Comments Add Comment

रिटायर्ड हुनुहोस् तर टायर्ड होइन, साठी कटेसी यसरी रमाउने

तपाईका घरमा बुढापाका छन् ? बुवाको उमेर कति भयो ? आमा कति बर्ष पुग्नुभयो ? हजुरआमा-हजुरवा छन् ?

बुबा-आमाले आफ्नो कामबाट अवकास लिने तर्खरमा होलान् । कतिले लिइसके होलान् । हजुरबा, हजुरआमालाई बुढ्यौली छोपिसकेको होला । घरमा उनीहरु के गर्दै बस्छन् ? उनीहरु दिन कटाउँछन् कि बिताउँछन् ?

कतिपय बुढापाकाहरु पट्यारलाग्दो दिन गुजारिरहेका हुन्छन् । उनीहरु एक्लो हुन्छन् । उराठ हुन्छन् । निरास हुन्छन् । उनीहरुसँग भेटघाट गर्ने, कुराकानी गर्ने, रमाइलो गर्ने रहर त हुन्छ, तर कसले साथ दिने ?

त्यस्तै कतिपय बुढापाका हुन्छन्, जो निकै सक्रिय र लोभलाग्दो समय व्यतित गरेरहेका हुन्छन् । उनीहरुमा उस्तै उमंगका साथ दिनचर्या विताइरहेका हुन्छन् । कति त यतिसम्म रसिक हुन्छन् कि, उनीहरु युवाहरु भन्दा कम फुर्तिला, जाँगरिला र जोशिला हुँदैनन् । उत्तिकै हासिमजाक, ख्यालठट्टा, रमाइलो गर्दै जीवनका उत्तरार्द्धलाई सार्थक बनाइरहेका हुन्छन् ।

उमेर बढ्दै गएपछि बुढो भइन्छ । बुढो हुनु एक प्राकृतिक प्रक्रिया हो । बालक, किशोर, युवा, वयस्क हुँदै बुढ्यौलीको चक्रमा हाम्रो जीवनले फन्को मार्छ ।

बुढ्यौलीः एक नियमित चक्र

जतिबेला हामी किशोर हुन्छौं, अनेकौ चञ्चल सपनाको उठान भरेर रमाउँछौं । युवाकालमा हामीसँग जोश, जाँगर, शक्ति हुन्छ । त्यही अनुसार जीवनलाई झरिलो-भरिलो बनाएर बिताउँछौं । वयस्कमा हामी घरगृहस्थीमा लागिसकेका हुन्छौं । जीवनलाई फरक आयमबाट डोहोर्‍याउनतर्फ लाग्छौं । जब उमेर ढल्कदै जान्छ, हामी आफ्नो कामबाट अवकास लिन्छौं । मूल कर्म पन्छाएर बुढ्यौली बिताउनतर्फ लाग्छौं ।

तर, कामबाट अवकास लिइसकेपछि, पाको भइसकेपछि के निस्त्रिmय नै हुनुपर्छ ? के त्यो अवस्थामा हामीसँग उत्साह, उमंग बाँकी रहँदैन ?

झरिलो-भरिलो बुढ्यौली

उमेर ढल्कदै गएपनि हामी उहि उत्साहका साथ जीवन व्यतित गर्न सक्छौं, जो वैशालु उमेरमा गरिन्थ्यो । किनभने हामीसँग नयाँ केही गर्नका लागि अझेपनि समय हुन्छ । हामी सम्पूर्ण रुपमा रित्तिएका हुँदैनौ । बरु, विगतले हामीलाई थप परिपक्क बनाएको हुन्छ । विगतले हामीमा अनुभव र अनुभूतिहरु दिएका हुन्छन् । तिनै अनुभव, तिनै ज्ञानको टेकोमा हामीले आफ्नो बुढ्यौली उमेरलाई झरिलो-भरिलो बनाउन सक्छौं ।

हामी भन्छौं, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ बुढापाकाहरुसँग बर्षौं, बर्षको अनुभव हुन्छ । खास ज्ञान हुन्छ । उनीहरु आफैमा एक खुला विश्वविद्यालय हुन् । उनीहरुको सामिप्यताबाट हामीले जीवनका अनमोल पाठ सिक्न सक्छौं ।

त्यसैले बुढापाकाले अवकासपछिको समय आफ्ना छोराछोरी, नाती-नातिनी आदिसँग आफुले जीवनमा भोगेका, देखेका कुराहरु सेयर गर्न सक्छन् । यसले एकातिर समयको सदुपयोग हुन्छ भने, भावी पुस्ताका लागि ज्ञान हस्तान्तरण पनि ।

साठी बर्षपछि कसरी जीवनमा उमंग भर्ने ?

नेपालीको औसत आयु ७० बर्षभन्दा माथि उक्लिएको छ । यद्यपी ५५ वा ६० बर्षपछि धेरैले आफ्नो सक्रिय जीवनबाट अवकास लिइसकेका हुन्छन् । जागिरेहरुले जागिरबाट अवकास लिन्छन्, व्यवसायीहरु पनि क्रमस निस्त्रिmय हुँदै जान्छन् । के साठी बर्षको उमेरपछि जीवनलाई उमंगमय बनाउन सकिदैन ?

यो प्रश्न कतिलाई अव्यवहारिक लाग्छ । तर, असंभव कुरा होइन । बुढ्यौली उमेरलाई पनि हामी हासीखुसी वा उत्साहजनक ढंगले विताउन सक्छौं । यसका लागि केवल मनमा सकारात्मक उर्जा जगाउनु जरुरी छ । नयाँ काम गर्नुहोस्, घुमफिरमा निस्कनुहोस्, पुस्तक पढ्नुहोस्, साथीहरु बनाउनुहोस् । विकल्प अनेक छन् ।

बुढ्यौली भएर के भो र ? कुनै नयाँ काम गर्ने योजना बुन्नुहोस् । त्यही योजना पुरा गर्नका लागि तल्लिन हुनुहोस् । तपाईसँग अनुभव हुन्छ । परिपक्कता हुन्छ । त्यसैको आडमा कुनैपनि काम सम्पन्न गर्नका लागि लागिपर्नुहोस् । यसले तपाईलाई सक्रिय त बनाउँछ नै रचनात्मक पनि ।

अझ त्यो काम रोज्नुहोस्, जो तपाईले युवा उमेरमा चाहेर पनि गर्न पाउनुभएको थिएन । त्यसबेला तपाईसँग समय थिएन । अहिले समय छ । यही बेला आफ्ना इच्छा अनुरुपको काम सम्पन्न गर्ने प्रयास गर्नुहोस् ।

अवकासप्राप्त व्यक्तिहरु सोच्दा हुन्, अब गर्नका लागि केही बाँकी छैन । जबकी यो सत्य होइन । जब बिहान ओछ्यान छाड्नुहुन्छ, तब दिनभरका लागि केही गर्ने संकल्प गर्नुहोस् । सक्रिय दिनचर्याले तपाईको स्वास्थ्यलाई लाभ मिल्छ । चिन्ता, तनाव वा उदासीबाट मुक्त हुनुहुनेछ ।

नयाँ पुस्तालाई ज्ञान दिनुहोस् । उनीहरुसँग अनुभव आदनप्रदान गर्नुहोस् । युवाहरुसँग मिलेर केही रचनात्मक काम गर्ने सोंच पनि त बनाउन सकिन्छ ।

मनलाई सधै युवा अवस्थामा राख्नुहोस् । उस्तै जवान रहेको ठान्नुहोस् । स्वस्थ्य मनले शरीरलाई हौसला दिन्छ । यसले तपाईमा उत्साह र उमंग कमी हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment