Comments Add Comment

१५ सयले भएको थियो बानेश्वरमा ‘ग्याङ फाइट’, थप ४ पक्राउ

१३ मंसिर, काठमाडौं । नयाँ बानेश्वरस्थित सुकुम्बासी टोलमा १५ सय रुपैयाँको विवादलाई लिएर ५ दिनअघि भएको ‘ग्याङ फाइट’ भएको खुलेको छ । घटनामा सुकुम्बासी टोलका विकी लिम्बुको मृत्यु भएको थियो भने अनिल श्रेष्ठ घाइते छन् ।

घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार घटना भएकै दिन पक्राउ परेका मनिष बानियाँले सञ्जिव परियारलाई १५ सय रुपैयाँमा लागूऔषध नाइट्रोभेट विक्री गरेका थिए । त्यसको रकम उनले फिर्ता दिएका थिएनन् ।

सोही विषयलाई ८ मंसिर बिहान मनिषसहितको समूह सञ्जिवको घरमा पुगेको थियो । ‘त्यो १५ सय रुपैयाँ लिनलाई ऊ घरमा गएको थियो’, एक अनुसन्धान अधिकारीले भने, ‘त्यहाँ पैसा नपाएपछि उसले कोठाबाट ग्यास उठाउन खोजेको थियो । तर, धेरै मान्छे जम्मा भएपछि पैसा फिर्ता दिने सञ्जीवले आश्वसन दिए ।’

यद्यपि, उनले रकम भने फिर्ता गरेका थिएनन् । र, दिउँसो पुनः सोही विषयलाई लिएर दुई समुहबीच झगडा भयो ।

यो पनि पढ्नुहोस सुकुम्बासी टोलमा ‘ग्याङ फाइट’, एकको मृत्यु

त्यसक्रममा मनिष र तारकेश्वरका महेश परियारले खुकुरी प्रहार गर्दा विकीको मृत्यु भएको थियो । खुकुरी प्रहार गर्ने दुर्इ जनालार्इ महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सोही दिन पक्राउ गरेको थियो ।  मनिष लागूऔषध र ज्यान मार्ने उद्योगमा २ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

घटनाको अनुसन्धानका क्रममा महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरले झगडामा संलग्न थप ४ जनालाई पनि पक्राउ गेको छ ।

पक्राउ पर्नेमा सञ्जीव परियार, फूर्वा शेर्मा, रोशन राई र भैरव बुढाथोकी छन् । उनीहरुमाथि मुलुकी अपराध संहिता अन्तरगतको अभद्र व्यवहार कसुर अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बानेश्वर वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्ले बताउँछन् ।

घटनामा संलग्न अझै केही फरार छन् । उनीहरुको खोजी भइरहेको काफ्ले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment