Comments Add Comment

सरकार चलाउनेकै छोराले बलात्कार गरेको विप्लवका प्रवक्ताको ठोकुवा

९ मंसिर, काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अर्को टि्वस्ट आएको छ । शनिबार राजधानीमा शक्ति प्रदर्शन गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले यो घटनामा सरकार सञ्चालन गरेर बसेका व्यक्तिकै छोराको संलग्नता रहेको ठोकुवा गरेका छन् ।

सार्वजनिक आमसभास्थलबाटै प्रवक्ता प्रकाण्डले हत्यारा सरकार सञ्चालककै छोराछोरी भएको मात्र दाबी गरेनन्, उनले अब आफ्नै पार्टीले हत्याको अनुसन्धान गरेर बलात्कारी र हत्यारालाई कारवाही समेत गर्ने बताए ।

विभिन्न हिंसात्मक कारवाहीहरु गर्दै आएको विप्लव समूहले हत्यारालाई कारवाहीको धम्की दिएको र त्यसमा सरकार सञ्चालकलै सन्तानको संलग्नता रहेको बताएपछि नेताका छोराछोरीमाथि सुरक्षा चिन्ता थपिएको छ ।

के भने प्रकाण्डले ?

राजधानीमा आयोजित विरोध सभामा बोल्दै शनिबार प्रकाण्डले भने- ‘यो सरकार न अपराधीलाई पत्ता लगाउन सक्छ, न त यसलाई कारवाही गर्न सक्छ । यसले के प्रष्ट गर्छ भन्दा सरकार नै निर्मला पन्तको हत्या र बलात्कारका घटनामा संलग्न छ भन्ने कुरा प्रष्ट हुन्छ ।’

उनले अगाडि भने- ‘सरकारका मान्छेहरु नै, सरकार चलाइराखेका मान्छेका छोराछोरी नै  निर्मला पन्तको हत्या र बलात्कारमा संलग्न छन् भन्ने प्रष्ट हुन्छ । नत्र राज्य लागेपछि एउटा बलात्कारीलाई समात्न सकिँदैन ? एउटा हत्यारालाई समात्न सकिँदैन ?’

विश्वकर्माले अब आफ्नो पार्टीले हत्यारालाई समातेर कारवाही गर्ने बताउँदै भने- ‘हाम्रो पार्टीले अपराधीको अनुसन्धान गर्छ । हाम्रो पार्टीले अपराधी पत्ता लाउँछ र यो सरकारका अगाडि, जनताका वीचमा ल्याएर निर्मलाको हत्या र बलात्कार गर्ने अपराधीलाई कारवाही गर्नेछ ।’

अनुसन्धानका क्रममा घटनास्थल आसपासका सीसी क्यामेराका फुटेजहरु डिलिट गरिएको भनिएकोमा त्यसको रिकभर गर्न काठमाडौं ल्याइएकोमा अहिलेसम्म त्यसलाई गुपचुप राखिएको छ । सो फुटेजमा केही भीआइपीका सन्तान पनि देखिएको चर्चा चलेको थियो । सायद त्यसैका आधारमा पूर्वमन्त्री खड्गबहादुर बिकले बलात्कार र हत्याका घटनामा सरकार सञ्चालकका छोराछोरीको संलग्नता रहेको बताएका हुन सक्छन् ।

यो पनि पढ्नुहोस विप्लवका प्रवक्ता भन्छन्- निर्मलाका हत्यारालाई हामी कारबाही गर्छौं

ओलीले भ्रष्टाचार देखेनन्, रविन्द्र अधिकारीको ‘पाखण्ड’ कहाँ गयो ?

सभामा प्रकाण्डले ओली सरकार भ्रष्टाचारमा डुबेको र मन्त्रीहरु भ्रष्टाचारमा तल्लीन रहेको आरोप लगाएका थिए । उनले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई ‘पाखण्डी’ को संज्ञा दिए भने प्रचण्डकी बुहारीसमेत रहेकी खानेपानी मन्त्री विना मगरको नाम नलिई उनको मन्त्रालयले मेलम्चीमा अनियमितता गरिरहेको बताए ।

‘सरकारका मन्त्रीहरुको काम भनेको भ्रष्टाचार र कमिसनको लक्ष राखेर प्रोजेक्ट बनाउने छ । अहिले देशको अर्थतन्त्र चौपट भएको छ । दलाल पुँजीपत वर्गाको बिगबिगी छ,’ बिकले भने,’हिजोका भुईँफुट्टा मान्छेहरु अहिले रातारात करोडपति भएका छन् । हिजोका भुइँफुट्टा नेताहरु रातारात अरबपति भएका छन् ।’

बिकले प्रधानमन्त्री ओलीको नाम लिँदै भनेे- ‘ओलीजी समृद्धिको कुरा गरिराख्नुभएको छ, सायद कि त ओलीजीले देख्नुभएको छैन, कि त बुझ पचाइरहनुभएको छ । नदेख्याजस्तो गर्नुभएको छ । कि त उहाँ केही पनि गर्न सक्नुहुँदैन ।’

उनले प्रश्न गरे- ‘भ्रष्टाचार भएको ओलीजीलाई थाहा छ कि छैन ? रविन्द्र अधिकारी युवा नेता, देशको विकास गर्छु भन्ने पाखण्ड कता गयो ? दशैंमा मेलम्चीको पानी खुवाउँछु भनेर मन्त्रीले भनिराखेका थिए, के भएको छ अहिले ?’

०४६ को अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी ल्याउने बताए पनि अहिलेसम्म काम नभएको बताउँदै बिकले भने- ‘काठमाडौंबासीले अझै २/३ वर्ष पानी खान पाउने स्थिति छैन । समय लम्ब्याउँदै, बजेट थप्दै भ्रष्टाचारको खेल भइरहेको छ ।’

विद्रोही माओवादी नेता बिकले देशका उद्योगी व्यवसायीहरुलाई आफूले भेटेर कुरा गर्दा उनीहरुले गुनासो सुनाउने गरेको बताए । उनले भने- ‘देशको आर्थिक अवस्था चौपट भएको छ । देशका उद्योगी व्यवसायी टाट पल्टिएका छन् । सडक छाप भएका छन् ।’

सरकारलाई उनले प्रश्न गरे- ‘कहाँबाट आउँछ समृद्धि ? ओलीको घरबाट आउँछ भने त केही छैन । ओलीजीका बुबाको चिहानबाट जन्मन्छ भने त त्यो त हामीले भन्न सक्दैनौं । नत्र समृद्धि नेपाली जनतालाई बेवकुफ बनाउने नाराबाहेक यो सरकारको केही पनि छैन ।’

विवेकशील साझाका नेताले मागे गृहमन्त्रीको राजीनामा

यसवीच निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेका कारण गृहमन्त्री रामबहादुर थापा बादलले राजीनामा दिनुपर्ने विवेकशील साझा पार्टीका नेता उज्जवल थापाले माग गरेका छन् ।

थापाले टि्वट गर्दै भनेका छन्- ‘निर्मला पन्तको केसलाई लिएर नैतिकताका आधारैमा पनि गृहमन्त्रीले किन राजिनामा नदिने ?’

गत साउन १० गते कञ्चनपुरमा साथीका घरमा गएका बेला बेपत्ता बनाएर बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले अहिलेसम्म न्याय पाउन सकेको छैन । अपराधी पक्राउ नपर्दा सरकारमाथि चौतर्फी दबाव बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment