Comments Add Comment

नेपाली महिला फुटबलरमा रहेको भारतको ‘भूत’ हटाएँ

आफ्नो फुटबल जीवनलाई फर्केर हेर्दा रोमाञ्चित हुन्छु । ४२ वर्षको उमेरमा आइपुग्दा अहिलेसम्म सोचेको फुटबलमात्रै हो । सानो बेला झापा चन्द्रगढीमा छँदा फुटबलको नशाजस्तो बसेको थियो अहिलेसम्म पनि छुटेको छैन । बरु बढेको छ ।

खेलाडी जीवन सकिएको धेरै भयो, तर पनि म फुटबलबाट टाढा हुन सकेको छैन । आखिर नशा न हो । त्यसैले खेल जीवनपछि प्रशिक्षकका रुपमा फुटबलमा जोडिएँ । गएको जेठ अन्तिमदेखि महिला राष्ट्रिय टिमलाई प्रशिक्षण दिइरहेको छु ।

खेलाडीभन्दा प्रशिक्षकको जिम्मेवारी धेरै चुनौतिपूर्ण रहेछ । खेलाडी हुँदा आफ्नो खेललाई मात्रै ध्यान दिए पुग्यो । प्रशिक्षक भएपछि सबै कुरालाई विचार गर्नुपर्ने हुन्छ । पूरा टिमको जिम्मेवारी लिएर राम्रो पक्षलाई अझ तिखार्ने र नराम्रो पक्षलाई निखार्ने काम पक्कै पनि सहज होइन । आफ्नो टिमको त छँदैछ, विपक्षी टिमको पनि बलियो र कमजोर पक्षबारे जानकार हुनुपर्छ । विपक्षी टिमको को खेलाडी राम्रो छ, को खेलाडी नराम्रो छ, कस्तो खेल्दा के हुन्छ भन्ने विचार गर्नुपर्छ ।

हामीले खेल्ने बेला र अहिलेको फुटबल प्राविधिक रुपमा निकै नै फेरिएको पनि छ । एक अर्थमा राम्रो हुँदै गएको छ भन्न पनि मिल्ला । तर हामीले खेल्ने बेलाको जस्तो उत्साह र जोश भने अहिलेका खेलाडीमा कमै मात्र पाउँछु ।

मेरो समयको फुटबल, खेल जीवनको कुरा त गरौँला नै, अहिले सुरुमा महिला टिमकै कुरा गर्छु ।

****

विभिन्न क्लबसँगै २३ वर्षमुनिको पुरुष टिम र राष्ट्रिय टिमको पनि सहायक प्रशिक्षक भएर काम गरेको अनुभव थियो । त्यही आधारमा महिला टिमको जिम्मेवारी पाएँ । महिला टिम सम्हाल्ने प्रस्ताव आउँदा के गर्ने भन्ने अन्यौलमा परेको थिएँ तर, फुटबल संघले विश्वास गरेर दिएको जिम्मेवारी अस्वीकार गर्नु उचित हुन्थेन । त्यसैले स्वीकारेँ ।

जब अभ्यास सुरु गरेँ, सोचेको जस्तो केही पनि पाइनँ । राष्ट्रिय टिम भनेर जुन खालको अपेक्षा गरेको थिएँ त्यस्तो केही थिएन । शून्यबाट सुरु गर्नुपर्ने देखेँ र आधारभूत कुराहरुबाटै अभ्यास सुरु गरेँ ।

महिला खेलाडीहरु जितको भोक र राष्ट्रिय टिमबाट केही गर्नुपर्छ भन्ने उत्साह भने गज्जबको थियो । अनुशासन असाध्यै राम्रो छ । यसको प्रभाव पनि पहिलो पटकमै पर्‍यो । उनीहरु अभ्यासको बेला पनि कहिल्यै ठग्दैनन् । सिकाएका र गर्नुपर्ने सबै कुराहरु ध्यान दिएर गर्छन् । मैले जस्तो सिकाउँछु, उनीहरु त्यसलाई सिक्ने कोशिस गर्छन् । अहिले उनीहरुको मेहनत अन्तर्राष्ट्रियस्तरमा देखिएको पनि छ ।

हालै ओलम्पिक छनोटको दोस्रो चरणमा महिला टिमले स्थान बनायो । यो खेलाडीको मेहनतकै फल हो । तर, हाम्रा लागि ओलम्पिकभन्दा महत्वपूर्ण साफ फुटबल नै हो । अहिले मिलेको सफलताले साफका लागि थप मेहनत गर्न पनि प्रेरणा मिल्ने छ ।

महिला साफ फुटबल नेपालमै हुने घोषणा भएको छ । आउँदो वर्ष मार्चमा घरेलु मैदानमा हुने महिला साफ फुटबल हाम्रो लागि अवसर र चुनौति दुवै हो ।

****

हामीले नेपालको महिला टिमलाई बलियो बनाउन, टिममा अरु खेलाडीलाई पनि आकर्षित गर्न र राम्रो नतिजा निकाल्न अझै धेरै नै गर्न बाँकी छ जस्तो लाग्छ ।

सुरुमा राष्ट्रिय खेलाडी भनेर उनीहरुले जति जानेका होलान् भन्ने सोचेको थिएँ, त्यति त पाउँदै पाइनँ । केही खेलाडीलाई छाडेर भन्ने हो भने अवस्था नाजुक हो । रक्षात्मक खेल्ने कि आक्रामक ? कस्तो खेल्दा के–केमा ध्यान दिने भन्ने महत्वपूर्ण हुन्छन् । कतिखेर के गर्ने भनेर खेलाडीहरुबीच सामञ्जस्य मिलाउनै केही समय लाग्यो । उनीहरुमा आधारभूत ज्ञानकै कमी थियो ।

विस्तारै त्यसमा काम गर्दै गएका छौँ । महिला टिमको प्रशिक्षण सम्हालेपछि मैले काम गर्न पाएको, अनुभव लिएको प्रमुख प्रतियोगिता ओलम्पिक छनोट नै हो । ओलम्पिक छनोटको लागि जानुभन्दा पहिले हामीले नेपाली यू–१९ टोलीसँग अभ्यास खेल खेलेका थियौँ । त्यसैगरी चीनमा गएर पनि तीनवटा अभ्यास खेल खेल्यौँ । यसबाट टिममा रहेका कमि–कमजोरी सुधार्न मलाई निकै सजिलो भयो । हाम्रो बलियो पक्ष के हो र कमजोर पक्ष के हो भन्ने अभ्यासभन्दा खेलकै बेला राम्ररी देखिन्छ । अझ विदेशी टिमसँग खेल्दा सबै कुरा छर्लङ्ग हुन्छ ।

चीनमा हामीले दुई खेल हार्‍यौं भने एउटा जित्यौँ । चीनको राम्रै स्तरको टिमसँग खेल भएको थियो । त्यसले गर्दा सुधार गर्नुपर्ने पाटोहरु राम्ररी देखिएको थियो ।

***

म्यानमारमा सम्पन्न ओलम्पिक छनोटको कुराकानी भारतसँगको खेलबाटै सुरु गरौँ ।

हरेक समय हामी भारतविरुद्ध खेल्न मैदान पस्दा पहिल्यै मनोबल कमजोर बनाएका हुन्छौं । नेपाली महिला टिमले पनि भारतलाई हराउन नसक्नुको कारण त्यही कमजोर मानसिकता हो । शारीरिक रुपमा उनीहरु हामीभन्दा राम्रा होलान् तर, खेलको हिसाबले हामी पछाडि छैनौँ । तर, भारतको टिममा फलानो खेलाडी त खतरा छ भन्ने भूत हाम्रो खेलाडीको मनमा गढेको देखियो ।

त्यसैले मैले उनीहरुलाई मानसिक रुपमा बल दिएँ । एउटा प्रशिक्षकले गर्ने काम पनि त्यही रहेछ । खेल शैली सिकाउने मात्र नभएर खेलाडीलाई कसरी मानसिक रुपमा तयार पार्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

‘भारतमा भएका खेलाडीभन्दा तिमीहरु असाध्यै राम्रो छौ, कुनै पनि हिसाबले तिमीहरु कमजोर छैनौँ’ भनेर एक हिसाबले खेलाडीहरुको ‘ब्रेन वास’ नै गरेको थिएँ ।

मैले विगत पनि हेरेँ, यसअघि भारतसँग हार्दा हामीले रक्षात्मक खेल मात्रै खेलेका रहेछौँ । मैले खेलाडीहरुलाई भनेको थिएँ, खेल जित्ने हो र आफ्नो क्षमता देखाउने हो भने किन रक्षात्मक मात्रै खेल्ने ? तिमीहरुले ‘टोटल’ फुटबल खेल्नुपर्छ । किनभने फुटबलको अन्तिम सत्य त गोल नै हो । गोल नगरी त कसरी जितिन्छ ? मेरो कुरालाई खेलाडीहरुले पनि राम्ररी मनन गरेका थिए ।

हामी सक्छौँ भन्ने विश्वास उनीहरुमा देखिएको थियो । त्यहीअनुसार भारतविरुद्ध सुरुवाती गोल गरेर दबाव पनि बनायौँ । तीन÷चार वटा राम्रा अवसरहरु निकाल्यौं । त्यसले उनीहरुमा पनि दबाव बढायो र खेल नियन्त्रणमा राख्न सकियो । त्यो खेललाई विचार गर्ने हो भने हामी ३–१ ले जित्न सक्ने अवस्था थियो । जे होस्, भारतसँग एक–एक गोलको बराबरी पनि हाम्रा लागि सुखद नै थियो ।

****

दोस्रो खेलमा हामी म्यानमारसँग खेल्दै थियौँ । त्यसअघि म्यानमारको खेल मैले राम्ररी बुझ्न पाएको थिइनँ । म्यानमार हामीभन्दा धेरै राम्रो टिम हो भन्ने थाहा थियो । फिफा वरियतामा म्यानमार ४४ औँ स्थानमा छ भने हामी १०८ औँ स्थानमा छौँ ।

म्यानमारविरुद्ध हामीले १–१ को बराबरी गर्न सक्नु नै ओलम्पिक छनोटको सबैभन्दा राम्रो नतिजा हो ।

म्यानमारले बंगलादेशसँग खेलेको खेल हेरेर मैले उनीहरुको बलियो पक्ष र कमजोर पक्ष पत्ता लगाएको थिएँ । उनीहरुले धेरैजस्तो कुन स्थानबाट बल अघि बढाउँछन् भन्ने ख्याल गरेको थिएँ । म्यानमारसँगको खेलअघि हामीसँग दुई दिन समय थियो । पहिलो दिन सामान्य अभ्यासमा मात्रै ध्यान दिएर खेलाडीहरुलाई स्वीमिङ पुल लैजाने र फिट रहन मद्धत गर्ने काम मात्रै गरेँ । अर्को दिन म्यानमारसँग कसरी खेल्छौँ भन्ने योजना बनाएर खेलाडीहरुसँग काम गरेँ । कुन तरिकाले खेल्ने, कुन क्षेत्रमा धेरै ध्यान दिने भनेर राम्ररी तयारी गरेका थियौँ ।

खेलाडीहरुलाई भनेको थिएँ, ‘म्यानमारको टिम सुरुको १० मिनेट अलर्ट भएको हुँदैन, त्यो समय हामीले राम्रो अवसर बनाउन सक्यौँ भने फाइदा हुन्छ । हामीले काउन्टरमा साबित्रा भण्डारीलाई बल दिन सक्यौँ भने गोल गर्छौं है ।’ नभन्दै हामीले राम्रो मुभ बनाएर दोस्रो मिनेटमा नै गोल निकाल्यौँ ।

खेलाडीहरुलाई हौसला बढाइरहे पनि मैले मनमनै सोचेको थिएँ, सकेसम्म बराबरी खेल्ने, नसके पनि तीन गोलभन्दा धेरै खान हुँदैन । तर, खेलाडीलाई हामीले तीन गोलसम्म खान हुन्छ भन्नु भएन । त्यसैले त मैले सोचेको भन्दा राम्रो खेल देखाए ।

ओलम्पिक छनोटको समीकरणहरु विचार गर्दा दुई खेल बराबरी गरेर पनि हामीलाई राम्रो अवसर मिलिरहेको थियो । यसैले बंगलादेशसँगको अन्तिम खेलमा दबावविहीन भएर खेल्नुपर्छ, तीन अंक ल्याउन सकिन्छ र ल्याउनु पनि पर्छ भन्ने सोचेँ ।

बंगलादेशसँग खेलअगाडि मैले खेलाडीहरुलाई पनि भनेको थिएँ, ‘यो खेलमा मलाई तीन अंक चाहियो । पहिले त हामी गोल गरौँ, त्यसपछि तरिका फेरौँला ।’

बंगलादेशका लागि त अन्तिम खेल एउटा अवसर मात्रै थियो । नेपालले भारत र म्यानमारसँग बराबरी खेलेर आएको भनेर उनीहरु डराएका पनि थिए । त्यसैले उनीहरुले पूरै रक्षात्मक खेले । हामीले गोल गरेपछि अब तीन अंक लिन बल आफ्नै क्षेत्रमा विस्तारै खेलाउ भन्ने निर्देशन दिएँ । त्यो सम्भव पनि थियो । तर, खेलमा कहिलेकाहीँ यस्तो हुन्छ, रक्षापंक्तिको गल्तीका कारण हामीले अन्तिम समयमा गोल खायौँ र बराबरीमा चित्त बुझाउनुपर्‍यो ।

बंगलादेशसँग जित्ने खेल बराबरी भए पनि यो पटक खेलाडीले सोचेभन्दा राम्रो खेलेका हुन् । हामीले अझ राम्रो गर्दै यसलाई निरन्तरता दिनुपर्छ । खेलाडीमा खेललाई लिएर सकारात्मक सोच र उत्साह पनि छ । त्यसको प्रयोग गर्नुपर्छ ।

****

अबको हाम्रो योजना साफ फुटबल नै हो । त्यसैले साफको तयारीबारे सोचिरहेको छु । अहिले काठमाडौंमा प्रधानसेनापति महिला फुटबल पनि चलिरहेको छ । यसमा पनि खेलाडीहरु नियालिरहेको छु । यो प्रतियोगिता सकिएपछि केही नयाँ खेलाडी राम्रो देखिए भने उनीहरुले पनि अवसर पाउँछन् ।

राष्ट्रिय खेलाडी भनेर सोच्नेभन्दा पनि कसको राम्रो खेल छ भनेर नै सोच्ने हो । राष्ट्रिय टिममा नखेलेका खेलाडीले पनि राम्रो गरे भने उनीहरुलाई टिममा बोलाउनुपर्छ । यो प्रधानसेनापति कप सकिएपछि हामी साफको तयारीमा लाग्छौँ ।

राष्ट्रिय टिमबाट खेलेका सबै खेलाडीहरुलाई मैले भनेको पनि छु, ‘अब तिमीहरु राष्ट्रिय टिमको खेलाडी होइन है, क्लबको खेलाडी हौ । राष्ट्रिय टिममा पर्न तिमीहरुले अझै मेहनत गर्नुपर्छ । राम्रो गर्न सक्यौ भने फेरि टिममा पर्छौ नत्र अप्ठ्यारो छ । मैले सशस्त्र, पुलिस या आर्मीको टिम बनाउन लागेको होइन, राष्ट्रिय टिम बनाउन लागेको हो, राम्रा खेलाडी मात्रै छानिन्छन् ।’

महिला फुटबलको स्तर दक्षिण एसियामा हेर्दा हामी १० वर्षअगाडि जहाँ थियौँ, अहिले पनि त्यहीँ छौँ । सन् २०१० मा बंगलादेशमा भएको पहिलो साफ च्याम्पियनसिपमा हामी दोस्रो भएका थियौँ । श्रीलंकामा भएको दोस्रो र पाकिस्तानमा भउको तेस्रो साफ च्याम्पियनसिपमा पनि हामी दोस्रो नै भयौँ । २०१६ मा भारतमा भएको प्रतियोगितामा त सेमिफाइनलमा नै हार्‍यौँ । किनभने, सेमिफाइनलमा भारतसँगै भेट भयो । त्यसैले हाम्रो स्तर जहिले पनि भारतभन्दा पछि मात्रै देखिएको छ । अब यसलाई सुधार गर्नुपर्ने समय आएको छ ।

हामीले कहिले पनि प्रथमको लागि दाबेदारी नै पेश गरेका छैनौँ । हुन त म गलत पनि हुन सक्छु तर, राम्ररी हेर्दा त्यही नै देखिन्छ । हामी भारतसँग हार्छौं भन्ने सोचेर पहिल्यै ढुक्क बनेका हुन्छौँ । बंगलादेशले बरु धेरै सुधार गरिसकेको छ ।

म्यानमारमा भएको ओलम्पिक छनोटको खेलपछि भने हामीले भारतलाई जित्न सक्छौँ भन्ने देखिएको छ । खेलाडीका लागि थोरै सुविधा बढाउने हो र लगातार मेहनत गर्ने हो भने उनीहरुमाथि गरिएको लगानी खेर जाने छैन । नेपाली पुरुष फुटबलभन्दा राम्रो ढंगले महिला फुटबलमा प्रगति देखिएको पनि छ ।

****

मैले सन् १९९५ देखि २००६ सम्म राष्ट्रिय टिमका लागि स्ट्राइकरको भूमिकामा खेलेँ । २००३ देखि दुई वर्ष कप्तान भएँ । मैले खेल्न छाडेकै १२ वर्ष भइसक्यो तर, राष्ट्रिय टिमबाट सर्वाधिक गोलको कीर्तिमान निराजन रायमाझी र मेरो संयुक्त नाममा छ ।

मैले अन्तर्राष्ट्रिय खेलमा १३ गोल गरेको थिएँ । हाम्रो समयमा अहिलेको तुलनामा खेल कम हुन्थे । अहिले धेरै खेल हुँदा पनि आफ्नो गोलको कीर्तिमान तोडिएको छैन । आफ्नो नाममा कीर्तिमान हुँदा खुसी लाग्ने कुरा त छँदै छ तर, पछिल्लो पुस्ताले त्यो कीर्तिमान तोडेमा म झन् खुशी हुने थिएँ । हरि खड्का, निराजन रायमाझी भन्दा धेरै गोल कसैले गर्छ भने त नेपालको लागि राम्रो हो नि । गोल गरेरै खेल जितिने त हो ।

****

अन्तर्राष्ट्रिय खेलमा गरेका १३ गोलमध्ये पनि मैले इराकविरुद्ध हानेको गोल अविस्मरणीय छ ।

२००२ को विश्वकप छनोटको बेला हो । हामी काजकिस्तान, मकाउ र इराक रहेको समूहमा थियौँ । त्यो बेला ६ खेलमा हामीले २ खेल जितेर ४ खेल हारेका थियौँ ।

इराकविरुद्ध काजकिस्तानको अलमाटि रंगशालामा खेलको ३७ औँ मिनेटमा निराजन रायमाझी र मैले पास खेल्दै लगेर हानेको त्यो गोल उत्कृष्ट थियो । गोलकिपर अगाडि बढेको बेला मैले चिप गरेर जालि चुमाएको थिएँ । पछि ६३ औँ मिनेटमा निराजनले पनि गोल गर्‍यो । हुन त हामी ४–२ ले खेल हारेका थियौँ तर पनि बलियो इराकविरुद्ध २ गोल गर्नु नै हाम्रो लागि ठूलो उपलब्धी थियो ।

आठौँ साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध हानेको गोल पनि बिर्सन सक्दिन । सन् १९९९ को त्यो साफ भारतमा भएको थियो । हामी सेमिफाइनलमा बंगलादेशसँग २–१ ले हारेर निराश भएका थियौँ । प्रतियोगितामा हामीले राम्रो नै गरे पनि त्यो बेला भाग्यले साथ दिएन । जे होस्, समूह चरणमा माल्दिभ्सविरुद्धको खेलमा मैले दुई गोल गरेको थिएँ ।

****

आफ्नो खेल जीवनलाई फर्केर हेर्दा अलि चाडो जन्मिएछु जस्तो पनि लाग्छ । हाम्रो समयमा फुटबलको अहिलेजस्तो माहोल थिएन । मिडियाहरुमा पनि खेलकुदलाई त्यति महत्व दिइन्नथ्यो । हुन त त्यो समय मिडिया नै कति पो थिए र ! अहिलेको समयमा भएको भए खेल अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ ।

सानो बेलामा झापा चन्द्रगढीमा हामी घरबाट भागी–भागी फुटबल खेल्थ्यौँ । सबैको बाबुआमाले सोच्ने नै छोरा पढोस्, डाक्टर इञ्जिनियर बनोस् भन्ने हो । खेल्छु भन्दा सजिलै त कहाँ खेल्न पाइन्थ्यो र !

त्यो बेला विद्यालयमा भने खेलकुद गतिविधि राम्रो थियो । सदनस्तरीय प्रतिस्पर्धाहरु हुन्थे । सदनको टिममा छानिएर खेल्दै जाँदा राम्रो भयो । मेरो गाउँकै एकजना गणेश राजभण्डारी दाइले नै मलाई खेलमा लाग्न धेरै नै प्रोत्साहन दिनुहुन्थ्यो ।

विद्यालयमै हुँदा मुनाल च्यालेन्ज गोल्ड कप खेलेर उत्कृष्ट खेलाडीको उपाधि पाएँ । चाँदीको कप जितेको थिएँ । रेडियोमा नाम आयो । रेडियोमा नाम आएपछि परिवारमा खुशी छाएको थियो । अनि त घरमा पनि फुटबल खेल्न छुट पाइयो ।

त्यसपछि सान मिगल युथ कप खेल्न झापाको टिमबाट काठमाडौँ आएँ । २०४९ सालतिरको कुरा हो । त्यतिबेला भर्खर १६ वर्षको थिएँ । सान मिगल युथ कपमा राम्रो गरेकाले छात्रवृत्ति पाएर जर्मनको पोटास फुटबल स्कूलमा सिक्न जान पाएँ । तीन हप्ता बसेर त्यहाँ सिकेको फुटबलले नै धेरै सहयोग गरेको हो ।

त्यो बेला त्यहीँ बस भनेका पनि थिए तर, घरको याद यति आउने कि त्यहाँ टिक्नै सकिएन । ‘होक सिक’ जस्तो भएको थिएँ । जर्मन प्रशिक्षक होल्गर ओभरम्यानले मलाई खुब माया गर्थे । जर्मन प्रोजेक्टमार्फत उनले नेपाली फुटबलमा प्राविधिक सल्लाहकारका रुपमा काम गरेका थिए । त्यो समयमा नेपाली फुटबल राम्रो लयमा पनि थियो । दक्षिण एसियामै उत्कृष्ट मणि शाह जस्तो खेलाडी नेपालमा हुनुहुन्थ्यो । उहाँलाई खेल्न धेरैले बोलाएका थिए तर, जानुभएन ।

****

जर्मनीमा सिकेपछि नेपाल आएर एनआरटी क्लबबाट खेल्न थालेँ । मनाङ–मर्स्याङ्दी क्लबबाट भुटानमा गोल्डकप खेल्न पनि गएको थिएँ । तर, गणेश थापा, मणि शाह जस्तो खेलाडी भएको मनाङमा अवसर पाउन सजिलो थिएन । त्यसपछि एनआरटीमा गएँ र अन्त्यमा नेपाल पुलिस क्लबमा रहेर खेलेँ ।

जागिर पनि हुने र निरन्तर अभ्यास गर्न पनि पाइने भएकाले पुलिस क्लबमा राम्रो थियो । भविश्यको चिन्ता पनि नभइ राम्ररी खेल्न पाएकाले लामो समय आफूलाई चिनाउन पाएँ । पुलिस क्लबमा हुँदा ए डिभिजन लिग जितायौँ । नेपालमा हुने कुनै पनि प्रतियोगिता जित्न बाँकी छोडेनौं । त्यो सबै सम्झँदा राम्रो गरेँ भन्ने नै लाग्छ ।

एनआरटीमा रहँदा १५ सय रुपैयाँ पाएको थिएँ । जुनबेला सबैभन्दा धेरै पैसा पाउने खेलाडी म नै बनेको थिएँ । प्रहरीमा जाँदा २७ सय रुपैयाँ तलब भयो ।

****

भारत र बंगलादेशमा गएर पनि क्लब फुटबल खेलेँ । भारतको मोहन बगान, महिन्द्रा युनाइटेड, केराल पुलिस, टलीगुन्ज अग्रगामी साथै बंगलादेशको मोहमोण्डन स्पोर्टिङ, चटगाउँ अवानी, मुक्तिजोद्धा संग्सदबाट पनि खेलेँ । मेक्सिकोको प्रेपा पुमास, प्रोटोस मार्टेबाट खेलेँ । माल्टाको जेतुन कोरिनथियन्सबाट पनि खेलेँ ।

त्यो समय नेपालमा फुटबल खेलेर बाँच्ने स्थिति थिएन । हामी ६/७ जना केही खेलाडी भाग्यमानी थियौँ र बाहिर गएर पनि खेल्न पायौँ । जसले गर्दा हामीलाई भात खान समस्या भएन । भारत, बंगलादेश, थाइल्याण्ड गएर खेलाडीहरुले बाँच्ने स्थिति बनाएका थिए ।

विदेशमा खेल्ने अवसरले पनि मलाई विदेश पलायन हुनबाट जोगायो भन्दा हुन्छ । अझ देशलाई केही गरौँ, फुटबलमा केही गरौँ भन्ने भावना पनि त्यसबाट बढेर गएको थियो ।

विदेशमा खेल्ने अवसरले पनि मलाई विदेश पलायन हुनबाट जोगायो भन्दा हुन्छ । अझ देशलाई केही गरौँ, फुटबलमा केही गरौँ भन्ने भावना पनि त्यसबाट बढेर गएको थियो । भारत, बंगलादेशमा खेलेका खेलहरुले नेपालमा आएर खेल्न अझ सजिलो बनाएको थियो ।

मलाई नेपाली फुटबलरमा मणि शाह मन पर्थ्यो भने अन्तर्राष्टिय फुटबलमा थिएरी हेनरी मन पर्छ ।

हेनरी पनि खेलाडी जीवनपछि अहिले प्रशिक्षणमा नै छन् । म खेल्ने समयमा अन्तर्राष्ट्रिय फुटबलमा हेनरी लयमा थिए । त्यसैले मलाई हेनरी असाध्यै मन पर्ने । मैले त छोराको नाम पनि हेनरी नै राखेको छुृ । छोरा १६ वर्ष भयो । अहिले ११ कक्षामा पढ्दैछ । फुटबलमा हल्का रुची त देखाउँछ तर, फुटबलर भएन । मलाई त राम्रो खेलाडी भनेको माथिबाटै बनाएर पठाएको हुन्छ कि जस्तो पो लाग्छ ।

हामी खेल्ने समयमा मानिसहरुले कसरी लिइरहेका छन् भन्ने धेरै ख्याल हुँदैन थियो । खेललाई भन्दा पनि नामलाई चिन्ने समय थियो । अहिलेसम्म पनि अनुहार देखेर भन्दा नामले चिन्छन् । ‘म हरि खड्का’ भनेपछि मात्रै ए भन्छन् ।

****

सन् १९९७ मा नेपालमा साफ च्याम्पियनसिप भएको बेला हामी नराम्ररी हारेका थियौँ । नेपाली टिमको प्रदर्शन नराम्रो भए पनि मानिसहरुले मेरो खेल याद गरेका रहेछन् । गाडीमा झापा फर्कन लाग्दा मानिसहरुले भाडा तिरिदिन खोजिरहेका थिए । घर पुगेपछि साना केटाकेटीले हरि खड्का जस्तो गोल हान्ने भन्दै खेलेको देखेँ । त्यसले मेरो पनि नाम बनिरहेको रहेछ जस्तो लागेको थियो ।

आठौँ साफपछि त समर्थकहरु बढेका थिए । धरान, पोखरातिर खेल्न जाँदा मानिसहरु राम्रो मान्थे ।

त्यस्तै कुरा त नशा बनेको हो फुटबल ।

पुलिसमा हुँदा विराटकृष्ण श्रेष्ठ दाइसँग प्रशिक्षणसम्बन्धी धेरै कुरा सिक्न पाएँ । मसँग त्यो बेला प्रशिक्षक लाइसेन्स थिएन । राष्ट्रिय टिमका लागि खेलेका खेलका आधारमा एएफसीबाट बी लाइसेन्स पाएँ । त्यसरी प्रशिक्षण जीवन सुरु भयो । डीएफबी कोर्सको लागि जर्मन गएर धेरै प्राविधिक कुरा सिकेँ ।

हुन त अहिलेसम्म पनि सिक्ने क्रममै छु । हरेक दिन हरेक मानिससँग सिक्न सकिन्छ जस्तो लाग्छ । नजानेको कुरा मेरो विद्यार्थीबाट पनि सिक्छु, त्यसमा मलाई लाज लाग्दैन । मैले सिकाएको कुरामा मसँग जवाफ हुनुपर्छ भन्ने लाग्छ । त्यसैले युट्युब हेरेर होइन, आफ्नो टिमको खेल हेरेर नै सिकाउँछु ।

****

यो सबै कुराका बीच पनि एउटा दुःखद सम्झना छ । २०६३ सालमा ए डिभिजन लिग खेलेपछि म घाइते भएको थिएँ । त्यो बेला हामीले लिग जितेका पनि थियौँ । त्यहाँ म बेस्ट प्लेयर भएको थिएँ । त्यही प्रतियोगितापछि मैले फुटबलबाट सन्न्यास लिने निर्णय गरेँ । उमेर त अझै थियो । तर, पनि घाइते भएर लामो विश्राममा बस्नुभन्दा फुटबलबाटै टाढा हुनु उचित सम्झेँ ।

त्यत्रो समय नेपाली टिमको लागि खेलेको खेलाडीको राम्ररी नै बिदाइ होला भन्ने लागेको थियो । तर, केही पनि भएन, दुःखद बिदाइ भयो । नमिठो सन्यास भनौँ । यसैले खेलाडी जीवनका ती सबै दिन सम्झन रमाइलो लाग्छ, सन्यासबाहेक ।

प्रस्तुतिः ऋग्वेद शर्मा

तस्वीर/भिडियो: शंकर गिरी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment