+
+
Shares

अर्थमन्त्री गुरुङको प्रश्न : कर भन्नेबित्तिकै व्यवसायीलाई किन रिस उठ्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ७ गते २०:०६

७ मंसिर, पोखरा । कर सप्ताहको समापनका अवसरमा शुक्रबार गण्डकी प्रदेशको पोखरामा आयोजित कार्यक्रममा व्यवसायीले सरकारलाई प्रश्न गरे, ‘हामीले तिरेको कर केमा खर्च हुन्छ ? सरकारले बेला–बेलामा व्यवसायीलाई मर्का पर्ने गरी कर नीति बनाउने गरेको व्यवसायीको गुनासो थियो ।

त्यसको जवाफमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ कडै रुपमा प्रस्तुत भए । ‘कर भन्ने बित्तिकै किन व्यवसायीलाई रिस उठ्छ ? कर तिर्ने विषय उठ्नेबित्तिकै किन नकारात्मक टिप्पणी हुन्छ ?’ अर्थमन्त्री गुरुङले प्रश्न गरे, ‘जनताले तिरेको कर सरकारले जनतामै नलगाएको भए के व्यवसायीले ब्यापार गर्न सक्थे ?’

अर्थमन्त्री गुरुङले जनताले तिरको कर प्रत्यक्ष–अप्रत्यक्ष जनताकै हितमा खर्च भइरहेको बताए । ‘सरकारले जनताले तिरेको करबाटै स्वास्थ्य, शिक्षामा लगानी गरेको छ । बाटो, बिजुलीमा लगानी गरेको छ । अहिले अनकन्टार ठाउँमा पनि सडक र बिजुली पुगेका छन् । त्यो सबै करबाटै भएको त हो नि,’ अर्थमन्त्री गुरुङले भने, ‘ए हामीले तिरेको करबाट नेताले गाडी चढेका छन्, तलब खाएका छन्, विदेश घुमेका छन् भनेर रोइलोमात्रै गरेर हुँदैन ।’

कर सबैले बुझाउनु पर्ने र आम्दानी गर्छ तर कर बुझाउँदैन भने त्यो देशको नागरिक हुन नसक्ने अर्थमन्त्री गुरुङको भनाइ थियो । वित्तीय साक्षरता बढाउँदै सबैलाई करको दायरामा ल्याएपछि मात्रै देश समृद्ध हुन सक्ने अर्थमन्त्री गुरुङले भने ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले करको दायरा नबढाउने तर तिर्ने व्यवसायीकै पुच्छर निमोठ्ने काम भएको बताए ।

गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ भट्टराईले जनताले तिरेको कर कहाँ खर्च हुन्छ भन्ने कुरा राज्यले बुझाउनुपर्ने बताए । आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले उसले कर तिरेको छैन म पनि तिर्दिन भन्न नपाइने तर करको दायरा बढाउन सहयोग गर्न आग्रह गरे ।

यसवर्ष स्याङ्जाको सूर्योदय लघुवित्त संस्थासँगै पोखराको फेवासिटी हस्पिटल आन्तरिक राजस्व कार्यालयको उत्कृष्ट करदाता घोषित भएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सूर्योदयका अध्यक्ष गुणाखर र फेवासिटीका अध्यक्ष त्रिभुवनलाई दोसल्ला, सम्मानपत्रले सम्मान गरे ।

साना उद्यमीका साथी सूर्योदय : ३१ हजार सदस्य, १ अर्ब लगानी

स्याङ्जाको सूर्योदय लघुवित्त वित्तीय संस्था लगातार २ वर्षसम्म असल करदाता बनेको हो । सुरुमा ७ समूह बनाएर विना धितो लगानी गर्दै कारोबार थालेको सूर्योदय अहिले साना किसान र उद्यमीको साथीमात्रै बनेन, यस क्षेत्रकै उत्कृष्ट करदाता बनेको हो ।

७ समूहका ७० जना साना किसान तथा उद्यमीलाई साथमा लिएर २ करोड रुपैयाँ लगानी गरेको यो वित्तीय संस्था अहिले स्याङ्जाबाट २३ जिल्लामा पुगेको छ । साना किसान र उद्यमीको मन ३१ हजार सदस्य यसमा आवद्ध छन् । आर्थिक हिसाबले कमजोर तर उद्यम गर्न चाहने साना किसान र उद्यमीलाई लगानी गर्ने यो संस्थाले चुक्ता पुँजी १० करोड ७९ लाख १९ हजार पुर्‍याएको छ ।

साना व्यवसायी तथा किसानको समूहले ३ लाख रुपैयाँसम्म विना धितो ऋण पाउने भएकाले पनि यसप्रति आकर्षण बढेको बताउँछन्, अध्यक्ष गुणाखर सापकोटा । ‘हामीले साना व्यवसायी र किसानलाई लगानी गर्दै आएका छौं,’ उनले भने, ‘बिना धितो सानो तर सामूहिक लगानी गरेर थुप्रै समूहको आर्थिक हैसियत उकासिएको छ ।’

सूर्योदयले १० जनाको समूह बनाएर प्रति समूह २० हजारदेखि ३ लाख रुपैयाँसम्म लगानी गर्ने गरेको छ । व्यक्तिगत रुपमा बिनाधितो लगानी लिन नपाइने तर धितो राखेर भने व्यक्तिलाई पनि लगानी गरिने सापकोटाले बताए ।

सूर्योदयले ५५ प्रतिशत लगानी कृषि क्षेत्रमा गरेको छ भने २२ प्रतिशत साना व्यवसायमा लगानी गरेको छ । सूर्योदयले लगानीको क्षेत्र र रकम पनि बढाउँदै लगेको छ । अहिले १ अर्ब १ करोड रुपैयाँ लगानी गरेको प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनीले जानकारी दिए ।

गण्डकी र प्रदेश ५ का सबै जिल्ला साथमा प्रदेश ६ को सल्यानमा समेत गरी सूर्योदयका ८४ वटा शाखा छ । ५ करोडभन्दा बढी मुनाफा गरेको र १ करोडभन्दा बढी राजस्व बुझाएको सूर्योदय आन्तरिक राजस्व कार्यालय पोखराबाट यो वर्ष पनि उत्कृष्ट करदाता बनेको अध्यक्ष सापकोटा बताउँछन् ।

‘साना किसान र व्यवसायीको साथी हौं । प्रशासनिक पक्ष राम्रो छ, नियमित कर बुझाउँछौं,’ उनी भन्छन्, ‘त्यसैले लगातार २ वर्ष उत्कृष्ट करदाता हुन सफल भयौं ।’

फेवा सिटी अस्पताल पनि उत्कृष्ट करदाता

सूर्योदयसँगै यस वर्ष पोखराको फेवासिटी हस्पिटल पनि उत्कृष्ट करदाता बनेको छ । २५ शैड्ढ्याबाट सेवा थालेको अस्पिटलले अहिले १ सय शैय््याबाट सेवा दिइरहेको छ । २०५७ सालमा विशेषज्ञ सेवासहित सुरु भएको यो हस्पिटल सेवाग्राहीको विश्वास र प्रोत्साहनकै कारण उत्कृष्ट करदाता बनेको अध्यक्ष त्रिभुवन पराजुली बताउँछन् ।

‘सबैखाले विशेषज्ञ उपचार, मेसिनबाट अप्रेसन र अनुभवी तथा नाम कमाएका डाक्टरका कारण अस्पतालमा बिरामीको विश्वास छ,’ अध्यक्ष पराजुलीले भने, ‘सबैले असल हिसाबले करतिरे देश पनि बन्ने र आफूलाई प्रोत्साहन पनि मिल्छ ।’

पोखरामा शुक्रबार विविध कार्यक्रम गर्दै कर सप्ताहको समापन गरिएको छ । पहिले १० जिल्लामा कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालयमा झण्डै ८३ हजार करदाता थिए ।

यसै वर्षदेखि लमजुङ, मनाङ, गोरखा र तनहुँ हेर्ने गरी दमौलीमा आन्तरिक राजस्व कार्यालय खुलेको छ । पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ हेर्ने गरी बागलुङमा पनि अर्को आन्तरिक राजस्व कार्यालय खुलेपछि पोखराको कार्यलयको कार्यक्षेत्र कास्की र स्याङ्जामात्र छ । कास्की र स्याङ्जामा अहिले जम्मा ३८ हजार ४ सय करदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?