१० मंसिर, कालीकोट । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतालाई साथमा नलिए विकास र समृद्धिको अभियान पूरा हुन नसक्ने बताएका छन् ।
जिल्ला समन्वय समिति कालीकोटले आयोजना गरेको दोश्रो जिल्लासभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विकास र समृद्धिको अभियानमा जनतालाई गोलबन्द गर्नुपर्ने बताएका हुन् ।
विकास अभियानमा दातृनिकायको सहयोगी भूमिका मात्र हुने बताउँदै जनतालाई साथमा नलिइ विकास र समृद्धिको अभियान पूरा नहुने उनको भनाइ छ । स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘तपाई हामीलाई जनताले सरकारमा पठाएका हुन, हामी जनतातिरै र्फकनुपर्छ ।’
मुख्यमन्त्री शाहीले नकारात्मक सोच र राजारजौटाको शैलीले जनताको विश्वास आर्जन गर्न नसकिने बताउँदै जनप्रतिनिधिहरु जनताको सेवकका रुपमा रहनुपर्नेमा जोड दिए ।
कालीकोटको मात्र नभइ सिंगो कर्णालीको विकासका लागि आफूले आर्थिक स्रोतको अभाव हुन नदिने बताउँदै मुख्यमन्त्री शाहीले स्रोतको सदुपयोग र दिगो विकासमा ध्यान दिन आग्रह गरे ।
कर्णालीको योजनावद्ध विकासका लागि प्रदेश सरकारले योजना आयोग गठन गरिसकेको बताउँदै मुख्यमन्त्री शाहीले नतिजामुखी र नमूना काम गर्ने अठोट व्यक्त गरे ।
प्रदेश योजना आयोगले प्रदेशको वहुआयामिक विकासको लागि अल्पकालीन र दीर्घकालीन योजना निर्माणको काम थालनी गरिसकेको बताउँदै मुख्यमन्त्री शाहीले तीनवटै तहको सहकार्यमा कर्णालीको विकास अभियान अगाडि वढ्ने बताए ।
विकटता र गरीबीले चिनिएको कर्णालीलाई सुन्दरता र सम्भावनाको कर्णालीको रुपमा परिचित गराउन वर्षको आरम्भमै प्रधानमन्त्रीलाई रारामा बोलाएको बताउँदै मुख्यमन्त्री शाहीले कर्णालीको विकास केन्द्र सरकारको समेत प्राथमिकतामा रहेको बताए ।
सभामा वोल्दै स्थानीय तहका जनप्रतिनिधिहरुले कर्मचारी अभावको कारण आफूहरुलाई काम गर्न गाह्रो भएको गुनासो गरेका थिए ।
प्रतिक्रिया 4