+
+

शंखधर साख्वाजस्तै दानी बने अमिताभ, तिरिदिए किसानहरुको ऋण

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ५ गते ८:५७

५ मंसिर, काठमाडौं । नेपालमा किसानहरुको ऋण चुक्ता गरिदिएका थिए भक्तपुरका शंखधर साख्वाले । उनैले नेपाल सम्वत् प्रचलनमा ल्याए, जसलाई नेपालको मौलिक सम्वत् मानिन्छ ।

शंखधर साख्वाले जस्तै पुण्यको काम गरेका छन् बलिउड अभिनेता अमिताभ बच्चनले । उनले किसानहरुको चार करोड भन्दा बढी ऋण चुक्ता गरिदिएका छन् ।

मंगलबार अमिताभले आफ्नो ब्लगमार्फत् यो जानकारी दिएका हुन् । ब्लगमा लेखिएअनुसार उनले उत्तर प्रदेशका १ हजार ३ सय ९८ जना किसानको ऋण तिरिदिएका छन् ।

अमिताभले तिरिदिएको ऋण भारतको एक सरकारी बैंकको थियो । उनले ऋण रकम बैंक अफ इण्डियाबाट एकमुष्ट रुपमा तिरिदिएको ब्लगमा लेखिएको छ । बैंकले ऋण चुक्ताको कागजपत्र अमिताभलाई दिएको छ जसलाई अमिताभले किसानहरुलाई हस्तान्तरण गर्दैछन् ।

सबै किसानहरु ऋण चुक्ता भएको बैंकको कागजपत्र लिन मुम्बई जानेछन् । सबै किसानहरुलाई एकै पटक मुम्बई ल्याउन कठिन भएपछि अमिताभले रेलको डिब्बा नै रिजर्भ गरिदिएका छन् । उनीहरुलाई अमिताभले २६ नोभेम्बरमा बैंकको कागजपत्र हस्तान्तरण गर्ने छन् ।

अमिताभले यसै वर्ष महाराष्ट्रका ३५० किसानहरुको ऋण चुक्ता गरिदिएका थिए ।

सन् २००७ मा अमिताभ जग्गाको एक सम्झौताका कारण विवादमा आएका थिए । अदालतको फैसलाअनुसार अमिताभले ९० हजार वर्ग फुट जग्गा अवैध तरिकाले उपयोग गरेका थिए ।

यसबाट अमिताभले धोखाधडीको आरोपको सामना गर्नु परेको थियो । त्यसपछि उनले उक्त जमिनमा दाबी छाडिदिए र उनीविरुद्धको मुद्दा पनि फिर्ता लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?