Comments Add Comment

किन चिसिदैछ दम्पतीको शयन ?

‘जीवनभर एकअर्कालाई साथ दिने’ वाचा गर्दै लगनगाँठो कसेका दम्पतीबीच अहिले त्यो सौहार्द्धपूर्ण सम्बन्ध छैन, जो हुनुपथ्र्यो । भलै उनीहरु एकै छानोमुनी बस्छन्, एकै भान्सामा खान्छन्, एकै ओछ्यानमा सुत्छन् । यद्यपी दुबै भावनात्मक रुपले टाढिदै गएका छन् । कतिसम्म भने, उनीहरुलाई एकअर्काको सुखदुख बुझ्ने फुर्सद पनि मिल्न छाडेको छ ।

दाम्पत्य सुख त्यसैमा टिकेको हुन्छ, जहाँ आपसी सद्भाव हुन्छ, अटुट प्रेम हुन्छ, विश्वास हुन्छ, आडभरोसा हुन्छ । ‘सुखदुख साट्ने’, ‘जीवनभर साथ रहने’, ‘सँगै मर्ने, सँगै बाच्ने’ कसमहरु किन अहिले फिका र झुटो बन्दैछ ?

श्रीमान्/श्रीमती त चाहन्छन्, ‘शरीर मात्र होइन, भावना पनि एकआपसमा शेयर गरौं ।’ शेयरिङ र केयरिङले नै त सम्बन्धलाई रसिलो बनाएको हुन्छ ।

आफ्नो जीवनसाथीले हरदम आफूलाई खुसी राख्ने कोसिस गरोस, जिन्दगीको यात्रा उसको साथमा रमाइलो लागोस्, बाटो सजिलो होस् र मुस्किल सहने हौसला मिलोस् भन्ने सबैले चाहन्छन् ।

तर, अब दम्पतीमाझ यस्तो सम्बन्ध टुक्रिदै गएको छ । आधुनिक जीवनशैली, अतिरिक्त सुविधा भोग, सामाजिक सञ्जाल, महत्वकांक्षा जस्ता थुप्रै तत्वले दम्पतीको शयन चिसो बनाउँदैछ । उनीहरुको साथ जति हार्दिकतापूर्वक हुनुपथ्र्यो, त्यो छैन ।

अहिले दम्पतीहरु भौतिक रुपले नजिक रहेर पनि भावनात्मक रुपले एकाकार हुन सकिरहेका छन् । उनीहरु एक्लिदैछन् । कसैसँग रहेर पनि एक्लोपना महसुस हुन्छ भने उसको जीवन धेरै मुस्किल र समस्याग्रस्त भएको बुझ्न सकिन्छ ।

एक शोधमा यो कुरा आएको छ कि कम्तीमा २० प्रतिशत मानिसहरुले आफ्नो वैवाहिक जीवनमा एक्लोपना महसुस गरिरहेका छन् । यो धेरै गम्भिर कुरा हो किनभने सम्बन्धमा बढ्दो एक्लोपनाले कैयौं मानसिक र शारीरिक समस्या निम्त्याउन सक्छ ।

वैवाहिक जीवनमा एक्लोपनको कारण

-आजभोलीका मानिसको जीवन धेरै नै व्यस्त हुन थालेको छ । धेरैजसो विवाहित जोडीहरु कामकाजी हुन्छन् र उनीहरुको अधिकांश समय कार्यालयमा सहकर्मीको साथमा बित्छ । यस्तोमा उनीहरुले आफ्नो जीवनसाथीलाई दिने समय धेरै कम हुन्छ ।

-कामको तनाव धेरै बढ्नाले कम्युनिकेसन कम हुन्छ ।

-घरमा पनि दुवै आ-आफ्नो काममा नै व्यस्त हुन्छन् ।

-सामाजिक सञ्जालले यस बढ्दो एक्लोपनालाई अझै बढाईदिन्छ । किनभने त्यहाँ नयाँ साथी भेटिन्छन् र उनीहरुले धेरै आकषिर्त गर्छन् । यस्तोमा कहिले हामी पार्टनरलाई उपेक्षा गर्न लाग्छौं थाहा नै हुँदैन ।

-श्रीमान्-श्रीमती सँगै बसेर कुरा गर्ने एक अर्काको समस्यालाई बुझ्ने जस्तो कुरा त समयको बर्बादी जस्तो लाग्छ ।

-कुरा जब हदभन्दा धेरै बढ्छ तब वैवाहिक सम्बन्धमा हुँदा पनि हामी कति एक्लो छौं भन्ने महसुस हुन्छ ।

-बिस्तारै आफ्नो पार्टनर यी दिनहरुमा के महसुस गरिरहेका छन् वा कुन समस्याबाट गुजि्ररहेका छन् भन्ने पनि ख्याल हुन छोड्छ ।

-बढ्दो एक्लोपनाको असर यौनजीवनमा पनि पर्छ । त्यस्तै कम हुँदै गएको यौन सम्बन्धले पनि एक्लोपनालाई बढाउन सक्छ त्यसैले दुवै तर्फबाट यसलाई देख्न सकिन्छ ।

-घरमा पनि हरेक समय दुवै जना आफ्नो फोन वा ल्यापटपमा व्यस्त रहन्छन् चाहे डिनरको समय होस् वा बेडमा सुत्ने समय होस् । बेडरुम यस्तो ठाँउ हो जँहा पार्टनरले एक अर्कासँग प्रेम र रोमान्स गर्न सक्छन् । आफ्नो समस्याहरु, आफ्नो सुखदुख सेयर गर्न सक्छन् तर, उनीहरु आजभोली बेडरुममा पनि एकअर्कासँग नजिक नभई आ-आफ्नो दुनियामा हराउँछन् । पछि थाहा हुन्छ कि एक अर्काबाट उनीहरु कति टाढा भइसकेका छन् ।

तपाईको सम्बन्धमा पनि बढ्दैछ एक्लोपना ?

यस्ता केही लक्षण छन् जसलाई यदि तपाईं ध्यान दिनुभयो भने तपाईंले आफ्नो सम्बन्धमा पनि क्लोपनाले घर त गरेको छैन भनेर बुझ्न सक्नुहुन्छ ।

विचार गर्नुहोस् यी कुराहरुमाः

-तपाईं दुवै अन्तिम पटक कहिले बाहिर घुम्न जानुभएको थियो ?

-सँगै बसेर आफ्नो दिनचर्या कहिले सेयर गर्नुभएको थियो ?

-एकअर्कालाई ‘आइ लभ यु’ वा अरु कुनै प्रेमपुर्ण कुरा कहिले भन्नु भएको थियो ?

-खास दिन अर्थात बर्थडे, एनिभर्सरी याद रहन्छ वा भुल्न थाल्नुभयो ?

-एकअर्कासँग आफ्नो आवश्यकताको बारेमा कुरा गर्नुहुन्छ वा हुँदैन ?

यी तमाम प्रश्नहरुमा विचार गर्नुहोस् तपाईआफैले बुझ्नुहुन्छ कि तपाईं कुन रुपमा गुज्रिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment