Comments Add Comment

पेट्रोल पम्पमा फैलिँदो ठगीः चिप्स पत्ता लागेपछि सफ्टवेयरबाट

६ मंसिर, काठमाडौं । पेट्रोल पम्पहरुले सफ्टवेयरमा नै गडबडी गरेर पेट्रोल पम्पहरुले ठगी गरिरहेको रहस्य खुलेपछि अनुगमन तीव्र पारिएको छ । बिहीबार पनि बाराको हरिओम आयल स्टोरमा यस्तै ठगीको पर्दाफास भयो । यो पम्पले प्रति ५ लिटरमा २३० एमएल तेल कम वितरण गरिरहेको तथ्य अनुगमनबाट खुलेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

विभागले अहिले झण्डै ६० वटा पम्पहरुको अनुगमन गर्दा ११ वटामा यस्तो सफ्टवेयरमार्फत ठगी भएको तथ्य फेला पारेको विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

उनले यसअघि चिप्सको प्रयोग गरेर यस्तो ठगी गर्ने क्रम प्रहरीको अपरेसनपछि त्यो विस्थापित भएको थियो । त्यसपछि पेट्रोल पम्पवालाहरुले पम्पकै सफ्टेवरमा गडबड गरेर ठग्न सुरु गरे । लिटरमा ३ देखि ५ प्रतिशतसम्म कम तेल दिएर ठगी भइरहेको तथ्य हालै मामै खुलेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखामा प्रमुख हुँदा सर्बेन्द्र खनालले पम्पका मेसिनमा चिप्स जोडेर हुने ठगीको खुलासा गरेपछि ठगीको नयाँ तरिकाका रुपमा सफ्टवेयर प्रयोग गर्ने क्रम चुलिएको देखिएको पुडासैनीले बताए ।

विभागले यो तथ्य थाहा पाएपछि गिल्बरको ब्राण्डको डिस्पेन्सर मेसिन आयात गर्न रोकेको छ । अरनिको ट्रेडर्सले आयात गर्ने मेसिनको सफ्टवेयर प्योग गरेर गडबडी गरेको पाइएपछि विभागले कम्पनीको इजाजत रद्ध गरेको छ । पुडासैनीले कम्पनीले सफ्टेवयरको ‘प्रोग्रामिङ’मै कम परिमाणमा तेल झर्ने र बढी देखाउने गरी सेटिङ गरेको देखिएको छ ।

विभागले कम्पनीको सफ्टवेयर प्रग्रामिङको अनुसन्धान गरिरहेको छ । यस्तै कम तेल दिएर उपभोक्ता ठग्ने पम्पमाथि पनि अनुसन्धान भइरहेको महानिर्देशक पुडासैनीले बताए ।

नेपाल आयल निगमले पनि गिल्बर ब्राण्डको मेशिन जडान नगर्न पम्पहरुलाई निर्देशन दिएको छ । यस्तो मेसिन देशभर ३ सयभन्दा बढी पम्पले जोडेको निगमले जनाएको छ ।

बारा, पर्सा, रौतहट, काठमाडौं, रुपन्देही लगायतका जिल्ला र क्षेत्रमा भएको अनुगमनमा यस्तो फर्जी काम गर्ने सफ्टवेयर जोडिएको भेटिएको छ ।

काठमाडौंको सानो भर्‍याङमा रहेको बंगलामुखी आयल स्टोर्स, कलैयाको विजय आयल स्टोर, अमित आयल स्टोर, मोहम्मद आयल स्टोर, श्रीशंकर आयल स्टोर र स्वस्थानी आयल स्टोर, शंकर आयल स्टोर्स र रिया आयल स्टोर्स लगायतले पनि यस्तो बदमासी गरेको भेटिएको छ ।

महानिर्देशक पुडासैनीका अनुसार केही प्रयोग नगरे पनि कम परिमाणमै तेल दिएर पनि ठगी गरेको भेटिएको बताए । विभागले अब अभियनकै रुपमा देशभरका पम्पहरुमा अनुगमन तीव्र पार्ने योजना बनाएको छ । जता अनुगमन गर्न पनि सफ्टवेयर लगाएर ठगी भइरहेको भेटिएपछि अब कारवाही अभियानलाई तीव्र पारिने पुडासैनी बताउँछन् ।

विभागले ठगी गर्ने पम्पका सञ्चालकलाई ३० हजार जरिवाना र ३ वर्षसम्मको कैद सजाय माग गर्दै अदालतमा मुद्दा चलाउने बताएको छ । अहिले विभागलाई यस्तो बदमासी गर्नेलाई सीधा १० हजार जरिवाना र एक वर्षसम्म कैद सजाय आफैंले तोक्न सक्ने अधिकार पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment