Comments Add Comment

नगरवासीको करबाट त्रिविको आंगिक क्याम्पस सञ्चालन

९ मंसिर, चितवन । चितवनको खैरहनी नगरपालिकाले स्थानीयवासीबाट करका रुपमा उठाएको रकम त्रिविको आंगिक क्याम्पस सञ्चालनका लागि दिदैं आएको छ ।

गत आर्थिक वर्षमा ३० लाख रकम नगरपालिकाले ‘रामपुर कृषि क्याम्पस’का नाममा खैरहनीमा सञ्चालनमा ल्याइएको आंगिक क्याम्पसका लागि दिएको थियो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा पनि ३० लाख रकम क्याम्पसका लागि खर्च गर्न छुट्टाएको छ ।

नगरपालिकाले दिएको रकम क्याम्पसले शिक्षकहरुको आवास, भत्ता, विद्यार्थीहरुको फर्निचरलगायतका पूर्वाधारमा खर्च गरेको छ ।

नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम शर्माले क्याम्पसको फर्निचर खरिद, ल्याव निर्माण, झया्लढोका निर्माण र व्यवस्थापनका लागि सहमति अनुसार रकम दिएको बताए ।

उनले सधै भरी नगरपालिकाले रकम नदिने बताए । त्रिविका देशभर ६० भन्दा बढि आंगिक क्याम्पस छन् ।

वाषिर्क अरवौंको वजेट खेलाउने त्रिविले स्थानीय तहहरुलाई आंगिक क्याम्पस सञ्चालन गर्ने नाममा भार बोकाउँदै आएको छ ।

त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँको गृह क्षेत्र भएको कारण पनि खैरहनीमा त्रिविले आंगिक क्याम्पस चलाएको हो ।

खैरहनी कै भूताहा भन्ने स्थानमा जग्गा पाएको आंगिक क्याम्पसले भवनको डिपिआर निर्माण लगायतका काम गरेको छ । ‘त्रिविले कृषि क्याम्पस अन्यत्रैं लैजाने तयारी गरेपछि हामीले नगरपालिकाले वजेटसहित व्यवस्थापन गर्छौ भनेर ल्याउन सफल भयौं,’ खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले भने, ‘विद्यालयको भवन मिलाइदिनेदेखी वजेट दिनेसम्मका काम गर्ने प्रतिवद्धता पछि बल्ल क्याम्पस खुल्यो ।’

मेयर चौधरीले प्रतिवद्धता अनुसार नगरपालिकाले रकम दिएको बताए । उनले आगामी वर्षबाट क्याम्पसका लागि भनेर जनतासँग उठाएको रकम नदिने जनाए ।

त्रिभुुवन विश्वविद्यालय चालु आर्थिक बर्षका रु २१ अर्ब १० करोड ८० लाख १३ हजारको वजेट पारित गरेको छ ।

यतिको वजेट बनाएको त्रिविले देशका कतिपय स्थानीय तहलाई पनि दुःख दिदै आएको छ ।

त्रिविले भरतपुर महानगरपालिकासँग पनि मिलेर कृषि तथा वनविज्ञान विश्वविद्यालय भित्र पाउने जग्गामा इन्जिनियर कलेज सञ्चालन गर्ने कार्यक्रम बनाएको छ । त्यसलाई महानगरपालिको पनि आफ्नो कार्यक्रम भित्र राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment