+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सासू-बुहारीको सुमधुर सम्बन्धः पारिवारिक सुखको श्रोत

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ४ गते १४:३१

एउटा घतलाग्दो कथन छ, ‘यदि आमाबुवा छोरीहरुसँग रहने हो भने उनीहरुले वृद्धाश्रम जान पर्ने नै थिएन ।’ यसको जवाफ उत्तिकै घतलाग्दो छ, ‘यदि बुहारीहरुले छोरीकै जस्तो ममता, श्रद्धा दिने हो भने बुवाआमा बृद्धाश्रम जानै पर्ने थिएन ।’

अनर्थ नलगाउने हो भने यस भनाईबाट के बुझ्न सकिन्छ भने, न बुवाआमाका लागि छोरी फरक हुन्, न त बुहारी । केवल हाम्रो हेराई, सोचाई र बुझाई फरक हो ।

यही हिसाबले सासूलाई बुहारीले आफ्नै आमा ठान्ने र सासूले बुहारीलाई आफ्नै छोरी मान्ने हो भने, समस्या आउँदैन । यद्यपी हाम्रो पारिवारिक संरचनामा सासू र बुहारीबीच त्यती सुमधुर सम्बन्ध रहँदैन । जबकी घरको मियो भनेकै उनीहरु दुबै हुन् । सासू घर-परिवारका श्रद्धेय सदस्य हुन् । आस्थाकी पुञ्ज हुन् । सासूले नै हो, परिवारलाई एकढिक्का बनाएर राख्ने ।

त्यसैगरी बुहारी घरकी शोभा हुन् । बुहारी नै पारिवारिक सुखको मियो बन्न सक्छिन् ।

अर्थात, समग्र घरमा शान्ति, सुव्यवस्था, सुमधुर, सामिप्यता प्रदान गर्ने भनेकै सासू र बुहारी हुन् । दुबैको उपस्थितीमा घर वास्तवमै घरजस्तो हुन्छ ।

सासू-बुहारीबीच झगडाः परिवारलाई झमेला

सासूबुहारीको सम्बन्धमा जब खटपट सुरु हुन्छ, घर त बिग्रन्छ नै दुई परिवार बीच गाँसिएको नाता पनि बिग्रन्छ । यसले परिवारका सबै सदस्यलाई मानसिक रुपमा तनाव पैदा गर्छ ।

हाम्रो वरपर समाजमा धेरै सासूबुहारी बीचमा मनमुटाव भएको देख्न सकिन्छ । कतिपय स्थितीमा त यस्तो मनमुटाव बढ्दै गएर यसले पारिवारिक कलहकै रुप पनि लिन्छ र अन्यमा छोरा बुहारी बीच नै सम्बन्धविच्छेद पनि हुने गर्छ ।

त्यसैले हामीले सासूबुहारी बीचको सम्बन्ध के साँच्चै तिक्ततापूर्ण नै हुनुपर्छ र भनेर सोच्नुपर्ने बेला आएको छ ? के सासूबुहारी बीचको सम्बन्ध आमाछोरीको जस्तो प्रगाढ बनाउन सकिँदैन ?

पक्कै पनि हरेक सासूबुहारीले एक अर्कालाई सम्मान र स्नेह गर्ने हो भने उनीहरु बीचको सम्बन्ध सुखद र आत्मिय हुन सक्छ ।

किन हुन्छ सासूबुहारी बीच झगडा ?

सुरुमा समाजको सोंच यस्तो हुन्छ कि पारिवारिक झगडाको मुख्य कारण पक्कै पनि सासूको नराम्रो व्यवहार होला । झगडिया वा अनावश्यक कुरामा हस्तक्षेप गर्ने खालकी सासू छिन् होला त्यसैले सासू बुहारी बीच सम्बन्ध राम्रो भएन होला भनेर धेरैले सोच्ने गर्छन् तर, सबै अवस्थामा यस्तो हुँदैन ।

अहिलेका बुहारीहरु शिक्षित र आत्मनिर्भर हुनाको साथै असहनशिल पनि हुन्छन् । बिहे गरेर आउनासाथै उनीहरु घरमा एडजस्ट हुन सक्दैनन् र परिवारका सदस्यहरुमाथि दोषारोपण गर्न सुरु गरिदिन्छन् । अहिलेको कानूनले पनि उनीहरुलाई अतिरिक्त सुरक्षा दिन्छ ।

नतिजास्वरुप धेरैजसो अवस्थामा सामञ्जस्यतामा थोरै कठिनाइ आउँदा पनि बुहारीले कानूनी बाटो अपनाउँछन् वा कानूनी उपचारको धम्की दिन्छन् । वर्षौं देखि सासूले शान्तिपूर्ण तरिकाले राम्रोसँग चलाएको घरमा आएर बुहारीले उनलाई छुच्ची सासूको दर्जा दिन्छिन् ।

सत्य त यो पनि हो कि धेरैजसो बुहारीहरु आफ्नो हक त माग्छन् तर कर्तव्य निभाउँदैनन् । सासूलाई सम्मान गर्न उनीहरुलाई आउँदैन । सानो कुरा पनि सहन सकदैनन् र बबाल मच्चाउन थाल्छन् । यसै कुरालाई लिएर उनीहरु पतिसँग झगडा गर्न सुरु गर्छन् ।

यस्तोमा सासूको दिल त दुख्छ नै । सासूलाई पनि बुहारीको रबैया ठिक लाग्दैन र उनले बुहारीलाई कडा गरिदिन्छिन् । र, बुहारी पनि के कम सासूलाई नै हमला गर्न थाल्छन् ।

गल्ती कसको ?

गल्ती सँधै बुहारीको मात्रै पनि हुँदैन । वास्तवमा युवतीहरुलाई सानैदेखि सासू तिम्रो सबैभन्दा ठूलो दुश्मन हो भन्ने कुरा सिकाइन्छ । विवाह गरेर पतिको घरमा जानुभन्दा पहिले नै कडा सासूको डर उनीहरुको दिमागमा मनोवैज्ञानिक रुपले हावी हुन्छ ।

धेरै जसो सासूको गुनासो हुन्छ कि बुहारीले मुखमुखै लागेर जवाफ दिन्छन् । यस्तोमा झगडा बढ्छ समस्या तब हुन्छ जब बुहारीका माइतीपक्षले बुहारीलाई समर्थन गरेर उनीहरुलाई भड्काउन थाल्छन् ।

धेरै जसो अवस्थामा जब बुहारीको माइतीले हस्तक्षेप गर्न थाल्छन् त्यहाँ वैवाहिक सम्बन्ध बर्बाद भएको पाइन्छ । युवतीका माइतीपक्ष उनको सपोर्टमा खडा हुन थालेपछि बुहारीले घरमा सानो कुरा पनि सहन तयार हुँदैनन् ।

यसको विपरित माइतीमा युवतीलाई आफ्नो घरमा सबैको ख्याल राख्ने, आफ्नो कर्तव्य निभाउन र सासुलाई सम्मान दिन सिकाएमा माया र स्नेह उनीहरुलाई आँफै मिल्छ ।

समस्या सासूमा पनि

धेरैजसो सासूहरु आफूले भनेको सबैकुरा बुहारीले मान्नुपर्छ भन्ने स्वभावका हुन्छन् । कहिलेकाँही उनीहरु पनि गलत हुन्छन् तर आफ्नो कमजोरी लुकाउन बुहारीलाई कराउँछन् ।

अझै पनि सासूहरुले बुहारीलाई अर्काकी छोरीको रुपमा व्यवहार गर्छन् र उनीहरुलाई सँधै दबाबमा राख्न खोज्छन् । यसै कारणले पनि धेरै घरमा सासूबुहारी बीचको सम्बन्ध राम्रो हुँदैन ।

अर्को समस्या धेरै सासूहरुले आफू बुहारी हुँदा आफ्नो सासूबाट धेरै प्रताडना झेलेका हुन्छन् त्यसैले बुहारीलाई दुःख दिएर हैकम चलाउनुपर्छ भन्ने मान्यता उनीहरुमा अझै पनि रहेको पाइन्छ ।

बुहारीले मनन गर्नैपर्ने कुरा

अहिलेका बुहारीहरु शिक्षित र धेरै कुरा बुझेका छन् त्यसैले उनीहरुले सासुलाई आफ्नो आमा सरह व्यवहार गर्नुपर्छ । बुहारी झगडालु भएमा त्यसको पहिलो नकरात्मक प्रभाव परिवारमा पर्छ ।

घरमा झैझगडा भैरहेमा वृद्धवृद्धा भइसकेका सासूससूरालाई मानसिक समस्याले सताउँछ, उनीहरुलाई विभिन्न रोगहरुले सताउन सक्छ । घरमा सासूबुहारी बीच झगडा हुनाले समाजमा उनीहरुको यति बेइज्जती हुन्छ कि उनीहरु आफ्न्त छरछिमेक सबैसँग टाढा हुन खोज्छन् ।

धेरै महिलाहरुले सासूससूरासँग उनीहरुको खराब सम्बन्धले उनीहरुको जीवनमा गहिरो सन्ताप र दबाब पैदा गरेको कुरा स्विकार गर्छन् ।

सासूको छवि मिडिया र पुरानो सोच भएका मानिसहरुले नराम्रो बनाइदिएका छन् ।  उनीहरुलाई बुहारीको लागि दुश्मनको रुपमा प्रचारित गरिन्छ जुन एक महिलाको अधिकारहरुको लागि अन्याय हो ।

एक नयाँ अध्ययनको अनुसार महिलाहरु आफ्नो आमाद्धारा पनि हिंसाको शिकार हुन्छिन् तर यसमाथी उनीहरु ध्यान दिँदैनन् । तर, बाल्यकालमै युवतीहरुलाई सासूसँग घृणा गर्न सिकाइएको हुन्छ त्यसैले पतिको घर पुगेर उनीहरुले सासूलाई आफ्नो मुख्य दुश्मन सम्झिन थाल्छन् ।

यसरी बनाउन सकिन्छ सुमधुर सम्बन्ध

जब सासूले उनलाई छोरी भनेर मायालु तरिकाले बोलाउँछिन् त्यतिखेर बुहारीलाई धेरै राम्रो लाग्छ । सासूले आफ्ना बच्चालाई राम्रोसँग स्याहार गरिदिएमा, बुहारीलाई आफ्नो घरको हिस्सा सम्झिएमा, पतिसँग उनको सम्बन्धलाई मजबुत बनाउन सहयोग गरेमा बुहारीलाई राम्रो लाग्छ र सम्बन्ध सुमधुर हुन्छ ।

त्यस्तै सासूको अनावश्यक कुरामा सल्लाह दिने बानी, गाली गर्ने, कराउने बानी, स्वार्थी व्यवहार बुहारीलाई नराम्रो लाग्छ । सासूले आफ्नो बच्चासँगको नराम्रो व्यवहार गरेको पनि बुहारीले सहन सक्दिनन् ।

धेरैजसो बुहारीले नराम्रो त्यतिखेर महसुष गर्छन् जब सासूबुहारीको झगडामा पतिले आफ्नो आमाको पक्ष लिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?