Comments Add Comment

सेनाको हतियार देखाएर फास्ट ट्रयाक बन्छ ?

९ कात्तिक, काठमाडौं । आइतबार राज्य व्यवस्था समितिमा नेपाल कम्युनिस्ट पार्टीका सांसद कृष्णगोपाल श्रेष्ठले फास्ट ट्रयाकमा नेपाली सेना देखाएर सर्वसाधारणलाई तर्साउने काम भएको बताए ।

‘जहाँ पनि आर्मीलाई तेर्स्याउने, रानीपोखरीमा आर्मीलाई तेस्र्याउने ? जम्मै ठाउँमा आर्मी, आर्मीलाई देखाएर गर्न खोजेको के ?’ उनले बैठकमा आक्रोश पोखे । ‘फास्ट ट्रयाकमा पनि आर्मी, हतियार बोकेर तर्साएर फास्ट ट्रयाक बन्छ ?

सरकारले काठमाडौं तराई फास्ट ट्रयाक निमार्णको जिम्मेवारी नेपाली सेनालाई दिएको छ । आर्मीले धमाधम काम गरिरहेको अवस्थामा ललितपुरको खोकनाका स्थानीय वासिन्दाले विकासका नाममा ऐतिहासिक सांस्कृतिक धरोहर मास्न नहुने माग राखेका आएका छन् । उचित मुआब्जासमेत नपाएको उनीहरुको गुनासो छ ।

यसैलाई जोडेर नेता श्रेष्ठले आइतबार संसदको राज्य व्यवस्था समितिमा खोकनाको सट्टा फसीडोलको बाटो प्रयोग गर्न सकिने स्थानीयको सुझाव उचित रहेको बताए । स्थानीयहरुको समेत सहमतिमा फसिडोलबाट बाटो जाने सहमति भइसकेको उल्लेख गर्दै त्यसबारे समितिले आवश्यक निर्णय गर्नुपर्नेमा जोड दिए ।

त्यसमा स्थानीय जनप्रतिनिधिहरु पम्फा भुसाललगायत सहमत भइसकेको अवस्थामा हतियार बोकेर स्थानीयलाई तर्साएर आयोजना निमार्णको काम अगाडि बढाउन खोजिएको भन्दै नेता श्रेष्ठले आपत्ति जनाएका हुन् । ‘हतियार देखाएर, तर्साएर गर्छु भन्ने हुँदैन’, उनले भने ।

खोकना र बुङ्मतीका जनता विकासविरोधी नभएको उल्लेख गर्दै नेता श्रेष्ठले न्यायोचित र जायज मुआब्जा स्थानीयले पाउनुपर्ने बताए ।

यसअघि राज्य व्यवस्था समितिले स्थलगत अध्ययन गरेको थियो भने, निमार्णका सन्दर्भमा आर्मीको हेडक्वार्टरमै पुगेर ब्रिफिङ लिएको थियो ।

सांसद मिना पाण्डेले रक्षामन्त्री र नेपाली सेनासँग त्यसबारे छलफल गर्नुपर्ने बताएकी थिइन् । सांसदहरु दिलेन्द्र प्रसाद बडु, नवराज सिलवाल, रेखा शर्मालगायतले सम्बन्धित पक्षसँग पहिले छलफल हुनुपर्नेमा जोड दिएका थिए ।

राज्य व्यवस्था समितिले सोमबार खोकना र बुङ्मतीका स्थानीयको मागका सम्बन्धमा निवेदन दिएका पक्षलाई छलफलमा बोलाएको छ । सरोकारवालाको पक्षको कुरा सुनेपछि आवश्यकताका आधारमा रक्षामन्त्री वा आर्मीसँग छलफल गरिने सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment