Comments Add Comment

आजका पत्रपत्रिकाः चिनियाँ कम्पनीलाई भारतले बेच्यो नेपालको खोला !

७ मंसिर, काठमाडौं । आज शुक्रबार, संघीय राजधानी काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषय परेका छन् । १६ जनाको ज्यान जानेगरी डडेल्धुरामा भएको बस दुर्घटनालाई आजका सबैजसो दैनिक पत्रिकाहरुले पहिलो पृष्ठमा छापेका छन् ।

डडेल्धुराको उग्रतारा भगवती मेलाबाट यात्रु लिएर डोटीतर्फ गुडेको बस बिहीबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा २६ घाइते छन् ।

सुन भरियालाई ३ वर्ष जेलसहित ४३ करोड जरिवाना गरिएको, भारतले नेपालको खोला बेचेकोदेखि परराष्ट्रमन्त्रीको विदेश मोहसम्मका खबर आजका पत्रपत्रिकामा हेडलाइन बनेका छन् ।

अन्नपूर्णले आज नेपालले एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको लेखेको छ ।

भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्यांदी–२ जलविद्युत्त आयोजनाको लाइसेन्स ११ वर्ष होल्ड गरेको थियो । त्यही आयोजना उसले अहिले ३ अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । ६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो ।

अन्नपूर्ण अगाडि लेख्छ– यो बेचबिखनलाई लगानी बोर्डले समेत स्वीकृत गरिसकेको छ । लाइसेन्स बेचेबापत प्राप्त हुने रकम भारत लैजान जीएमआरले राष्ट्र बैंकको अन्तिम स्वीकृति पाउन लागेको छ । बेचबिखनको तारतम्य नेपाल सरकारको आंशिक लगानी रहेको बुटवल पावर कम्पनीले मिलाएको हो ।

अन्नपूर्णमै परराष्ट्रमन्त्रीको विदेश मोहबारेको अर्को सामग्री पनि छ । अन्नपूर्णका अनुसार, मन्त्रालय सम्हालेको ८ महिनामा ६४ दिन त मन्त्री ज्ञवालीले विदेशमै बिताइसकेका छन् । उनी अहिले जापान भ्रमणमा छन् । यो उनको १३ औं भ्रमण हो ।

फेसबुक, यूट्युब, गुगल, इन्स्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अर्बौं रुपैयाँ आम्दानी गर्दै आएकोलाई आजका नयाँ पत्रिकाले मुख्य समाचारको रुप दिएर छापेको छ । समाचार अनुसार फेसबुकले मात्रै नेपालबाट वार्षिक १३ अर्ब रुपैयाँ लैजाने गरेको छ ।

नयाँ पत्रिका लेख्छ– वित्रापनमा नाममा सामाजिक सञ्जालले पैसाको बाडी लगेको छ । तर नियमन नहुँदा करोडौं राजस्व गुमेको छ । सामाजिक सञ्जालमा नेपाली विज्ञापनको भुक्तानी गर्न कानूनी च्यानल नै छैन ।
सुन भरियालाई तीन वर्ष जेलसहित ४३ करोड जरिवाना गरिएकोलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

तस्करीको ८८ केजी सुन बोक्ने भरियालाई अदालतले ४३ करोड बिगो जरिवानासहित ३ वर्ष जेल सजाय तोकेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडीचालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवानासहित ३ वर्ष जेल सजाय फैसला गरेको छ ।

पोखरेलको इजलासले चिनियाँ नागरिकद्वय याङ वइमिङ र पान वइमिङलाई भने जनही ४३ करोड ७० लाख रुपैयाँ जरिवानासहित ५ वर्ष कैद फैसला गरेको छ । तर यी दुवै फरार छन् । मुद्दा दायर भएका १३ जनाले भने सफाइ पाएका छन्

‘कोमाका बिरामी सुटुक्क’ शीर्षक दिएर कान्तिपुरले मुख्य समाचार लेखेको छ । समाचार अनुसार, आर्थिक लाभका लागि सतुंगलमा रहेको ओम समाज अस्पतालले परिवारलाई थाहै नदिई कतारबाट कोमाका बिरामी नेपाल ल्याउने गरेको छ ।

कान्तिपुरमै फेवातालमाथि केबलकार नबनाउनू भनेर सर्वोच्चले दिएको आदेशबारेको समाचारसँगै गाईगोरुको जन्मदर्ता पनि अब एप्सबाटै हुने भएको समाचार छ ।

नागरिकले होलसेलमा तरकारी किनेर आर्गानिक भन्दै बिक्री गर्ने गरेको बदमासीबारे मुख्य समाचार बनाएको छ भने राजधानीले सरकार र संसदीय समितिबीच द्वन्द्व बढेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment