Comments Add Comment

एसिया प्यासिफिक सम्मेलनमा ‘सच्चा माता’को स्वघोषणा : म जिससकी एक्ली छोरी

१६ मंसिर, काठमाडौं । आफूलाई ‘सच्चा माता’ भन्ने कोरियन धर्मगुरु हाक जा हान मुनले एसिया प्यासिफिक सम्मेलनको उद्घाटन सत्रमा कोरियाली भाषामा सम्वोधन गरिन् ।

काठमाडौंमा भएको सम्मेलनको उद्घाटन सत्रमा विभिन्न देशका पाहुना थिए । शनिबार नै उद्घाटन सत्रलाई सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओली भने उनले सम्बोधन गर्नुअघि नै सम्मेलन स्थलबाट बाहिरिएका थिए ।

मुनले कोरियाली भाषामा सम्बोधन गरिन् । कार्यक्रममा उपस्थित विदेशी अतिथिहरुलाई भने सम्वोधनको अंग्रेजी रुपान्तरण उपलब्ध गराइएको पाइएको छ । सम्वोधनको नेपाली उल्था गराउँदा उनले आफूलाई ‘जिसस क्राइस्टकी एक्ली छोरी’ भनेर स्वघोषणा गरेको भेटिएको छ, त्यो पनि पटक–पटक ।

आयोजक यूनिभर्सल पीस फेडरेसन नेपालले कार्यक्रम धार्मिक नभएको दाबी गरेको भए पनि उनको भाषण धार्मिक थियो । उनले क्रिस्चियानिटीको बखान गरेकी थिइन् । जिसस क्राइस्टले पूरा गर्न नसकेको जिम्मेवारी आफ्नो काँधमा रहेको उनले बताइन् । उनको सम्वोधनका केही बुँदाहरु यस्ता थिए :

– आज यो ब्रह्माण्डमा २०० देश भएता पनि तिनीहरु मालिक होइनन् । यसको मालिक भगवान हुनुहुन्छ । उहाँको बारेमा थाहा पाउनैपर्छ ।

– भगवानले जिससको छोरी सृष्टि गर्नुभयो । यसरी सृष्टि गर्नु भएको छोरी भएकाले भगवानको आशिर्वाद पाउने ठाउँ बनाउनु मेरो जिम्मेवारी हो । तर मान्छेले त्यो आशिर्वाद लिने समयमा लोभ प्रकट भयो । अनि भगवानसँग असम्बन्धित क्रियाकलापहरु सुरु भयो ।

– भगवान भनेको सृष्टि हो । सुरुवात र अन्त्य हो । त्यसैले लामो समयसम्म यो रक्षा गर्नका लागि मानवताको सृष्टि गर्नुभयो । धेरै आशा गर्नुभयो । ईश्वरले जिम्मेवारी दिनुभएको यस जगतको एक जनाले यसको रक्षा गर्नै पर्दछ । त्यही जिम्मेवारीको लागि जिसस क्राइष्टलाई ईश्वरको प्रतिनिधि भएर यस संसारमा पठाउनु भयो ।

– तर त्यस्तो जिम्मेवारी दिनु भएको मेरीले जिससको समस्या थाहा पाउनु भएन । उहाँलाई पूर्ण रुपमा सहयोग गर्न सक्नु भएन । जिससको त्यो स्थान कसैले बुझ्नै सकेन । अनि क्रसमा झुण्डिएर बित्नु भएपछि त्यो जिम्मेवारी पुरा गर्न २० औं शताब्दीमा सन् म्योङ मुनको रुपमा फेरि आउनुभयो ।

यो पनि पढ्नुहोस विवादै विवादमा मुछिएको यूपीएफ, जसका कारण सरकारले बदनामी कमायो

– जिससले पुरा गर्न नसक्नु भएको जिम्मेवारी पुरा गर्न हामी सच्चा मातापिताको रुपमा यहाँ आएका छौं । त्यसैले त्यस्तो जिम्मेवारी पुरा गर्न आएको ‘इजरायल क्षेत्र’को जिम्मेवारी कसरी पुरा गर्ने भन्ने कुरा म जिससकी छोरीलाई राम्ररी थाहा छ । जिससलाई मातापिता भएर पुरा गर्नुहोस भनेर जुन जिम्मेवारी भएको थियो, त्यो पुरा गर्न म जिससकी छोरी आएकी हुँ ।

– अनि ईश्वर एशियातिर प्रवेश गर्नुभयो र सच्चा मातापितालाई जिम्मेवारी दिनुभयो । किनभने यसलाई नयाँ रुपमा बुझ्ने ईश्वरको प्रतिनिधि भएमा मात्र ईश्वरको त्यो इतिहास र दायित्वलाई पुरा गर्न सकिन्छ भन्ने कारणले गर्दा हो ।

– १९४३ मा जिससको छोरी मेरो जन्म भयो र ईश्वरले सम्पूर्ण जिम्मेवारी मलाई दिनुभयो । कोरिया जापानबाट १९४५ मा छट्टिसकेको थियो । अनि कोरीया दुई ध्रुवमा विभाजित भयो । एकातिर डेमोक्रेसी र कम्यूनिजममा विभाजित भए ।

– १९५० मा नामै नसुनिएको अति गरीव राष्ट्र कोरिया आज सम्पन्न भएको छ । यूएनको १६औं राष्ट्रको सुचिमा छ । विश्वको प्रजातन्त्रको हिमायती बनेको छ । यी कुरालाई ईश्वरको आर्शिवादसँग जोड्न सकिन्छ । ईश्वरले जिससको छोरीमार्फत नै यो सम्भव बनाएको कुरा बताउन चाहन्छु ।

– सन् १९६० मा म ईश्वरको छोरी, जिससको छोरीको रुपमा यहाँ आएँ । क्रिष्चियनहरुले २००० वर्षको अवधिमा धेरै गल्ती गरे । ईश्वरको ईच्छा र आकांक्षा पुरा गरेनन् । फलस्वरुप यो समाधानको लागि सन म्योङ मुनमार्फत वास्तविक क्रिष्चियन संस्कृती पनि विश्वभरी फैलिदै गयो ।

– ईश्वरको उद्देश्य सँधै आफ्नो चाहनाको निरन्तरता हो । भौतिक रुपमा विकसित र स्वतन्त्र युरोपले पनि यो कुरा बिर्सियो, फलस्वरुप यूरोपमा पनि कम्यूनिज्म बढ्न थाल्यो र सत्यता बिर्सदै गयो । त्यो बिर्सने कोहि नभएर क्रिष्चियनीटी हो ।

–यो कुरा पनि सत्य हो कि क्रिष्चियनिटीबाट मात्रै ईश्वरको उद्देश्य पुरा हुन्छ । त्यसको लागि ईश्वरले जिससको छोरीको रुपमा मलाई पठाउनुभयो । ममार्फत आर्शिवाद लिएन भने कोहि पनि ईश्वरमा समाहित हुन सक्दैन ।

– विश्व शान्ति तथा एकीकृत परिवार संघमार्फत मेरो प्रत्यक्ष निगरानीमा ईश्वरीय आर्दशको काम भइरहेको छ । विगतको गल्तीलाई सम्झेर यूवाले यो कुरा बुझनै पर्दछ । मेरो उपस्थितिमा ईश्वरीय क्रियाकलाप गर्नै पर्दछ । अनि मेरो आशिर्वाद प्राप्त गर्‍यो भने त्यो प्रत्यक्ष ईश्वरको आशिर्वाद हुनेछ । ईश्वरीय आर्शिवाद प्राप्त गरेका पुस्ताहरु सबैतिर छरिएर म जिससकी छोरीको सन्देश बाँड्नुहुन्छ भन्ने कामना गर्दछु ।

– आर्शिवाद ब्यक्तिगत रुपमा अन्त्य हुँदैन । एक अर्कामा बाँड्नुपर्दछ । अनि मात्र तपाईहरु ईश्वरीय राज्य अर्थात छन् इल गुकमा रहन सक्नुहुन्छ । जिससको छोरी ममार्फत नेपालमा आशिर्वाद लिन आउनुहुने जो जो हुनुहुन्छ, सवैले यो सन्देश सवैतिर फैलाउनुहोस् र ईश्वरीय राष्ट्रको स्थापना गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment