Comments Add Comment

१८ करोडको गाडी, रोगीको अनुहारमा पाउडर !

यो साताका धेरै समाचारमध्ये परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र रक्षामन्त्री ईश्वर पोखरेलका विभागीय जिम्मेवारीका समाचारहरु राष्ट्रिय लज्जाको विषय थिए । र, तिनले नकारात्मक चर्चा पाइरहेका छन् । यसबारे सार्वजनिक छलफल आवश्यक छ ।

परराष्ट्रमन्त्री ज्ञवाली नेपालको समृद्धिबारे संसारलाई बताउन मन्त्रीहरुको विदेश भ्रमण आवश्यक भएकाले लगातार विदेश भ्रमण गरिने बताएर विदेश उडे । केही समय पहिलेका ‘विदेश भ्रमणमा कडाई’ भन्ने समाचारहरुले जनतामा सकारात्मकता सञ्चार गरेको थियो । तर, त्यो समाचार सतप्रतिशत झुट रहेछ । खास्टोले छोपेको बिरालो आखिरमा म्याउँ गरिछाड्यो ।

मन्त्री, नेता र कर्मचारीको विदेश भ्रमण जथाभावी भइरहेकै छ । पहिले झण्डावाल गाडी चढ्न, विदेश जान, सुखसुविधा प्राप्त गर्नकै लागि मन्त्री बन्नेहरुको लाइन लाग्थ्यो । अब यो लाइन केन्द्रबाट विस्तारित भएर ७ वटा प्रदेशमा पुगेको छ । यो आलेखमा नेपालले संसारले थाहा पाउन लायक के काम गरेको छ र परराष्ट्रमन्त्रीले विदेशीलाई सुनाउँदै हिँडिरहेका छन् ? त्यसबारे एकछिन विचार गरौं ।

राष्ट्रघाती प्रवृत्ति

भूकम्प गएको झण्डै ४ वर्षमा पनि पुनः निर्माणका कामहरु लथालिंग छ । वसन्तपुरमा एउटा गद्दी बैठकबाहेक कुनै सम्पदाको पुनः निर्माण भएको छैन । धरहरा र रानीपोखरीमा काम सुरु नै भएको छैन । अत्यावश्यक रहेका स्कुल र अस्पतालहरुसमेत बनेका छैनन् । जिल्लाहरुमा भत्केका जनताका घर बनेका छैनन् । लाखौं जनताले यो हिउँद पनि टहरामा कटाउनुपर्ने भएको छ ।

मलेसिया, कतार, दुवई, साउदी अरेबिया, कुवेतलगायतका देशमा गएर हाम्रा नागरिकलाई काम देउ, केही तलब बढाइदेउ भन्दै याचना गर्नेबाहेक नेपालले अर्काे हैसियत राख्दैन । आफ्ना लाखौं युवालाई ती देशमा कामका लागि पठाएपछि नेपाल हरिकंगाल रहेको जनाउ सबैले पाएकै छन्, त्यही गएर भन्नै पर्दैन । द्वीपक्षीय सम्बन्ध भएको र हाम्रा युवाहरुले ती देशको निर्माणमा रगत-पसिना बगाइरहेको कारणले उनीहरु हामीप्रति अनुग्रहित हुने नै भए ।

नेपाली युवाकै पाखुराले तिनीहरुले समृद्धिको रथ हाँकिरहेका छन् । सस्तो मूल्यमा महंगो काम गराउन पाएका छन् । त्यसैले उनीहरुले कुनै पनि कूटनीतिक वा सार्वजनिक माध्यमबाट नेपालप्रति दुर्भावना देखाउने कुरा भएन । सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता आयोजक कतारमा हजारौं नेपालीहरुले रगत पसिना बगाइरहेका छन् । बरु तिनीहरुमाथि श्रमशोषण भएको, असुरक्षित काममा लगाइएको, न्यूनतम मानवअधिकार समेत हनन् भएको जस्ता समाचार आएका छन् । त्यसबारे सत्यतथ्य पत्ता लगाउने समेत हैसियत नेपालले राख्दैन ।

जापान, युरोप, अष्ट्रेलिया वा अमेरिका पुगेर नेपालका मन्त्रीहरुले नेपालबारे केही सुनाउनै सक्दैनन् । यहाँको गरिबी, बेरोजगारी, पछौटेपन जस्ता विषयमा ती देशहरु पूर्ण जानकार छन् । ती देशले नेपालको भौतिक तथा मानवीय विकासमा करोडौं डलर सहयोग गरिरहेका छन् । हाम्रा मन्त्रीहरु ती देशमा नयाँ कुरा सुनाउन होइन माग्न जाने हुन् । माग्न जानेहरुले देशको गौरब बढाउन सक्ने कुरै भएन ।

हाम्रा नेता र कर्मचारीहरु पनि लर्काे लागेर विदेश भ्रमण गइरहन्छन् । सचिवहरुले त विदेश शयरको बढी नै अवसर आफ्नो पोल्टामा पार्छन् । तिनीहरु विदेशको भव्यता, सभ्यता, विकास सिकेर आउन होइन, अवकासपछि त्यतै जाने तयारी गरिरहेका हुन्छन् । जागिरे भएर करोडौं कमाउने अनि अवकासपछि विदेशमा गएर मस्ती गर्ने चलन व्यापक हुँदै गएको छ । यो राष्ट्रघाती प्रवृत्ति हो ।

दुई तिहाइ बहुमतको सरकारले ९ महिनामा कतिवटा उद्योग खोल्ने निर्णय गर्‍यो ? कतिवटा अस्पताल बनाइरहेको छ ? कतिवटा विश्वविद्यालयलाई पढुँपढुँ बनाउँदै लगेको छ ? कति हजार रोजगारी सिर्जना गर्न लागेको छ ? देशमा यस्ता प्रश्नहरुका जवाफ पाउन सकिने अवस्था छैन । यस्तोमा परराष्ट्रमन्त्री ज्ञवाली कुन समृद्विको बखान गर्न दर्जनौं विदेश भ्रमणको चाँजोपाँजो मिलाउँदैछन् ? त्यसमा भद्दा मजाक र पाखण्ड बाहेक अरु के छ ?

१८ करोडका गाडीको लस्कर

रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रपतिको लागि १८ करोडको गाडी खरिद प्रक्रिया नेपाली सेनामार्फत् अगाडि बढाएका छन् । मुलुकको राष्ट्रपतिलाई सुविधायुक्त गाडी चाहिन्छ । चाहिँदैन कसैले भनेको पनि छैन । तर, आवश्यकता कति हो भन्ने विचरणीय कुरा हो । अधिकांश जनता गरिब भएको देशका राष्ट्रपतिलाई त्यति ठूलो खर्च नसुहाउने कुरा हो । देशको आर्थिक हैसियत राम्रो भएको अवस्थामा त राष्ट्रपतिले अर्बकै गाडी चढे पनि जनताको टाउको दुखाइको विषय बन्दैन ।

अर्को कुरा, देशको केन्द्रीय अर्थतन्त्रका लागि १८ करोड रुपैैयाँ ठूलो कुरा होइन । तर कुरा १८ करोडको होइन, सत्ता सञ्चालकहरुको अपारदर्शी तरिका, खराब नियत, भ्रष्ट मनोवृत्ति र जनताले तिरेको करमा सुखसयल गर्ने खतरनाक प्रवृत्तिको हो । आफुले तिरेको करबाट गरिने मोजमस्तीबारे जनताले प्रश्न उठाउँछन् । अहिले त्यही प्रश्न उठिरहेको छ ।

केहीले यसलाई अघिल्लो सरकारले गरेको निर्णय भनिरहेका छन् । जबकी, यो सरकारले आउँनासाथ अघिल्लो सरकारका धेरै निर्णयहरु रद्द गर्‍यो, कैयौं नियुक्तिहरु खारेज गरेको छ । अघिल्लो सरकारको निर्णय भनेर ईश्वर पोखरेलले भन्ने ठाउँ छैन । उनले यो निर्णय मन्त्रिपरिषदबाट रद्द गराउन सक्थे, अझै सक्छन् ।

राष्ट्रपतिको सामान्य सवारी पनि धेरै विवादित बन्दै आएका छन् । सडकमा सार्बजनिक आवागमन बन्द गरेर सवारी चलाउने गरिएको छ । ‘सवारी’ राजाका लागि प्रयोग हुने शब्द हो । तर, गणतन्त्रमा पनि सामान्य व्यक्ति हिँडेको, आएको, गएको हुने तर मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिको ‘सवारी’ हुने गरेको छ । तडकभडक र सास्ति नहुने हो भने ‘सवारी’ शब्दसंगै तर्सिनुपर्ने होइन । तर, हिजो राजतन्त्र हुँदाको तडकभडकमा कत्ति पनि कमी देखिएको छैन ।

राष्ट्रपति विद्यादेवि भण्डारीमा डा. रामवरण यादवको पदचिन्ह पछ्याउने बाहेक कुनै नयाँपन देखिएको छैन । राजनीतिक निर्णय प्रक्रियामा प्रत्यक्ष सामेल नभए पनि उनले धेरै बिषयलाई सन्देशमूलक ढंगले सम्बोधन गर्न सक्छिन् । छाउपडी, बोक्सी, दाइजो जस्ता प्रथा र कुसंस्कारबाट समाज पीडित छ । त्यसका विरुद्ध कुनै महत्वपूर्ण काम गर्न सकिन्छ । सरकारले पनि महिला राष्ट्रपति भएको अवस्थामा नयाँ कार्यक्रमहरु ल्याउन सक्छ । जस्तो, डा. यादबको समयमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ल्याइएको थियो, जुन अहिले प्रभावहिन बन्दै गएको छ ।

विद्या भण्डारीले राष्ट्रपति भएपछि महिला लक्षित केहि काम गरेकी छैनन् । उनका सल्लाहकारहरुले गाडीका लस्कर भन्दा जनताको हित गर्ने १८ करोडका कुनै कार्यक्रम अगाडि सारेको भए धेरै राम्रो हुने थियो । तर, ध्यान त्यता होइन, १८ करोडका गाडी किन्ने कसरतमा लगाएको देखियो । सत्तामा पुगेकाहरुको ध्याउन्न आफ्नो सुविधामा मात्र केन्दि्रत भएपछि जनताका लागि काम गर्ने त कुरै छाडौं सोच्ने पनि फुर्सद हुन छाड्छ । अहिले राष्ट्रपतिलाई नेपाली महिला र जनताको लागि सोच्ने फुर्सद छैन । उनी १८ करोडको गाडी लाम लगाएर राजसी ठाँट देखाउन चाहन्छिन् ।

देशको राष्ट्रपतिलाई सुरक्षा र सुविधा चाहिन्छ । पूर्वराजा, पूर्वप्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई सुरक्षा र अन्य सुविधा दिइएको छ भने वर्तमान राष्ट्रपतिलाई बेवास्ता होस् भन्ने जनताको चाहना होइन । सग्लो शरीरमा रोग लाग्दा अनुहार फुङ्ग हुँदै जान्छ, लिपिस्टिक पाउडर दलेर त्यस्तो अनुहारलाई चम्किलो बनाउन सकिँदैन । अहिले १८ करोडको गाडी भनेको फुङ्ग उडेको रोगी अनुहारमा पाउडर दलेजस्तै हो ।

(पोखरेल विद्यार्थी नेता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment