Comments Add Comment

मेलम्चीको पानीः ६० दिनमा आउँछ कि रजत जयन्ती मनाउँछ ?

१६ मंसिर, काठमाडौं । मेलम्ची खानेपानी आउँछ, आउँछ भनेको वर्षौ भइसक्यो । खानेपानी मन्त्रालय सम्हाल्ने हरेक मन्त्रीको मुखमा झुण्डिन्छ, मेलम्ची आउँछ ।
काम पनि भइरहेको छ । तर, मेलम्चीको पानी पिउने काठमाडौं बासीको धोको अझै पुरा भएको छैन ।

पछिल्लो पटक खानेपानी तथा सरसफाइमन्त्री विना मगर दिएको दशैंको भाका पनि त्यसै टर्‍यो । यसले मेलम्चीलाई लिएर सरकारप्रति अविश्वासको पारो झन बढ्यो । नबढोस् पनि किन ? एक पटक होइन, पटकपटक झुक्याइसक्यो सरकारले ।

जनताले पत्याउनै छाडेपछि सरकारले पनि नयाँ भाका तोकेन । भाका नतोक्दा अन्यौल बढेको भन्दै आइतबार संसदको विकास तथा प्रविधि समितिले खानेपानी मन्त्रीमगर, मन्त्रालयका सचिव र आयोजना प्रमुखलाई बोलायो ।

सांसदहरु सोध्न चाहन्थे, मेलम्ची आउँछ कहिले ? तर, समिति बैठकमा मन्त्री मगर आइनन् ।

मन्त्रालयकै सचिव गजेन्द्र ठाकुर र मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कंडेल उपस्थित थिए । सांसदहरुलाई आश्वास्त पार्न खोज्दै सचिव ठाकुरले सबै काम सकिएर २ महिनामै पानी आउने ठोकुवा गरे ।

आफू मन्त्रालयमा आएको धेरै नभएको भन्दै उनले गल्ती पूर्वसचिवको टाउकोमा थुपार्न भ्याए । उनले भने, ‘म असार ६ गतेमात्रै आएको हुँ, आएको १५ दिन जस्तो त ताला खोल्नमै लाग्यो, ढिलाई पहिलेका कर्मचारी साथीहरुबाट भएको थियो ।’

पहिले जेजे भयोभयो, अब हुँदैन भन्दै उनले बारबार दोहोराएर भने, ‘म ठोकुवाका साथ भन्छु २ महिनामा सबै काम सकिन्छ त्यसको ७ दिनभित्र पानी आउँछ ।’

झलनाथ खनाल भन्छन्- पर्याप्त आधार देखिएन

त्यसअघि मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कंडेलले प्रस्तुतीका क्रममा २ महिनामा सम्पूर्ण काम सकिने र पानी काठमाडौं आउने बताएका थिए ।

तर कंडेलको भनाइ कसैले पत्याएनन् । सत्तारुढ नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नै भने, ‘२ महिनामा पानी आइपुगछ भन्ने आधार नै भएन ।’
लेभी तथा क्षतिपूर्तिको विषय अझै टुंगो लाग्न नसकेको भन्दै उनले त्यसको जिम्मा स्थानीय सरकारलाई दिएर काम छिटो सम्पन्न गर्न आग्रह गरे ।

सांसद रामबहादुर विष्टले २ महिना पछि पानी आइपुग्छ भन्ने आधार मन्त्रालयसँग माग गरे । दशैं अघि आउँछ भनेर हल्ला गरे पनि नआएको भन्दै अब दुई महिनामा आउछ भनने पनि कुनै आधार नरहेको उनले बताए । सांसद विषले भने, ‘पानी आउँछ त भनियो, यो भन्दा पहिले पनि दशैंमा आउँछ भनिएकै हो । आउँछ भनेर मात्रै हुँदैन आउने आधार केछ त्यो पनि चाहियो ।’

सचिवले ताली माग्दा सांसदको मुखामुख

खानेपानी मान्त्रालयका सचिव ठाकुर बोल्नु अघि धेरै सांसदहरु आक्रोशित बनेका थिए । सांसद गणेश पहाडीले त संसदीय समितिको ठाकुरले अपमान गरेको बताए ।

सचिव आफैंले प्रस्तुती राख्नुपर्नेमा आयोजनाका कार्यकारी निर्देशक कंडेललाई अगाडि सारेर आफू सुरक्षित हुन खोजेको र मिनि सांसदकै बद्नाम भएको उनले बताए । उनले सचिव ठाकुरलाई गम्भिर हुन समेत आग्रह गरे ।

जब सचिव ठाकुरको बोल्ने पालो आयो । उने भने, ‘केहि गल्ती भयो होला, आफ्नो छोरा सम्झेर माफी दिनू ।’ बैठकमा सहभागीहरुमाझ हाँसोको फोहोरा छुट्यो ।

सचिव ठाकुर भने रोकिएनन् । ‘मैले सरकारी सेवा गरेको ३५/३६ वर्ष भइसक्यो, तपाईहरु ढुक्क हुनुस पानी २ महिनामा आउँछ, आउँछ’ उनले ठोकुवा गर्दै भने । त्यत्तिकैमा कसैले ‘ताली’ भन्ने शब्द निकाल्यो तर, ताली बजेन ।

सचिव ठाकुरले ‘ताली बजाइदिनु भए हामीलाई हौसला हुनेछ’ भन्दै ताली माग पनि गरे । तर, समितिका सदस्य सांसदहरुले ताली बजाएनन्, मुखामुख गरे ।
‘मेलम्चीले रजत जयन्ती मनाउने सम्भावना छ’

मेलम्ची आनेपानी आयोजना शुरु भएको १७ वर्ष नाघिसकेको छ । सन् २००१ मा शुरु भएको योजना कहिले ठेकदार त कहिले के कारण अल्झिएको छ ।

त्यसतर्फ व्यग्य गर्दै समितिकी सभापति कल्याणीकुमारी खड्काले मेलम्ची आयोजनाले निर्माणको रजत जयन्ती मनाउन सक्ने बताइन् । सांसदहरुको भनाइ सुनिसके पछि सचिवतिर हेर्दै सभापति खड्काले भनिन्, ‘दुई दशक पुग्नै लागेको छ, अब यहीँ तरिकाले हो भने मेलम्चीले रजत जयन्ती नमनाउला भन्न सकिन्न ।’

आउँला त ६० दिनमा पानी ?

यो पनि पढ्नुहोस खानेपानी सचिवको ठोकुवा : ६० दिनमा मेलम्चीको पानी आउँछ

सचिवले ६० दिनमै काठमाडौंमा पानी आउने बताइरहदा बैठकमा सहभागी सांसदहरुले भने पत्याएनन् । पत्याउने आधार नै नभएको सांसदहरुले बताए ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशककै प्रस्तुतिलाई आधार मान्ने हो भने पनि ६० दिनमा पानी आउन सक्ने सम्भावना अत्यन्तै कम छ । कंडेलले सम्बोधन हुन नसकेका स्थानीयका माग लगायतका समस्या देखाएका छन् ।

स्थानीयले लेभी माग गरिरहेको र लेभी नपाए पानी नै जान नदिने बताएको उनलेसुनाए । तर, स्थानीयको त्यो माग सम्बन्धमा सरकारले कुनै कदम अघि सारेको छैन । यसले पनि ६० दिनमै पानी आइपुग्छ भन्ने आशंका पैदा गरेको छ ।

आयोजनाको कार्यतालिकामा माघसम्म पानी आइपुग्ने छ छ । सचिवले भनेको ६० दिन माघ दोस्रो सातामै पुग्छ ।

तर, यो अवधिमा मेलम्चीको पानी आउने सम्भावना नरहेको सांसद गणेश पहाडी बताउँछन् । उनले भने, ‘भन्नलाई भनिएकै हो तर ६० दिनमा पानी आउने सम्भावना छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment