+
+
Shares

मनाङमा पर्यटकलार्इ अाकर्षित गर्दै हिमाल

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १४ गते १४:३८

१४ मङ्सिर, मनाङ । मौसम खुलेको हिउँदका दिन चारैतिर दन्तलहरझैँ हिमाल टलक्क देखिन्छन्  । सूर्योदयको समयमा सेता टाकुरामा देखिने बिहानी उषा किरण ।

संसारकै अग्लो पाँच हजार ४१६ मिटर उचाइको हिमाली भञ्ज्याङ थोराङ्ला चढ्न थोराङ फेदी उक्लँदै गर्दा पर्यटकले चारैतिर हिमाल देख्छन् । उनीहरूलाई संसारकै सुन्दर ठाउँमा पुगेको आभास हुन्छ । ‘पाँचदेखि छ घण्टाको उकालो चढेपछि थोराङ्ला पुग्नेबित्तिकै एकअर्कामा अङ्कमाल गर्छन् । खुशीले रुन्छन् अनि एकअर्काको आँसु पुछ्छन् । उनीहरू आफैँलाई भाग्यमानी ठान्छन’, पर्यटक पथप्रदर्शक युवराज अधिकारीले भने, ‘पदयात्रामा आउने उनीहरूका लागि यो ठूलो सफलता हो । पदयात्राको सोखिनका लागि थोराङ्ला चढ्नु प्रतिष्ठाको विषय पनि हो ।’

उनका अनुसार पदमार्गमा आउने पर्यटकको एउटै उद्देश्य हुन्छ– हिमाल हेर्ने र पदमार्गको अग्लो भन्ज्याङ थोराङ्ला पास गर्ने । सेप्टेम्बर, अक्टोबर र नोभेम्बर मौसम खुल्ने भएकाले उनीहरू यही समय हिमाली क्षेत्र घुम्न आउँछन् । त्यसपछि मार्च, अप्रिल र मे महिना पर्यटकीय मौसम हो ।

मनाङका पर्यटन व्यवसायी एवं पुर्व श्रमराज्य मन्त्री टेकबहादुर गुरुङका अनुसार पर्यटक शान्त वातावरण चाहन्छन् । मानवसिर्जित बन्द र अवरोध मन पराउँदैनन् । ‘हाम्रो देशमा बन्द हडतालहरू भएका बेला पर्यटकको आगमन घटेको थियो, अहिले बढेको छ’, उनले भने, ‘हाम्रो अर्थतन्त्रलाई सबल बनाउन पर्यटक भित्र्याउने वातावरण बन्नैपर्छ ।’ सबै पर्यटक हिमाल हेर्न रुचाउने उहाँले बताउनुभयो । ‘बिहान उठ्दा होस् वा साँझ सुत्दा, चिया खाँदा होस् या थकाइ मार्दा, उनीहरू हिमाल देखियोस् भन्ने चाहन्छन्’, उनले भने ।

यस क्षेत्रमा पर्यटक आगमनको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले राख्ने गरेको छ । एक्याप मनाङको धारापानी चेकपोस्टका अनुसार सन २०१७ मा २७ हजार ६८ विदेशी पर्यटक मनाङ बाटो भएर चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए ।

सन २०१८ को नोभेम्बर २० सम्म २७ हजार ८ सय बढी पर्यटक भित्रिसकेको चेकपोस्टकी पर्यटन सहायक सोमी गुरुङले जानकारी दिए । चक्रीय अन्नपूर्ण पदमार्ग भ्रमणका लागि विदेशी पर्यटकलाई सन १९७७ बाट खुला गरिएको हो । १९९६ देखि एक्यापले चक्रीय अन्नपूर्ण पदयात्रामा आउने विदेशी पर्यटकको तथ्याङ्क राख्न थालेको हो ।

चक्रीय अन्नपूर्ण पदमार्ग पैदलै घुम्न कम्तीमा १८ दिन र बढीमा २१ दिन लाग्छ । हिमाली फेदमा पुगेपछि उनीहरू एक दिन थकाइ मार्छन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने भएकाले यहाँ सबै किसिमका वन्यजन्तु तथा जडीबुटी संरक्षित सूचीमा छन् । एक्याप मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार पर्यटकले हिमालसँगै यस क्षेत्रको प्रकृति पनि हेर्छन् । अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो साथै जुलु पिक, पिसाङ पिक, नीलगिरि, गङ्गापूर्ण र तिलिचो पिक लगायत हिमाललाई नजिकैबाट नियाल्न सकिन्छ । थोराङ्ला पुगेपछि धौलागिरि र नीलगिरि हिमाल नजिकै देखिन्छन् ।

‘तिलिचो ताल प्रमुख गन्तव्यमध्ये एक हो । संसारकै अग्लो ठाउँमा रहेको भनेर चिनिएको तिलिचो तालले अन्नपूर्ण पदमार्गलाई चिनाएको छ,’ प्रमुख तिरुवाले भने । पर्यटकले थोराङ्ला पास, लार्के पास र काङ्ला पास गर्न चाहने उनी बताउँछन् ।

नागबेली मस्र्याङ्दी नदी छेउको स्थानीय स्वाद, स्वागतसत्कार, स्थानीय जनजीवन, परम्परा, कला, संस्कार संस्कृतिमा पर्यटक रमाउने गरेको पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताए । उनका अनुसार गुम्बा, छ्योर्तेन र पुलपुलेसा हेरेर पर्यटक रमाउँछन् ।

‘ठाउँठाउँमा रहेका तालतलैया, डाँफे–मुनाललगायत चराचुरुङ्गी, नाउर, हिउँचितुवा, मृग लगायत वन्यजन्तुले पर्यटक लोभिन्छन्,’ उनले भने । यस बीचमा पर्यटक मोबाइल र क्यामरामार्फत फोटो अनि भिडियो कैद गर्छन् । इमेल इन्टरनेटमार्फत आफन्तलाई नेपाली प्रकृतिबारे बताउँछन् ।

चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा काठमाडौँ वा पोखरादेखि सुरु हुन्छ । हिमाली जिल्ला मनाङ र मुस्ताङ सडक सञ्जालमा जोडिएपछि विश्वका १० उत्कृष्ट पदमार्गबाट चक्रीय अन्नपूर्ण पदमार्ग हटेको छ । तर पर्यटक आगमन दिनानुदिन बढ्दो छ । काठमाडौं वा पोखराबाट पहिलो दिन पर्यटक लमजुङको बेंसीसहर बास बस्छन् ।

त्यसपछि खुदी, बाहुनडाँडा, जगत, धारापानी हुँदै छैटौँ दिन चामे पुग्छन् । चामे, पिसाङ हुँदै नवौँ दिन मनाङ पुगेपछि उनीहरू एकदिन विश्राम लिन्छन् । त्यसपछि लेदर हुँदै ११ औँ दिनमा थोराङफेदी पुग्छन् । १२ औँ दिनमा थोराङला भञ्ज्याङ पास गरेर उनीहरू मुक्तिनाथ पुग्छन् ।

यात्राको क्रममा सबैभन्दा धेरै हिँडाइ थोराङ्लाफेदी देखि मुक्तिनाथसम्म हो । यस बीचमा बस्ने ठाउँ छैन । करिब १० घण्टाको यात्रा गर्नुपर्छ । बीचमा कहीँ कतै चियापसल बाहेक खानेकुरा केही पाइँदैन । खानेकुरा र पानी आफैँले लिएर पर्यटक थोराङ्ला भन्ज्याङ चढ्छन् ।

मुक्तिनाथबाट मार्फा र लेते हुँदै १५ औँ दिनमा तातोपानी पुगेपछि कोही म्याग्दी भएर सिधै पोखरा पुग्छन् । कोही तातोपानीबाट पैदलयात्रा घोरेपानी, बिरेठाँटी हुँदै १७ औं दिनमा पोखरा पुग्छन् र १८ औँ दिनमा काठमाडौँ पुगेर यात्रा पूर्ण गर्छन् । पर्यटक हिँडेर नवौँ दिनमा पुग्ने जिल्लाको मनाङ गाउँसम्मै अहिले मोटर पुगेको छ । त्यस्तै म्याग्दीबाट मुक्तिनाथसम्म मोटर पुगेको छ । पछिल्लो समय मनाङसम्म पर्यटक गाडी चढेर पुग्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?