Comments Add Comment

मलेसियाको जेलभित्रै ठगिएका मानिसी काठमाडौंमा दलाल खोज्दै

६ मंसिर, मलेसिया । मलेसियाबाट गत बिहीबार साँझ पौने ६ बजे उडेको मालिण्डो एयरलाइन्सको जहाज राति करिब दश बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्‍यो । जहाजले भुइँ छुँदा–नछुँदै यात्रुहरु आफलताफल गर्न थालिहाले ।

एयर होस्टेसले चुपचाप बस्न अनुरोध गरिरहेकी थिइन्, तर कोही यात्रु हाते झोला झिक्न हतारिएका थिए भने कोही आफन्तलाई फोन गर्न । सोही जहाजमा रहेका एक युवक भने बडो उदासिन मुद्रामा बसिरहेका थिए । उनी सबैभन्दा पछाडि जहाजबाट ओर्लिए ।

झुस्स दाह्री पालेका, अन्दाजी ४० वर्षका उनी थिए, ढल्केवर धनुषाका मानिसीकुमार महतो । रोजगारीका लागि मलेसिया पुगेका उनी तीन महिना १६ दिन जेल बसेर फर्किएका रहेछन् ।

विमानस्थल वाहिर हंसराज महतो आफ्नो भाइलाई कुरेर बसिरहेका थिए । भाइलाई अगाडि देख्नासाथ उनले भने, ‘हरे, के गति बनाएको ? दाह्री काट्नु पर्दैन ?’
‘बाँचेर आएको छु, अरु कुरै नगर्नुस’ भन्दै मानिसी बटारिए ।

एयरपोर्टबाट ट्याक्सी समातेर दाजुभाई काठमाडौं बसपार्कमा पुगे । सस्तो होटल खोजे । खाना खाए । अनि भलाकुसारी शुरु भयो । भाइले आफ्नो कथा सुनाउँदै जाँदा दाजुको अनुहारको भाव बिग्रिदै गयो ।

मुर्मुरिँदै उनले भने, ‘बरु भोलिबाट एक पेट खान्छु, तर त्यो दलाललाई ठेगान नलगाई छाडदिनँ ।’

अनलाइनखबरसँग मानिसीकुमारले आफ्नो कथा यसरी सुनाएः

चार दाजुभाइमध्येको कान्छो म । सानैमा आमाबुबा गुमाएँ । पढाइ लेखाइ गर्न पाइनँ । पूर्व–पश्चिम राजमार्ग छेउमै घर थियो । गाडी रोकिएको बेलामा भित्र पसेर ‘नरिवल, पानी…’ भनेर चिच्याउँदै बेच्न सुरु गरेँ । दाइ पनि यस्तै काम गर्थे ।

उमेर बढेपछि बिहे भयो । सानो फुसले छाएको घरमा सबैजना बस्न सम्भव नभएपछि दाजुभाइ छुट्टियौं । श्रीमती, एक छोरा र दुई छोरीको जिम्मेवारी मेरो काँधमा आयो ।

कमाइ थोरै र खर्च धेरै हुन्थ्यो । करिब दुई लाख ऋण लागिसकेको थियो । ऋणको बोझले थिचिँदै गएपछि नेपालमै बसेर केही होला भन्ने लाग्न छोड्यो । अन्ततः दाजुहरु र गाउँलेहरुसँग थप ऋण खोजेर रोजगारीको लागि पैंतिस वर्षको उमेरमा कतार पुगेँ । त्यहाँ लगभग दुई वर्ष बिताएँ । नेपालमा लागेको ऋण तिरेँ । पाँच कठ्ठा जति जमिन पनि जोडेँ ।

दुई वर्षपछि वैशाख १ गतेका दिन नेपाल फर्किएँ । आउँदा घरको आर्थिक अवस्था राम्रो भयो होला भन्ने लागेको थियो, तर श्रीमतीको मति बिग्रिसकेको रहेछ । मैले दुख गरेर पठाएको पैसा बचत गर्नु त परै जाओस, उल्टै साढे दुई लाख ऋण लगाइदिएकी रहिछ । त्यतिले नपुगेर तीन छोराछोरी छाडेर असारमा पोइला हिँडी ।

म पनि के कम । दोस्री श्रीमती ल्याएँ । लागेको ऋण उकास्ने र बाँकी जीवनलाई राम्रो बनाउने विषयमा नयाँ श्रीमतीसँग सल्लाह गरेँ । फेरि विदेशिनुको विकल्प देखिएन । श्रीमतीले माइती र यताउता खोजखाज गरेर करिब डेढ लाख रुपैयाँ जुटाइदिइन् । त्यो पैसा म्यानपावरलाई बुझाएर डेढ वर्ष अगाडि रोजगारीको लागि मलेसिया पुगेँ ।

नेपालमा भनिएको जस्तो काम मलेसियामा मिलेन । म्यानपावरलाई बारम्बार फोन गरेर समस्या सुनाएँ, तर हल भएन । एउटै मालिकको चारवटा फर्निचर कारखाना रहेछ ।

ठाउँ फेरि–फेरि काममा लगाइन्थ्यो । मेसिन जसरी काम गर्नुपर्थ्यो । तलव–सुविधा पनि गतिलो थिएन । जसोतसो एक बर्ष बिताएँ । एक वर्षमा डेढ लाख पनि कमाउन सकिनँ । यसरी बस्नुभन्दा अर्काे काम खोज्छु भनेर कम्पनी छाडेर हिडेँ । तर, दुई महिनामै मलेसियाको प्रहरीले पक्राउ गर्‍यो ।

जेल परेको केही समयपछि नेपाल फर्कनको लागि नेपाली दूुतावासले जेलमै उपलब्ध गराएको फारम भरेँ । फारम भरेपछि जेल भित्रबाटै त्यहाँको प्रहरीले स्थानीय एक नेपाली ठगलाई सम्पर्क गरायो । ठगले मेरो परिवारसँग म अप्ठेरोमा परेको भन्दै पैसा माग्न थालेछ । परिवारले पनि ठगले भनेअनुसार विभिन्न ब्यक्तिका नाममा नेपालमै रेमिट्यान्समार्फत पैसा पठाउन थाले । पैसा पठाउँदा पठाउँदा कंगाल भइसकेको परिवारले पाँच कठ्ठा जमिनसमेत बेच्न वाध्य भएछ ।

तीन महिना सोह्र दिनमा नेपाल आइपुगेँ । पच्चीस हजार रुपैयाँ तिरेर एकतर्फी हवाई टिकटमा नेपाल फर्किन सकिनेमा सोझो परिवारसँग विभिन्न बाहनामा करिब तीन लाख रुपैयाँ असुल गरिएको छ ।

बारम्बार जेलमा फोन गरेर ‘यहाँको पुलिस मेरो हातमा छ, मैले भने वमोजिम पैसा दिइनस् भने त भित्रै मर्नेछस्’ भनेर धम्की आउँथे । मलेसियाको कुराकानी नेपालमा कसैलाई भनेमा सिध्याइदिने चेतावनी दिइएको थियो । त्यसैले म डराएँ । अब म आफूलाई अप्ठेरोमा उल्टै दुख दिने दलालहरुको खोजी गर्नेछु र उनीहरुलाई कठघरामा उभ्याउनेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment