Comments Add Comment

प्रतापपुरका बासिन्दा अर्गानिक तरकारी खेतीतर्फ आकर्षित

१७ मंसिर, वीरगञ्ज । मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरका श्यामबहादुर राई अर्गानिक तरकारी खेतीमा व्यस्त छन् ।

उनको बारीमा भेन्टा, खुर्सानी बेच्ने बेला भइसकेको छ । यसैवर्षदेखि ८ कठ्ठा खेतमा तरकारी खेती गरेका उनी दैनिक एक क्विन्टल तरकारी टिप्दैछन् ।
उनको जस्तै हरिबहादुर राईको दैनिकी पनि बदलिएको छ । उनको अधिकांश समय हिजोआज तरकारी खेतमै बितिरहेको छ ।

६ कठ्ठामा भेन्टा, खुर्सानी लगाएका उनी दिनहुँ तरकारी टिपेर बजार पठाउँछन् । अन्य बाली भन्दा तरकारी बाली लाभदायक देखिएको उनको अनुभव छ ।

१४ हजार ८ सय ७८ रुपैयाँ तरकारी खेतीमा लगाएका उनी तरकारीले भाउ पाए मनग्य आम्दानी हुने सुनाउँछन् । ‘एकै लटमा लगानी उठ्यो, अब जति आउँछ, आम्दानी कै रुपमा हुन्छ,’ उनले भने ।

प्रतापपुरमा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)को आर्थिक सहयोगमा तराई भू-परीधि कार्यक्रम (ताल)को सहयोगमा किसानले १ सय २५ कठ्ठामा तरकारी खेती गरेका छन् ।

कार्यक्रममार्फत गठन गरिएको ५ वटा समूहका प्रत्येक सदस्यलाई कम्तीमा १ कठ्ठामा अर्गानिक खेती गर्न प्रोत्साहन गरिएको छ । समूहका सबै सदस्य अर्गानिक तरकारी खेतीमा होमिएका छन् । प्रत्येक समूहमा २५-२५ घरधुरी किसान आबद्ध छन् ।

तरकारी खेती गर्न थालेपछि जंगली जनावरको आतंक कम हुनुको साथै आय आर्जनसमेत हुन थालेपछि स्थानीय दंग छन् । परम्परागत अन्न उत्पादन भन्दा तरकारी खेतीबाट बढी आम्दानी हुन थालेको स्थानीय गुँरास राईको अनुभव छ । ‘भेन्टा, सिमी, खुर्सानी लगायतका तरकारी उत्पादन गर्न थालेपछि जंगली जनावर गाउँ नै कम पसेका छन्, गाउँ पसि हालेपनि खानेकुरा नपाएपछि त्यसै फर्केका छन्,’ उनी भन्छिन् ।

तालका फिल्ड कार्यक्रम अधिकृत श्रीकृष्ण चौधरी किसानलाई तरकारी खेती गर्न कार्यक्रमले आर्थिक एवं प्राविधिक सहयोग गरेको बताउँछन् ।

उनका अनुसार किसानलाई तरकारी जोख्न डिजिटल तराजु, अर्गानिक झोल छर्ने ट्याङ्की, बीउबिजन खरिद गर्न प्रतिपरिवार ५ सय रुपैयाँ अनुदान दिइएको थियो ।
हेटौंडा, काठमाडौंलगायत क्षेत्रमा तरकारी सजिलै बिक्री हुने भएका कारण किसानहरुलाई तरकारी नबिक्ला भन्ने चिन्ता छैन ।

गाउँबाट दैनिक एक गाडी तरकारी संकलन भइरहेको छ । अर्गानिक तरकारी काठमाडौंको कालिमाटी बजारसम्म पुगिरहेको छ ।

मनहरी उपभोक्ता समितिको सदस्यसमेत रहेकी कृष्णमाया राई गाउँमा तरकारी खेतिबाटै किसानहरुले मासिक ४० देखि ४५ हजारसम्म आम्दानी गरिरहेको बताउँछन् ।

आफूले १० कठ्ठा खेतमा तरकारी बाली लगाएको बताउने उनी तरकारी खेती प्रतापपुरका बासिन्दाका लागि बरदान सावित भएको बताउँछिन् ।

स्थानीयको उत्साहलाई देखेर मनहरी गाउँपालिका, ताल र अन्य संघ संस्था मिलेर गाउँमा तरकारी संकलन केन्द्र नै निर्माण गरिरहेका छन् ।

वनक्षेत्र आसपासका बासिन्दा निकुञ्जमा प्रवेश गर्ने र निकुञ्जबाट जङ्गली जनावर गाउँमा पस्दा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्ने गरेको छ । जीवजन्तु र मानवबीचको द्वन्द्वबाट कसैलाई लाभ मिल्दैन ।

उपभोक्ता जंगल नजाउन र जंगली जनावर बस्तीमा नआउन भन्ने उद्देश्यले नै जंगलमा आश्रति जंगल छेउका समुदायको जिविकोपार्जनमा सुधार ल्याउन तरकारी खेति गर्न प्रोत्साहन गरिएको तराई भू-परीधि कार्यक्रमका सामुदायिक संरक्षण सहजकर्ता बेदहरी दहाल बताउँछन् ।

पर्सा राष्ट्रिय निकुञ्जभित्र पर्ने राप्ती खोला पारी रहेको साविकको मनहरी गाविसको रमौली र प्रतापपुर गाउँका ३ सय ७३ घरधुरी बासिन्दालाई ५ वर्षअघि खोला वारी स्थानान्तरण गरिएको थियो । उनीहरुले सट्टा भर्नामा पाएको जमीनमा नयाँ बस्ती बसेको छ ।

नयाँ बस्तीका बासिन्दाको वनजंगल माथिको निर्भरता घटाउन र मानव वन्यजन्तु बीचको द्वन्द्व कम गर्न तरकारी खेती लाभदायक देखिएको पर्सा राष्ट्रिय निकुन्ज अन्तर्गतको मध्यवर्ति समुदायिक वन व्यवस्थापन समूहका अध्यक्ष पदमबहादुर तितुङ बताउँछन् ।

उनी तरकारी खेतीले गाउँमा आमूल परिवर्तन ल्याईरहेको बताउँछन् । ‘अन्नबाली लगाउँदा निकुन्जबाट आउने हात्ती, बदेल, चित्तल आदि वन्यजन्तुले बालीनाली खाएर र माडेर नष्ट पार्थेे, तरकारी बाली लगाएपछि त्यति दुःख दिएको छैन,’ उनले भने, ‘आर्थिक रुपमा पनि लाभदायक नै देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment