Comments Add Comment

थ्रीटारलाई हराउँदा मनाङ खुसी, रेफ्रीमाथि प्रश्न !

६ मंसिर, काठमाडौं । चिरप्रतिद्वन्द्वी थ्रीस्टारलाई पराजित गरेसँगै मनाङ मर्स्याङ्दी क्लबका प्रशिक्षक सुमन श्रेष्ठले मुख्य खेलाडीको अनुपस्थितिमै राम्रो नतिजा ल्याउन सफल भएको भन्दै खुसी व्यक्त गरे ।

तर, पराजित थ्रीस्टारका प्रशिक्षक मेघराज केसी मात्र होइन, श्रेष्ठले पनि रेफ्रीको निर्णयमाथि भने प्रश्न उठाएका छन् ।

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबार मनाङले थ्रीस्टारलाई २–१ गोलअन्तरले हराएको हो ।

जितपछि मनाङका प्रशिक्षक श्रेष्ठले योजनाअनुसार खेलाडीले खेलेको बताए । ‘हाम्रो जे योजना थियो, त्यही अनुसारको खेल भयो । सबै खेलाडीले राम्रो खेले’ उनले भने, ‘आउने खेलमा टिम सेट परिवर्तन हुनेछ ।’

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा मनाङका चार मुख्य जना खेलाडी अनुपस्थित थिए ।

मिडफिल्डर सुलज श्रेष्ठ, प्रकाश बुढाथोकी, कमल श्रेष्ठ र अफिज ओलावाले टिम बाहिर थिए । सुजल र प्रकाश घाइते छन् भने कमल र अफिजले पहेँलो कार्डका कारण खेल गुमाएका हुन् ।

खेलको ११ औं मिनेटमा नै हेमन गुरुङको पासमा अन्जान विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । त्यसको ७ मिनेटपछि नै थ्रीस्टारका गोलकिपर एलेन न्यौपानेले अगाडि बढेर बल क्लियर गर्न खोज्दा मनाङको खेलाडीलाई लागेर आत्मघाती गोल खानपुग्यो

यो उपहार गोलसँगै मनाङले अग्रता दोब्बर बनायो । मनाङले दोस्रो हाफमा पनि गोल गर्ने अवसर पाएको थियो तर सदुपयोग गर्न सकेन । थ्रीस्टारले भने खेलको ८४औं मिनेटमा पेनाल्टी पायो । पेनाल्टीबाट रञ्जित धिमालले गोल गर्दै थ्रीस्टारलाई २–१ गोलको स्थितिमा पु¥याएका थिए ।

बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि मनाङले थ्रीस्टारलाई २–१ गोलले पराजित गरेको हो ।

दुबै टिमका प्रशिक्षक भन्छन् : रेफ्री भएन

थ्रीस्टार र मनाङ नेपाली घरेलु फुटबल प्रतियोगिताको कट्टर प्रतिद्वन्द्वी हुन् । दुई टिम एक आपसमा आमनेसामने हुँदा दर्शकको बाग्लो उपस्थिति मात्र हुन्न, खेलकै दौरानमा तनाव पनि बढी नै हुन्छ ।

यो पटक पनि त्यस्तै भयो । पटक पटक खराब ट्र्याकल भए भने खेलाडीले रेफ्रीसँग विवाद पनि गरे ।

खेलपछि दुबै टिमका प्रशिक्षकले रेफ्रीमाथि नै प्रश्न उठाए । मनाङ र थ्रीस्टारको खेल फ्रिफा रेफ्री सुदिशकुमार पाण्डेले खेलाएका थिए । उनी यसअघि ए डिभिजन लिगमै आर्मी र न्युरोड टिम (एनआरटी) बीचको उद्घाटन खेलमा विवादस्पद निर्णय गरेको भन्दै विवादमा तानिएका थिए । उनलाई एन्फाले पनि यही लिगको १४औं खेलसम्म प्रतिबन्ध लगाएको थियो ।

बिहीबार ए डिभिजन लिगको १६औं खेल खेलाउने जिम्मा उनले नै पाए । तर, उनी विवादमुक्त भएनन् ।

खेलपछि दुबै टिमका प्रशिक्षक रेफ्रीमाथि खनिए । थ्रीस्टारका प्रशिक्षक केसीले भने, ‘विपक्षी खेलाडीले अजयी मार्टिन्सलाई डिबक्सभित्र पछाडिबाट त्यत्रो फल गरेको थियो । त्यो सिधै पेनाल्टी थियो । यसअघि पनि एन्फाको कारबाहीमा परेको कारण उनले सही खेलमा सहि निर्णय लिन सकेन ।’

मनाङका प्रशिक्षक श्रेष्ठले भने, ‘आजको रेफ्रीले सही निर्णय गर्न सकेनन् । नदिनु पर्ने पेनाल्टी दिइयो । रेफ्रीको गल्तीको कारण खेलाडी आवेगमा आएका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment