७ मंसिर, वीरगञ्ज । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि दुर्व्यवहारमा संलग्न सशस्त्र प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरीका उच्च अधिकारीलाई टेलिफोन गरी उनले महिलाहरुमाथि दुर्व्यवहार गर्नु अराजक र अनुशासनहीन व्यवहार भएको भन्दै तत्काल कारबाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिएका हुन् ।
सशस्त्र प्रहरीका केही जवानले बिहीबार साँझ वीरगन्ज–रक्सौल नाकामा अवैध ढंगले मालसमान ओसारपसार गरेको अभियोगमा केही महिलाहरूलाई लछारपछार गर्नुका साथै निर्मम कुटपिट गरेका थिए ।
मन्त्री यादवले घटना अत्यन्त अमानवीय, अमर्यादित र आपत्तिजनक रहेको बताए । उनले भने, ‘कुनै पनि व्यक्तिको मर्यादा र आत्मसम्मानमा चोट पुग्ने गरी कानुन कार्यान्वयन गर्ने निकायले कार्बाही गर्ने कुरा सभ्य समाजका लागि बर्दासयोग्य छैन । कानुनले पनि राज्यका कुनै पनि निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीबाट यस्ता खालका अराजक गतिविधि हुने परिकल्पना गरेको छैन ।’
मन्त्री यादवले सशस्त्र प्रहरीका उच्च अधिकारीहरुले कारबाहीको आश्वासन दिएको बताए । ‘सशस्त्रका उच्च अधिकारीहरू पनि घटनालाई लिएर स्तब्ध हुनुभएको छ । उहाँहरू दोषीमाथि तत्काल कारबाही थाल्नुभएको छ, उनले भने ।
प्रतिक्रिया 4