काठमाडौं । सन् २०१४ मा आइफोन सिक्स लञ्च गर्दा एप्पलले तत्कालीन अवस्थामा विद्यमान आइफोनको डिजाइनमा आमूल परिवर्तन ल्याएको थियो । अर्को महत्वपूर्ण परिवर्तन चाहीँ गत वर्ष देखापर्यो, जब एप्पलले आइफोन एक्स बजारमा ल्यायो ।
अब चाहीँ एप्पलले आइफोनको डिजाइनमा अर्को महत्वपूर्ण परिवर्तन गर्ने संकेत गरेको छ । एप्पलले दर्ता गरेको पेटेन्ट डिजाइनबाट यस्तो खुलासा भएको हो । नयाँ डिजाइनलाई आधार मान्ने हो भने एप्पलको भविष्यमा आउने नयाँ आइफोन यस्तो हुनेछ कि त्यसलाई कसरी र कुन एंगलबाट हेरिन्छ भन्ने आधारमा त्यसको लुक्स फरक हुनेछ ।
माई स्मार्ट प्राइस नामक साइटले प्राप्त गरेको एप्पलको नयाँ पेटेन्ट डिजाइनको खबरअनुसार एप्पलले आइफोनमा यस्तो मेटेरियल प्रयोग गर्नेछ जुन मेटेरियलको रङ फरक-फरक कोणबाट हेर्दा फरक-फरक देखिन्छ ।
सर्फेस फिनिसिङ नामक उक्त पेटेन्टअनुसार आइफोनको बाहिरी काँचको खोलभन्दा भित्रपट्टि त्यो युनिक मेटेरियल रहनेछ । जसका कारण आइफोनलाई फरक-फरक कोणबाट हेर्दा भिन्न-भिन्न रङ देखिनेछ । यसका लागि कम्प्युटर न्युमेरिकल कन्ट्रोल्ड मिलिङ्ग प्रविधिको प्रयोग गरिनेछ जसले यस्तो सतह तयार गर्नेछ, जुन परावर्तन भई विभिन्न रङमा देखा पर्नेछ ।
एप्पलको यो तयारीलाई चिनियाँ स्मार्टफोनको नक्कल भनिएको छ । किनकी चिनियाँ स्मार्टफोन कम्पनी हुवावे, वन प्लस, ओप्पो तथा भिभोले यसअघि नै यस्ता बहुरंगी स्मार्टफोन बजारमा ल्याइसकेका छन् । विभिन्न रङमा आइफोन उत्पादन गरेतापनि एप्पलले अहिलेसम्म एउटै आइफोनको सतह यस्तो बहुरंगी देखिने प्रविधि अहिलेसम्म प्रयोग गरेको थिएन ।
पछिल्लो समय आफ्ना नयाँ आइफोनको बिक्रीमा सिथिलता बेहोरिरहेको एप्पल चिनियाँ स्मार्टफोनको नक्कल गर्ने अवस्थामा पुगिसकेको टिप्पणी कतिपयले गरेका छन् । समाचार अनुसार एप्पलले आफ्ना पछिल्ला आइफोनको उत्पादन कटौति मात्र होइन जापानमा आइफोन एक्स आरको मूल्य समेत कटौति गर्ने तयारी गरेको छ ।
काउन्टर प्वाइन्टको पछिल्लो रिपोर्ट अनुसार सन् २०१८ को तेश्रो त्रैमासिकमा विश्वमा सबैभन्दा धेरै बिक्री भएका स्मार्टफोनको सूचीमा एप्पलको आइफोन तेश्रो स्थानमा छ । पहिलो स्थानमा सामसुङ रहँदा दोश्रो स्थान चिनियाँ ब्राण्ड हुवावेले कब्जा गरेको छ । स्मार्टफोन बजारमा सामसुङ र हुवावेको हिस्सा क्रमशः १९ र १४ प्रतिशत रहँदा एप्पल १२ प्रतिशतमा खुम्चिन पुगेको रिपोर्टले देखाएको छ ।
– एजेन्सी
प्रतिक्रिया 4