News Summary
Generated by OK AI. Editorially reviewed.- मोसन सिकनेस मस्तिष्कमा संवेदनाहरूको असन्तुलनका कारण हुन्छ, जसले यात्रा गर्दा वाकवाकी गराउँछ।
- यस समस्याबाट बच्न कारको अगाडिको सिट वा बसको बीचको सिटमा बस्न र खाली पेटमा यात्रा नगर्न सिफारिश गरिएको छ।
- मोसन सिकनेस केवल बालबालिकालाई मात्र नभई सबै उमेरका मानिसलाई हुन सक्छ र यो शारीरिक प्रतिक्रिया हो।
यात्राको नाम सुन्दा कतिपय व्यक्तिको अनुहारमा खुसीको सट्टा चिन्ता छाउँछ । यो किनभने उनीहरूलाई कार वा बसमा चढ्दा वाकवाकी हुन्छ । यो समस्यालाई ‘मोसन सिकनेस’ भनिन्छ ।
मोसन सिकनेसको मुख्य कारण मस्तिष्कमा संवेदनाहरूको असन्तुलन हो । जब हामी कुनै चलिरहेको सवारी साधनमा हुन्छौं, हाम्रा आँखाहरूले स्थिर दृश्य देख्छन्, तर हाम्रा कान र शरीरका अन्य संवेदनाहरूले गति महसुस गर्छन् । यो असन्तुलनले मस्तिष्कमा भ्रम पैदा गर्छ, जसले गर्दा मोसन सिकनेस हुन्छ । साना बच्चाहरूमा प्राय: मोसन सिकनेसको जोखिम देखिन्छ, किनभने उनीहरूको मस्तिष्क र स्नायु प्रणाली विकासको क्रममा हुन्छ ।
बच्चाहरूसँगै महिलाहरूमा हार्मोनल परिवर्तनका कारण मोसन सिकनेस हुने सम्भावना बढी हुन्छ, विशेष गरी गर्भावस्थाको समयमा । यसबाहेक, माइग्रेनजस्ता रोगबाट पीडित व्यक्तिहरूमा पनि मोसन सिकनेसको जोखिम बढी हुन्छ । वृद्ध व्यक्तिहरू पनि यसबाट प्रभावित हुन सक्छन् ।
मोसन सिकनेस कुनै गम्भीर रोग होइन, तर यसले यात्राको अनुभवलाई बिगार्न सक्छ । मोसन सिकनेस एक सामान्य तर दु:ख दिने अवस्था हो, जसलाई सही जानकारी र सावधानीहरूको माध्यमबाट धेरै हदसम्म रोक्न सकिन्छ ।
यो समस्याबाट बच्न यात्रा गर्दा यी उपाय अपनाउन सकिन्छ
१.सही ठाउँमा बस्ने
कार वा बसमा बस्दा आफ्नो सिट सावधानीपूर्वक छान्ने । सबैभन्दा राम्रो ठाउँ त्यो हो जहाँ कम्ती गति महसुस हुन्छ । कारमा अगाडिको सिट र बसमा बीचको सिटलाई सबैभन्दा राम्रो मानिन्छ । साथै, झ्यालको छेउमा बस्दा पनि मोसन सिकनेसका लक्षणहरू कम गर्न मद्दत गर्छ ।
२.खाली पेटमा यात्रा नगर्ने
यात्रा गर्नुअघि हल्का खाना खानुपर्छ । खाली पेटमा यात्रा गर्दा मोसन सिकनेसका लक्षणहरू झन् बढ्न सक्छन् । यद्यपि, धेरै खानबाट पनि बच्नुपर्छ , किनकि यसले पनि वाकवाकी गराउन सक्छ । साईड वा पछाडितिर फर्केर भन्दा सकेसम्म अगाडि फर्केर बस्नुपर्छ।
३.अदुवाको सेवन गर्ने
अदुवा मोसन सिकनेसका लक्षणहरू कम गर्नमा धेरै प्रभावकारी हुन्छ । यात्रा गर्नुअघि अदुवाको चिया पिउने वा अदुवाको सानो टुक्रा चपाउने । साथै आफूसँग अदुवाको टुक्रा पनि राख्न सकिन्छ ।
४.शान्त रहने र गहिरो सास फेर्ने
यात्रामा शान्त रहनु र गहिरो सास फेर्नाले मोसन सिकनेसका लक्षणहरू कम गर्न मद्दत गर्छ । साथै, आफ्नो मनपर्ने संगीत सुन्न सकिन्छ वा कुनै शान्त ठाउँमा ध्यान केन्द्रित गर्न सकिन्छ ।
५.मोबाइल नचलाउने
यात्राको समयमा किताब पढ्ने वा मोबाइलमा गेम खेल्ने कार्यबाट बच्नुपर्छ, किनभने यसले दिमागलाई थप भ्रमित गर्न सक्छ । बरू संगीत सुन्ने वा हल्का कुराकानी गर्न सकिन्छ ।
मोसन सिकनेसबारे ५ वटा गलत धारणा
मिथक १ : मोसन सिकनेस केवल बालबालिकालाई हुन्छ ।
सत्य : यो समस्या बालबालिकामा बढी हुने भए पनि यो पूर्णरूपमा सत्य होइन कि यो केवल बालबालिकालाई मात्र हुन्छ । मोसन
सिकनेसको समस्याले हरेक उमेरका मानिसलाई प्रभावित गर्न सक्छ । विशेष गरी यदि उनीहरूको सन्तुलन प्रणाली आन्तरिक कान, आँखा र दिमागको तालमेलमा संवेदनशीलता धेरै छ भने यो समस्या हुन्छ ।
मिथक २ : यो केवल मनको भ्रम हो ।
सत्य : मोसन सिकनेस कुनै भ्रम होइन, बरु यो दिमाग र सन्तुलन प्रणालीबीच सिग्नलको मेल नखाँदा हुन्छ । यद्यपि तनाव र डरले यसलाई बढाउन सक्छ, तर यो पूर्ण रूपमा शारीरिक प्रतिक्रिया हो ।
मिथक ३ : पछाडिको सिटमा बस्दा मात्र मोसन सिकनेस हुन्छ ।
सत्य : सिटको स्थितिले असर गर्न सक्छ, तर यो एकमात्र कारण होइन । अगाडिको सिटमा बस्नेहरूलाई पनि मोसन सिकनेस हुन सक्छ, विशेष गरी यदि गाडीमा धेरै झट्का हुन्छ वा बाटो धेरै घुमाउरो छ भने ।
मिथक ४ : मोसन सिकनेस केवल बस यात्रामा हुन्छ ।
सत्य : मोसन सिकनेसको समस्या हवाईजहाज र रेलमा पनि हुन सक्छ । जब आँखा र आन्तरिक कानले प्राप्त गर्ने संकेतहरू मेल खाँदैनन्, तब यो समस्या हुन सक्छ ।
मिथक ५ : एकपटक मोसन सिकनेस भयो भने सधैँ हुन्छ ।
सत्य : यो होइन कि, एकपटक मोसन सिकनेसको समस्या भयो भने सधैँ रहन्छ । धेरैजसो मानिसहरू उमेरसँगै यो समस्याबाट मुक्त हुन्छन्, जबकि कसैमा यो कम वा धेरै हुन सक्छ । सही बानी र सावधानी अपनाएर यसको प्रभावलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।
प्रतिक्रिया 4