Comments Add Comment

लाइफ स्किल: घरको सानोतिनो कामको लागि किन अरुको भर ?

मानौं घरमा बिजुलीको स्विच जोड्नुपर्ने भयो । कुनै इलेक्ट्रिशियनलाई फोन गर्नुहुन्छ ।

मानौं, भान्साको वाश बेसिनको पाइपमा समस्या भयो । कुनै प्लम्बरलाई डाक्नुहुन्छ ।

मानौं, बगैंचाको बुट्यानलाई काटछाँट गर्नुपर्ने भयो । कुनै नर्सरीका मालीसँग सम्पर्क गर्नुहुन्छ ।

मानौं, सोफामा किला ठोक्नुपर्ने भयो । कार्पेन्टरलाई गुहार्नुहुन्छ ।

अब आफै मूल्यांकन गर्नुहोस्, कति सामान्य कामका लागि पनि तपाईले अरुको भर पर्नुपर्छ । कतिसम्म भने, बिजुलीको बल्व फेर्न समेत अरुलाई गुहार्ने हाम्रो प्रवृत्ति छ । यसले एकातिर हाम्रो समय त नष्ट गर्छ नै अर्कोतिर खर्च पनि बढाउँछ ।

अब सोच्नुहोस् त, के यति सामान्य काम तपाई आफै गर्न सक्नुहुन्न ? आफ्नो घरमा भैपरी आउने यस्ता कामहरु गर्न तपाईलाई के कुराले रोकेको छ ? प्रतिष्ठाले ? समयले ? कामले ?

होइन, वास्तवमा हामी यी स-सना घरायसी कामलाई कम महत्वका ठान्छौं । हामी के पनि ठान्छौ भने, ‘यावत् काम गर्ने भनेका श्रमिकले हुन् । हामी यस्तो काममा अल्झनु हुँदैन ।’ यही भ्रम वा दम्भले हामीलाई कमजोर बनाइरहेको हुन्छ । सामान्य कारणले घरको विद्युत सर्ट हुन्छ, हामी त्यो समस्या सल्टाउन छाडेर इलेक्टि्रशियन गुहार्न थाल्छौ । जबकी यी सामान्य काम हामी आफै गर्न सक्छौं । गर्न सक्ने भएर पनि गर्दैनौ । यही कारण घरखर्च हामीले सोचेभन्दा बढी भइरहेको हुन्छ ।

एक जानकार भन्छन्, ‘अमेरिका/युरोपका मध्यमबर्गिय मानिसहरु यस्ता सानातिना काम आफै गर्छन् । कार्पेन्टरको काम आफै गर्छन्, प्लम्बरको काम आफै गर्छन्, इलेक्टि्रशियनको काम आफै गर्छन् ।’ उनीहरुलाई यस्ता आधारभूत कामको राम्रो जानकारी र दक्षता हुन्छ । उनीहरुसँग आवश्यक औजार पनि घरमै हुन्छ ।

यद्यपी हामी के ठान्छौ भने यस्ता काममा अल्भिmएर आफ्नो समय नष्ट गर्नु हुँदैन । जबकी यस्ता कति समय त हामी चुरोट तानेर, साथीभाईसँग गफ गरेर, मदिरा पिएर पनि नष्ट गरिरहेका हुन्छौं ।

हामी देशका कुरा गर्छौं । ठूलठूला विकासका कुरा गर्छौं । विश्व-ब्रम्हान्डको कुरा गर्छौं । तर, सामान्य घरायसी समस्या सल्टाउने जुक्ति भने निकाल्दैनौं । जीवनलाई कुशलतार्पूक जिउनका लागि विश्व-ब्रम्हान्डको कुरा जान्नुभन्दा सामान्य व्यवहारिक सीपको विकास गर्नु महत्वपूर्ण हुन्छ । किनभने यी व्यवहारिक कुरा हाम्रो दैनिक जीवनसँग अत्यान्तै निकट हुन्छ । यसले हाम्रो दिनचर्यालाई प्रभावित तुल्याइरहेको हुन्छ ।

सानोतिनो रिपेयरिङ

त्यसो त घरको पेन्टिङ, प्लम्बिङ, कार्पेन्टिङ, इलेक्टि्रकल वर्क, घरलाई मेन्टेन गर्ने र मर्मत-संभारसँग जोडिएका सानोतिनो केही काम हुन्छन्, जो हामी आफै गर्न सक्छौं । यी काम गर्नका लागि हामी परांगत हुनुपर्छ भन्ने छैन । आधारभूत जानकारी भए काफी हुन्छ । यसले हाम्रो दैनिकी छरितो हुन्छ ।

प्राथमिक उपचार

बेलाबखत घरमा काम गर्दागर्दै सामान्य चोट लाग्न सक्छ । कहिले खानपानको कारण बिरामी हुनसक्छ । कहिले अचानक कुनै कारणवस अस्वस्थ्य हुन सक्छ । यस्तो अवस्थामा चिकित्सक गुहार्ने ? अस्पताल खोज्ने ?

होइन, सामान्य उपचार आफै गर्न सक्नुपर्छ । यसका लागि घर-घरमा फस्र्ट एड किट राख्न सकिन्छ । सामान्य घाउचोटमा मात्र होइन, कुनै आपतकालिन अवस्थामा विरामीको प्राथमिक उपचार कसरी गर्ने भन्ने कुरा परिवारका सबैजसो सदस्यलाई थाहा हुनुपर्छ ।

चल्दाचल्दै नरोकियोस् गाडी

अहिले धेरैजसोसँग चारपाङ्ग्रे नभएपनि दुईपाङ्ग्रे सवारी छ । मोटरसाइकल, स्कुटर होस् चाहे गाडी नै, यात्राको क्रममा गडबडी आउन सक्छ । त्यस्ता गडबडी सामान्य कुराले पनि उत्पन्न हुन्छ । त्यसो हो भने, हामी आफै पनि के खराबी भएको र त्यसलाई कसरी बनाउने भन्ने कुरामा जानकार हुनुपर्छ । किनभने सबै स्थानमा सर्भिस सेन्टर नहुन सक्छ ।

आफ्नो सवारी साधन चलाइरहँदा त्यसमा कुनै गडबड छ वा छैन भन्ने कुराको पनि हेक्का राख्नुपर्छ । टायरको अवस्था, तेलको अवस्था के छ ? यदी टायर बिगि्रएमा कसरी परिवर्तन गर्ने भन्ने कुरा जान्नुपर्छ ।

कपडा सिलाइ-कटाइ

कतिपय कपडा शरीरमा नमिलेर, फाटेर, च्यातिएर, कुनै दाग लागेर काम नलाग्ने हुन्छ । तर, त्यही कपडालाई सिलाउन जानेमा, दागधब्बा पखाल्न जानेमा पुन प्रयोग गर्न सकिन्छ । यसका लागि सामान्य सिलाई-कटाइको जानकारी हुनुपर्छ । यसका लागि आवश्यक सामाग्री सियो, धागो र स्विङ मेशिनसम्म घरमा राख्न सकिन्छ ।

त्यसो त कतिपय लुगा राम्रो हुन्छ, तर हामीलाई फिट हुँदैन । कतिपय लुगाको फेसन गइसकेको हुन्छ । यस्ता लुगालाई मोडिफाइ गरेर लगाउन सकिन्छ । नयाँ डिजाइनमा सजाउन सकिन्छ । यस्ता सामान्य सीप हामीसँग हुनुपर्छ ।

हामी घरका सामान्य काम पनि अरुको भरमा छाड्छौं । जब यी कामहरु थुप्रदै जान्छ, हामीलाई त्यो पहाड लाग्छ । त्यही समस्यामा हामी रुमलिन्छौं । तर, यस्ता सामान्य काममा आफुलाई पोख्त बनाउने हो भने घरायसी व्यायभार मात्र घट्दैन, दिनचर्या छरितो एवं चुस्त पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment