Comments Add Comment

४३ महिनापछि मनकामना मन्दिर आजदेखि खुल्ला

११ मंसिर, गोरखा । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

बुधबारदेखि भक्तजनले मन्दिरभित्र गई पूजा गर्न पाएका छन् । मन्दिर पुनर्निर्माणका लागि यसअघि अस्थायी टहरामा पूजा गर्ने व्यवस्था मिलाइएको थियो । भूकम्पअघि दक्षिण पश्चिम ६ इन्च ढल्किएको मन्दिर २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुनर्निर्माण थालिएको हो ।

‘मूल मन्दिर पुनर्निर्माणको काम केही दिनअघि नै सकिएको थियो,’ मन्दिर जिर्णाेद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भने, ‘तर आँगनमा ढुङ्गा छाप्ने काम भइरहेको हुँदा मन्दिर खुल्ला गर्न सकेका थिएनौं ।’ ढुङ्गा छाप्ने काम सकिएसँगै मन्दिर खुल्ला गरिएको उनको भनाइ छ । पुनर्निर्माणका लागि मन्दिरमा पूजा बन्द गरेको ४३ महिनापछि फेरि सर्वसाधारणका लागि खुला गरिएको हो ।

विहान नित्य पूजा गरेर मन्दिर खुल्ला गरिएको पुजारी इन्सान थापा मगरले बताए । ‘कहिलेबाट मन्दिरमा पूजा गर्न पाइन्छ भनेर धेरैले जिज्ञासा राख्दै आउनुभएको थियो, पूजा चलाउने अवस्थामा मन्दिर आइसकेको भएर आजबाट खुल्ला गरेका हौं,’ उनले भने । यसअघि दश कर्म पूजा गरेर भक्तजनका लागि मन्दिर खुल्ला गर्ने भनिएको थियो । ‘

दश कर्म पूजाका लागि माघमा मात्र तिथि रहेछ, समय लाग्ने भएपछि भक्तजनको इच्छा र पूजाआजाको सहजतालाई मध्यनजर गरेर मन्दिर खुल्ला गरेका हौं,’ मगरले भने ।
मन्दिर खुल्ला भएसँगै यस अघि पूजाका लागि बनाइएको अस्थायी टहरा भत्काइएको छ । मन्दिरमा पूजाआजा व्यवस्थित भएको र भक्तजनलाई पनि सहज भएको पुजारी मगरको भनाइ छ ।

करिव १४ करोडको लागतमा मन्दिर पुनर्निर्माणको काम सम्पन्न भएको मन्दिर जिर्णाेद्धार समिति संयोजक श्रेष्ठले जानकारी दिए । करिव १८ किलो सुन खर्च भएको उनको भनाइ छ । मन्दिर जीर्णाेद्धारका लागि पूरातत्व विभागबाट चार करोड रुपैयाँ विनियोजन भएको थियो । उक्त रकमले सात किलो सुन खरिद गरिएको थियो । बाँकी रकम भक्तजनबाट संकलन भएको श्रेष्ठले बताए ।

करिव साढे तीन बर्ष अस्थायी टहरामै पूजा गर्दै आएका भक्तजनहरु मन्दिरभित्रै बाट पूजा गर्न पाउँदा खुशी छन् । पुरानै प्यागोडा शैलीमा मन्दिर पुनर्निर्माण भएको छ । ‘अझै केही रकम बाँकी छ, यसले भजनमण्डल, शौचालय र मन्दिरको पश्चिम भागमा ‘रिटेनिङ वाल’ लगाउने काम गर्छाै,’ श्रेष्ठले भने । मन्दिर खुल्ला भएसँगै भक्तजनहरुको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment