Comments Add Comment

डा.केसीको विश्लेषण : ओलीभन्दा प्रचण्ड गतिशील

२ मंसिर, काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् ।

‘कामको हिसाबले यो सरकार पूर्ण रुपमा असफल भइसक्यो । निर्वाचनका ताका जनतामा गरेका प्रतिबद्धता र वाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसक्यो’ उनले भने, हुन त मलाई त्यतिबेला पनि यिनीहरुले बोलेका कुरा कुनैपनि हालतमा पूरा गर्छन् भनेर विश्वास थिएन । अहिले त्यही भयो ।’

सरकारले बोलेका कुराहरु केही पनि पूरा नगरेको उनको आरोप छ । उनले भने, ‘खाल्डाखुल्डीहरु पुर्छु भन्नुभयो तर, त्यो काम पूरा भएन । मन्त्रीहरुले ठेकेदारहरुलाई कारबाही गर्छौं भनेर ठूलो स्वरमा बोल्नुभयो । त्यसमा पनि केही भएन । सिण्डिकेट हटाउँछौं भन्नुभयो । तर, एकाधिकार अहिले पनि कायमै छ ।’

‘सुन काण्डमा पनि त्यही हाल भयो । गृहमन्त्री रामबहादुर थापा बादलले त भ्रष्टाचारीहरुको पाता कस्छु भन्नुभयो । तर, कारबाही केही पनि भएन । प्रचण्डले बोलाएर उनलाई गृहमन्त्री हुने की सिंघम बन्ने भनेर सोधेपछि उहाँ चुप लाग्नुभयो । निर्मला पन्तको बलात्कारपछि हत्याको प्रकरण आउन थाल्यो ।’

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत यो सरकारले काम गर्न सकेन भनेर सैद्धान्तिक कुरा उठाएको उनले सुनाए । उनले भने, ‘अहिले हेर्नुहोस्, नियुक्ति प्रकरणले ओली आलोचित बनेका छन् । झलनाथ खनाल, माधव नेपालले पनि यो सरकारको बारेमा आलोचना गरिरहेका छन् । माधव नेपालले त हाउसभित्रै तमासा देखाउनुभयो । प्रचण्डजीले ‘गियर’ बढाउनुपर्छ भन्नुभएको छ ।’

ओली सरकारले कुनैपनि क्षेत्रमा आशातित नतिजा नदेखाएको उनको डा. केसीको विश्लेषण छ ।

उनले भने, ‘ओलीले किन पश्चगामी शैलीमा काम गर्न थाल्नुभयो ? मैले बुझन सकेको छैन । नाकाबन्दीका बेलामा राष्ट्रिय अडान लिनुभयो । हामीले पनि उहाँलाई सफल नेताको रुपमा चित्रण गरेकै हो । मैले त झनै सफल नेता र विकासको ‘एसेट’का रुपमा लिएको थिएँ । तर, मैमाथि त्यतिवेला प्रश्न खडा भयो ।’

उनले तुलनात्मक रुपमा ओलीभन्दा प्रचण्ड राम्रो र गतिशील नेता भएको बताए । ‘अहिलेका नेताहरुमा प्रचण्ड गतिशील छन् । तर, उनको त्यो गतिशिलता हाम्रो लागि प्रयोग भएन । उनकै छोरी र बुहारीको लागि त्यो ‘डाइनामिज्म’ लागु भयो’ केसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment