु भएका छन्, त्यसप्रति जनतासँग क्षमा माग्नै पर्छ । म गर्वसाथ भन्छु- आज म माओवादी होइन । यसो भनिरहँदा पनि मेरो छाती गर्वले चौडा नै भएको छ । किनकि, देश र जनताको आवश्यकता अनुसार ब्यक्तिले आफूलाई बदल्न सक्नुपर्छ । यसको अर्थ अस्थिर बन्नुपर्छ भन्ने होइन । तर, गतिशील भने बन्नैपर्छ । अस्थिरताले आन्दोलनको उडान भर्न सकिन्छ तर अवतरण गराउन सकिँदैन ।

नेपाल नयाँ चरणमा प्रवेश गरेको छ । त्यो नयाँ चरण बिकास र समृद्धिको चरण हो । यसमा कसैले शंका नगरे हुन्छ । नयाँ चरणको नेतृत्व पुरानो विचार, सिद्धान्त, सङ्गठन, सोच र शैलीले सम्भव छैन । त्यसैले गर्वसाथ भन्छु- आजको आवश्यकता भनेको वैकल्पिक राजनीतिक शक्तिको हो । आजको सन्दर्भमा त्यो शक्ति नयाँ शक्ति नै हो । नयाँ शक्तिले पनि जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलनलगायत सबै परिबर्तनकारी अग्रगामी आन्दोलनहरूको स्वामित्व नलिई र त्यसप्रति गौरव नगरी समृद्धिको नेतृत्व गर्न सम्भव छैन ।

चौध बर्षपछि चौध घण्टाको थबाङ बसाई सकेर हामी रातको १ बजे दाङको घोराही आइपुग्यौं । न्यानो आतिथ्य र आत्मियताका लागि सम्पूर्ण थबाङी प्रेमिल मनहरूलाई उच्च सम्मान र न्यानो सलाम !

(लेखक, नयाँ शक्ति पार्टीका नेता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?