Comments Add Comment

आइफिल टावरमा धरहराको झल्को, कहिले बनाउने प्रधानमन्त्रीज्यू ?

नेदरल्याण्डसको राजधानी एम्स्टर्डम । त्यो पानीमुनिको सहरबाट यात्रा सोझियो फ्रान्सतिर । पश्चिम युरोपमा अवस्थित फ्रान्स क्षेत्रफलको हिसावले युरोप महाद्वीपको सबभन्दा ठूलो मुलुक । फ्रान्स नेपालको धेरै पुराना मित्र मुलुक पनि हो । यी दुई मुलुकबीचको सम्बन्धको इतिहास सन् १७९० देखि नै सुरु भएको मानिन्छ ।

पृथ्वीनारायण शाहको समयमा केही फ्रान्सेली सैनिक कोलकाता हुँदै गोरखा गई हातहतियार बनाउने तालिम दिएका अभिलेखहरु भेटिन्छन् । सन् १८५० मा श्री ३ जंगबहादुर राणाले बेलायत भ्रमण गर्दा फ्रान्स छुटाएनन् । त्यसपछि नेपाली सैनिक संगठनमा सुधार र काठमाडौंमा नेओक्लाशिकल शैलीका भवनहरु बन्न थाले, युरोपकै सिकोमा ।

सन् १९५० मा फ्रेन्च नागरिक मोरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहण गरेपछि फ्रान्सेली जनस्तरमा पनि नेपाल परिचित हुन पुग्यो । सन् १९५८, १९६० र १९६६ मा मा राजा महेन्द्रले फ्रान्स भ्रमण गरे । यी भ्रमणहरूकै फलस्वरूप १९६७ को अप्रिलमा काठमाडौंमा फ्रान्सको आवासीय राजदूतावास र जूनमा पेरिसमा नेपालको आवासीय दूतावास स्थापना भयो ।
यो पनि पढ्नुहोस माथि माछा, तल मान्छे रहेको शहरमा घुम्दा !

त्यसपछि, १९८१ मा फ्रान्सका राष्ट्रपति फ्राँस्वा मितेराँले नेपाल भ्रमण गरे भने सन् १९८१, १९८९ र १९९४ मा राजा वीरेन्द्र फ्रान्स आए । यसरी करिब २५० बर्ष पुरानो ऐतिहासिक सम्बन्ध र करिब ६ दशकको औपचारिक कूटनीतिक सम्बन्धले नेपाल–फ्रान्स दौत्य सम्बन्धलाई बिषेश बनाएको छ ।

सेनको शोभा

६ बर्षअघि पहिलोपटक पेरिस आउँदा मैले यो सहरलाई राम्ररी नियाल्न पाएको थिइनँ । यसपटक पहिलेको धोको पनि मेट्नु थियो । त्यसक्रममा सेन नदीले बढाएको पेरिसको शोभाले खुबै लोभ्यायो । नदीलाई सफा र सुन्दर राखे शहरको रुप नै फेरिँदो रहेछ ।

पेरिस बहुसांस्कृतिक शहर हो । यहाँ थुप्रै ऐतिहासिक भवन, प्रशिद्ध स्मारक र कला सग्रहालयहरू छन् । यी सम्पदा र सेन नदीले पेरिसलाई हाम्रो काठमाडौंसँग मिल्दोजुल्दो बनाएको छ । फरकचाँहि यता पेरिस व्यवस्थापन र उता काठमाडौं अब्यवस्थाको नमूना बनेको छ ।

पेरिस भन्नेबित्तिकै सबैको दिमागमा आइफिल टावर आउँछ । पेरिस र आईफिल पर्यायवाची बनेका छन् । सहरको जुनसुकै कुनाबाट हेर्दा पनि आईफिल टावर देखिन्छ । यो सब हेरिरहँदा नेपाली मनमा आफ्नो काठमाडौंको प्रमुख ल्याण्डमार्क धराहरा आउँछ नै, जुन साढे तीन वर्षदेखि मटियामेट अवस्थामा छ ।

गत अक्टोवर पहिलो साता आइफिल टावर पुग्दा, मैले भूकम्पले भत्काएको धरहराबारे सामाजिक सञ्जालमा प्रधानमन्त्रीको नाममा लेखेको पत्र सम्झिएँ । मैले लेखेको थिएँ–

सम्माननीय प्रधानमन्त्रीज्यू, हाम्रो धरहरा भत्केको आज ३ बर्ष ५ महिना ५ दिन भयो, तर अझै उठ्न सकेन । तस्वीरमा देखिएको यो आइफिल टावर गुस्ताव आइफिलले आजभन्दा १२९ बर्ष पहिले निर्माण गरेका रहेछन् । ३२४ मीटर अग्लो यो टावर ३ सय मजदुरले २ बर्ष २ महिना ५ दिनमा बनाइसकेका रहेछन् । त्यो पनि ऊ जमानामा । त्यो कसरी सम्भव भयो होला, प्रधानमन्त्री ज्यू ?

हामी त अहिले २१ औ शताब्दीमा छौं । भूकम्पले ढालेको साढे ३ बर्ष बितिसक्दा पनि धरहरा उठेन । हाम्रो सपना छ, बर्षमा २० लाख पर्यटक भित्राउने । पेरिसको स्याम्प डी मार्समा रहेको यो आइफिल टावर चढ्न बर्षमा ७० लाखसम्म पर्यटकहरु आउँछन् .. हाम्रो नयाँ धरहरा कहिले उठाउने ? यसरी नै बिदेशीका पाइला कहिले टेकाउने ?

पेरिसमा आइफिल टावर बनाउँदा ठूलो विवाद पनि भएको रहेछ । मात्र २० बर्षको लागि भनेर बनाइएको टावर अझै ज्युँका त्युँ छ । टावरले बैज्ञानिक र प्राविधिक रुपमा आफ्नो उपयोगिता संसारमा पुष्टि गरिरहेको छ । निर्माणकालीन सम्झौता अनुसार त यो टावर सन् १९०९ मै भत्काउनु पथ्र्यो, तर अहिले पनि पेरिसको शान बनिरहेको छ ।

प्रधानमन्त्री ज्यू, तपाईलाई धरहरा पुनः निर्माण गर्न के ले रोक्यो ? गफै मात्र गरेर देश बन्दैन प्रधानमन्त्री ज्यू .. ।

फ्रान्समा नेपालीहरु

३८ बर्ष अघि फ्रान्स आएका हरिहर अर्यालको अनुभव हो यो–

‘गोरखामा सडक, बिजुली केही थिएन । गाउँमा टुकी बालेर पढियो, हुर्कियो । काठमाडौंमै आएर पहिलोपटक मोटर देख्न पाइयो । सन् १९८० को मार्चमा फ्रान्सको एयरपोर्ट देख्दा झनै अचम्म लाग्यो । चार लेनका सडक, सिसै सिसाका घर, सडकमा झिलिमिली बत्तीले दिन वा रात छुट्टाउनै गाह्रो । गोरखामा सम्पर्क गर्न आकाशवाणी (वायरलेस) थियो, यता बोल्ने अनि उता चुप लागेर खबर टिप्ने । फेरि उता बोल्ने यता चुप लागेर सुन्नु पर्थ्यो । सूचना आदान–प्रदान यसरी नै हुन्थो । यताबाट हामीले बोलेको कुरा नेपालमा अपरेटरले टिपेपछि सञ्चो बिसञ्चोको खबर बा–आमाकहाँ पुग्थ्यो ।’

फ्रान्समा बसोबास गर्ने पुराना नेपालीमध्येका एक उनीसँग मैले यहाँका नेपाली समुदायको अवस्था बुझेको थिएँ । फ्रान्समा सन् १९६० को दशकमा ४–५ जना नेपाली रहेको भन्ने सुनेको उनले बताए ।

अर्यालका अनुसार, १९८०/८१ ताका यो संख्या १५० हाराहारीमा पुग्यो । अहिले त यहाँ करिब ४ हजार नेपाली छन् ।

सन् १९६० को दशकदेखि नेपाल जाने पर्वतारोही र पर्यटकहरूले पनि फ्रान्समा नेपालीहरु भित्र्याए । कति फ्रेन्च नागरिकसँग वैवाहिक सम्बन्ध गाँसेर पनि आए । १९८० देखि त नेपाली विद्यार्थीहरू पनि फ्रान्स आउन थालेको अर्यालले सुनाए ।

सन् २००० देखि फ्रेन्च कल्चर सेन्टरले दिएको छात्रवृत्तिमा मास्टर्स र पीएचडी गर्नेहरू पनि भित्रिए । त्यस्तै आफ्नै खर्चमा पढ्न आउने, अन्य भिसामा आउने र बेलायत छाडेर आएका विद्यार्थीहरूले पनि फ्रान्समा नेपालीको संख्या बढायो ।

अर्यालका अनुसार, फ्रान्समा तेस्रो पुस्ताको नेपालीको जन्म भइसकेको छ । पहिलो पुस्ताका धेरै नेपालीले नेपाली नागरिकता कायम राखेका छन् । दोस्रो पुस्ताकाहरुले भने फ्रेन्च नागरिकता लिने गरेका छन् ।

८–१० बर्ष यता फ्रान्सको सेना (फ्रेन्च फरेन लिजनमा) नेपाली युवाको मुख्य आकर्षण बनेको छ । लिजनमा ५ बर्ष पूरा भएपछि स्थायी बसोबास वा फ्रेञ्च नागरिकता लिन सक्ने प्रावधान छ ।

धेरैजसो नेपालीले गर्ने काम चाही बालबच्चा, वृद्ववृद्वाको हेरचाह तथा रेष्टुराँ र घरायसी सरसफाई नै हो । सरकारी अड्डा वा संस्थानहरुमा काम गर्ने नेपाली ज्यादै न्युन छन् । कतिले आफ्नै कम्पनी चलाएका छन् । कतिले नेपाली हस्तकला, पोशाकको पसल, ब्युटी पार्लर, रेष्टुरेन्टहरु सञ्चालन गरेका छन् ।

चोरको बिगबिगी

आजभोलि युरोप घुम्ने नेपालीको संख्या बढ्दो छ । तिनमा पनि युरोपकै एक मुलुकबाट अर्कोमा पुग्ने नेपालीको संख्या बढी छ । यात्राको क्रममा चोरी र ठगीका घटना बढेका छन् । कतिको ब्याग वा झोला चोरी हुँदा राहदानीसमेत हराएर नेपाली राजदूताबासमा पुगेका खबरहरु सुनिन्छन् ।

मेट्रोमा एकजना नेपाली राजदूतकै वालेट चोरी भएर कुटनीतिक परिचयपत्र नै हराएको कुरा पनि सुनियो ।

युरोप भन्नेवित्तिकै हामी सुरक्षित ठान्छौं । तर, आप्रबासीको संख्यासँगै असुरक्षा पनि बढेको छ । युरोपका सबैजसो मुलुकमा मेट्रोको राम्रो सुविधा छ । मेट्रोमा मोबाइल, पर्स, वालेट वा झोला चोरी हुने खतरा हुन्छ । खचाखच मेट्रोमा टाँसिन आउने युवतीहरु खल्तीको पर्स वा मोवाइल उडाउनेवित्तिकै ओर्लिएर बेपत्ता हुन्छन् ।

युवकहरुले त हातबाट मोवाईल थुतेर भागेका घटना पनि छन् । बार्सिलोना (स्पेन)का मेट्रो स्टेशनहरुमा यस्ता घट्ना धेरै भएका छन् । मेट्रोहरुमा ठग्ने समूहहरु पनि सकृय छन् । लगेज लिएर मेट्रोमा छिर्नेवित्तिकै यो नौलो मान्छे हो भन्ने बुझेर उनीहरु ‘सहयोग गर्न’ आइपुग्छन् । उनीहरुले टिकट र मेट्रो जोनबारे यति राम्ररी जानकारी दिन थाल्छन् कि मेट्रो सर्भिसकै मान्छे हुन् भन्नै पर्छ ।

जानकारी पाएपछि जब तपाई टिकट काट्न तयार पर्नुहुन्छ, उनीहरुले ‘फ्रेन्स कार्ड छ ?’ भनेर सोध्छन् । हुँदै नहुने कार्ड तपाईले छैन भनिसक्दा नसक्दै उनीहरुले ‘मेरो कार्ड प्रयोग गरिदिन्छु, तपाई पैसा दिनुहोला’ भन्दै हुन्छ वा हुन्न भन्न नपाई टिकट प्रिन्ट गरेर हातमा थमाइहाल्छन् । तपाई पनि कृतज्ञ बन्दै खुरुक्क पैसा थमाइदिनुहुन्छ, ठगिएको पत्तै नपाई ।

त्यो टिकटले मेट्रो मेसिन मज्जाले खुल्छ, गन्तब्यमा पनि पुगिन्छ । तर, जब अर्को मेट्रोको मेसिनमा टिकट घुसाउनु हुन्छ, ढोका खुल्दैन । एक हप्ताको ट्राभल कार्डका लागि खर्च भने भइसकेको छ ।

पेरिसको आईफिल टावर वरपर पनि प्रहरीको आखाँ छल्दै ठगका झुण्डहरु सकृय हुन्छन् । उनीहरु प्रहरीको आखाँ छल्दै तीनवटा कपलाई यता–उता चलाउँदै, त्यसभित्र बल कहाँ छ भनेर सोधिरहेका, कसैले ठ्याक्कै मिलाएर पैसा जितेको नाटक पनि गरिरहेका हुन्छन् । तर, ‘ट्रिकी कप्स एण्ड बल’ भनिने त्यो खेलमा तपाईले गरेको अनुमान कहिल्यै मिल्दैन, पैसा मात्र जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment