Comments Add Comment

अल्सर, किन, कसलाई र कसरी लाग्छ ?

धेरै नेपालीको साझा रोग हो, ग्याष्ट्रिक । ग्याष्ट्रिककै समस्याले निम्त्याउने रोग हो, अल्सर । अल्सरको कारण हुनसक्ने भय हो, क्यान्सर ।

खराब खानपान र खाने शैलीका कारण धेरै नेपाली ग्याष्ट्रिकका रोगी भएका छन् । त्यसमध्ये कतिपय अल्सरले ग्रस्त छन् ।

अल्सरलाई सामान्य रुपमा लिइयो भने त्यसले क्यान्सरको जन्म दिन्छ । त्यसपछि हामी भयानक रोगको चंगुलमा फस्न पुग्छौ । त्यसैले यही बखत उचित निदान खोज्नुपर्छ । यसले संभावित खतराबाट  त बचाउँछ नै खर्च पनि हुँदैन ।

अल्सर के हो त ?

यो पेट वा सानो आन्द्रामा हुने संक्रमण, घाउ वा प्वाल हो । अर्थात यसै अवस्थालाई अल्सर भन्ने गरिन्छ । चिकित्सकिय भाषामा यसलाई पेष्टिक अल्सर वा ग्याष्ट्रिक अल्सर भनिन्छ ।

जब हाम्रो पेटलाई खाना पाचन गराउने एसिडबाट बचाउने बाक्लो पत्र म्युकस पातलो हुन्छ त्यसपछि अल्सरको संक्रमण हुन्छ । पाचन गराउने एसिडले आन्द्रामा घाँउ बनाउँछ जसलाई अल्सर भनिन्छ ।

चिकित्सकका अनुसार पेटमा हेलियो ब्याक्टर पायलोरी नामक ब्याक्टेरियाको संक्रमणले हुन्छ ।

यस बाहेक चिकित्सकको सल्लाहबिना आफ्नै सुरले लगातार लामो समयसम्म दुखाई कम गर्ने गोली खानाले पनि पेटमा घाउ वा फोरा पर्छ र अल्सर हुन्छ ।

पेटको अल्सरबाट बच्नको लागि कैयौं सावधानीहरु आवश्यक पर्छ । सामान्य रुपमा भन्नुपर्दा ग्यास्ट्राइटिसको समस्या बिग्रँदै गएर पेटको अल्सर हुने गर्छ ।

अल्सर भएमा के खाने ?

पेटमा अल्सर हुने अवस्थामा बिरामीलाई एन्टियोबायोटिक्स लामो समयसम्म चलाइन्छ साथै एसिड ब्लकर्स पनि दिइन्छ । यस बाहेक नियमित भोजनको रुपमा बिरामीलाई सादा भोजन गर्न आवश्यक छ ।

सादा खानेकुराले अल्सर पैदा गर्ने ब्याक्टेरियाबाट लड्न मद्दत मिल्छ । बन्दागोभी, काउली, मुला, स्ट्रबेरी, चेरी, ब्रोकाउली, हरिया सागसब्जी, दही, मह, लसुन, ग्रीन टि , बेसार मिसाएको दुध आदि खानु राम्रो हुन्छ ।

हेलियोब्याक्टर पायलोरी नामक ब्याक्टेरियाको कारण भएको पेटको फोरालाई ठिक गर्नको लागि यी सबै खाद्यपदार्थ यसकारण उपयोगी छन् किनभने यी खानेकुरा एन्टिअक्सिडेन्टबाट भरपुर छन् ।

यी खाद्यपदार्थले शरीरको रोग प्रतिरोधी प्रणालीको सुरक्षा पनि गर्छ र शरीरलाई संक्रमणबाट लड्नको लागि सक्रिय बनाउँछ । यसको मद्धतले पेटको क्यान्सरबाट जोगिन सुरक्षा मिल्छ ।

केही सोधबाट ओलिभ आयल पनि यो ब्याक्टेरियाको संक्रमण टाढा गर्न समर्थ भएको पाइएको छ ।

कसरी गर्ने अल्सरको उपचार ?

जो मानिसहरुलाई पेटमा अल्सर हुन्छ उनीहरुलाई पेटबाट एसिड बाहिर उछालिएर आउने समस्या हुन्छ । उनीहरुलाई अमिला खानेकुरा खान र पिउनबाट निषेध गर्नुपर्छ ।

खासगरि कफी, चकलेट, पिरो र मसालादार खाना, मदिरा, टमाटर र कागती जस्ता अमिलो खानेकुरा खानु हुँदैन । त्यस्तै खाना धेरै खाने, सुत्ने र खाना खाने समयबीच कम अन्तर राख्ने गर्न हुँदैन ।

हेलियो ब्याक्टर पायलोरी नामक ब्याक्टेरियाले हुने अधिकांश अल्सर उपचारबाट ठिक हुन्छन् तर यदि उपचारमा सावधानी अपनाइएन र राम्रोसँग उपचार गरिएन भने यो खतरनाक हुन्छ । अवस्था बिग्रदै गएर पछि पेटको क्यान्सर समेत हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment