Comments Add Comment

मन्त्रीको स्वीकारोक्ति : जनता आवास कार्यक्रम प्रभावकारी भएन

१३ मंसिर, काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले ‘जनता आवास’ कार्यक्रम परिणाममुखी नभएको स्वीकार गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिने क्रममा मन्त्री राइले ‘जनता आवास’ कार्यक्रम लोकप्रिय भए पनि परिणाममूखी भने हुन नसकेको स्वीकार गरेका हुन् । उनले भने, ‘जनता आवास कार्यक्रम एकदमै लोकप्रिय हो तर जुन रुपमा रिजल्ट आउनुपर्ने त्यो भने आउन सकेको छैन ।’ यद्यपि योजनाहरु प्रभावकारी ढंगले अघि बढाउने काम आफूले गरिरहेको बताए ।

उनले कतिपय विषयमा अनियमितता र त्रुटी भएको विषय पनि आएको भन्दै त्यस्तो त्रुटी कहीँ कतै भएको भए दोषीलाई कडा कारबाही गर्नेसमेत बताए । उनले कुनै विषयमा त्रुटी भएको भए किटान गरेर जानकारी दिन समेत आग्रह गरे ।

सरकारले गरिब नेपालीको घर निर्माण गरिदिने भनेर ‘जनता आवास’ कार्यक्रम घोषणा गरेको थियो । सरकारले घोषणा गरेको कार्यक्रम प्रभावकारी नभएको भन्दै बैठकमा सांसदहरुले प्रभावकारी बनाउन आग्रह गरेका थिए ।

सांसद प्रभु शाहले सरकारको गति एकदमै कम भएको बताए । नयाँ शहर भनेपछि अत्याधुनिक र पुरै नयाँ हुनुपर्ने धारणा राख्दै पूर्वमन्त्री समेत रहेका उनले अत्याधुनिक हुने गरी नयाँ शहरको डीपीआर हुनु पर्ने बताए ।

उनले सरकारको अहिलेको गतिले नपुग्ने भन्दै गति बढाउन समेत आग्रह गरे ।

सांसद रेगमती शाहीले जनता आवास कार्यक्रमले खासै प्रभाव नपरेको बताइन् । ५० हजार रुपैयाँ सरकारले दिने निर्णय पनि गलत भएको भन्दै उनले भनिन्, ‘५० हजार रुपैयाँले एउटा टिन पनि आउँदैन कसरी घर बन्छ ?’

उनले जनता आवास कार्यक्रमले दलितलाई मात्रै नभएर गरिब सबैलाई समेट्नु पर्ने धारणा राखिन् । कतिपय ठाउँहरुमा घरबार नै नभएका ब्राम्हण समूदायहरु पनि भएको भन्दै उनले यो कार्यक्रमले सबै गरिबलाई समेट्नु पर्ने बताइन् ।

सांसद अनिलकुमार झाले जनता आवास कार्यक्रमम व्यापक अनियमितता भएको बताए । उनले अनियमितता भएकै कारण प्भावकारी हुन नसकेको समेत बताए । सरकारले बजेट खर्च गर्न नसकेर काम गर्न नसकेको भन्दै उनले बजेट फ्रिज हुने स्थिति आउन नहुनेमा जोड दिए ।

मन्त्रालयको तयारी नै पुगेन

विकास समिति बैठकले बैठकमा सहभागी हुन मन्त्रालयको तयारी नपुगेको समेत ठहर गरेको छ । सांसदहरुले मन्त्रालयको तयारी नपुगेर र मन्त्रालयको प्रस्तुति आफूहरुले हेर्नै नआएको भन्दै असन्तुष्टि जनाएका थिए ।

सांसदहरुले यस्तो बताएपछि समिति सभापति कल्याणी खड्काले फेरी समिति बैठकमा आउँदा तयारी गरेर पेपरसहित आउन निर्देशन दिइन् । उनले भनिन्, ‘छलफलको विषयवस्तु केही दिन पहिला नै जानकारी गराइन्छ यसकारण तपाईहरु आउँदा आफूले प्रस्तुति दिने कागजातसहित तयारी गरेर आउनुहोला ।’

सांसद दामोदर भण्डारीले जनता आवास र नयाँ शहर योजना एकदमै महत्वपूर्ण विषय भए पनि मन्त्रालय गम्भिर नबनेको उनले बताएका थिए । मन्त्री र सचिवको प्रस्तुतिले तयारी नै नगरी आएको पुष्टि भएको भन्दै उनले महत्वपूर्ण छलफलमा पूर्ण तयारीका साथ उपस्थित हुनुपर्ने बताए ।

व्यवस्थित रुपमा मन्त्रालयले प्रस्तुति राख्नुपर्ने र त्यस विषयमा गहन छलफल समेत हुनुपर्ने उनले बताए ।

सांसदहरु गौरीशंकर चौधरी, टेकबहादुर बस्नेत, आशा बोगटी, गणेश पहाडीलगायतका सांसदहरुले पनि सरकारी कार्यक्रम प्रभावकारी हुन नसकेको धारणा राखेका थिए ।
सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाबाहेक अन्य सबै जिल्लालाई समेटेर ४७ हजार १ सय ९७ घर बनाउने योजना अघि सारेको थियो ।

आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछि परेका विपन्न, लोपोन्मुख, दलित, सीमान्तकृत जातिलाई आवासको व्यवस्था गर्न सरकारले जनता आवास कार्यक्रम घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment