Comments Add Comment

नविन्द्रराज जोशीलाई प्रश्नः देउवासँग हार मानिसकेको हो ?

पछिल्लो समय नेपाली कांग्रेस विधान संशोधनका लागि छलफलमा जुटेको छ । रामचन्द्र पौडेल पक्षधर नेताहरु पदाधिकारीको संख्या बढाउने पक्षमा छन् भने पार्टी सभापति शेरबहादुर देउवा पक्ष अहिलेकै संख्या कायम राख्ने पक्षमा छ ।

पार्टी सभापति देउवालाई लागेको छ– पदाधिकारी संख्या नबढाए पौडेल समूहका नेताहरुको व्यवस्थापन हुन सक्दैन र १४ औं महाधिवेशनबाट फेरि नेतत्वमा आउन सकिन्छ ।

यसै सन्दर्भमा हामीले विधान मस्यौदा समितिमा सदस्यसमेत रहेका पौडेलनिकट केन्द्रीय सदस्य नवीन्द्रराज जोशी लाई सोध्यौं– तपाईंहरुको समूहले पदाधिकारीको संख्या बढाउन खोज्नुको भित्री रहस्य के हो ?

जवाफमा जोशीले अनलाइनखबरसँग भने– ‘मलाई धेरै साथीहरुले धेरै प्रश्न गरे । जिल्लाबाट पनि पदाधिकारीको संख्या किन बढाउनुपर्छ भन्नुहुन्छ भनेर सोधे । यसमा मेरो कुरा ‘क्लियर’ छ ।’ विधान संशोधनका विषयमा कांग्रेसभित्र भइरहेको बहसमा केन्द्रित रहेर अनलाइनखबरले जोशीसँग गरेको कुराकानीः

कांग्रेस अहिले विधान संशोधनका लागि छलफलमा जुटेको छ, तर मस्यौदा समितिमै गुटगत छलफल मात्रै भयो भन्छन् नि ?

कुन कुरामा सहमति, कुनमा असहमति भिन्नै प्रशंग हो । तर, खुला बहस गरेका छौं । सबैले प्रस्तावनादेखि नै आ–आफ्नो दृष्टिकोण राख्यौं । मस्यौदा समितिका साथीहरुले दशैंतिहार नभनी मेहनत गर्नुभएको छ । मलाई के लाग्छ भने फरक दृष्टिकोणको बहसबाट कांग्रेस अगाडि बढ्दा क्रियाशील सदस्यहरु साँच्चीकै क्रियाशील हुन्छन् । साथीहरुको मूल्यांकन हुन्छ र पार्टी पद्दतिअनुसार चल्छ ।

पहिला सभापति निकट समूह पदाधिकारी संख्या बढाउनुपर्छ भन्थे, अहिले तपाईहरु बढाउनुपर्छ भन्दै हुनुहुन्छ, खास कुरा के हो ?

मलाई धेरै साथीहरुले धेरै प्रश्न पनि गरे । जिल्लाहरुबाट पनि पदाधिकारी संख्या किन बढाउनुपर्छ भन्नुहुन्छ भनेर सोधे । यसमा मेरो कुरा ‘क्लियर’ छ ।

कांग्रेसले निर्वाचनका बेला आफ्ना सबै संयन्त्रलाई पूर्णरुपमा सञ्चालन गर्न सकेन, अनुशासित रुपमा परिचालन गर्न सकेन । समाजमा निरन्तररुपमा खट्नुपर्ने कार्यकर्तालाई खटाउन सकेनौं । पार्टी संगठनमा कहाँ, के कमी भयो हेरविचार गर्न सकेनौं । भ्रातृ संगठनहरु के गरिरहेका छन्, के समस्या छ भन्ने हेरेनौं । कार्यकर्तालाई प्रशिक्षित गर्न सकेनौं । मैले देखेको समस्या हुन् यी ।

अब एउटा उपसभापतिले प्रशिक्षण विभाग चलाउनुस्, अर्कोले अनुशासन र अर्कोले सामाजिक परिचालन हेर्नुस् ।

महामन्त्री पनि तीनजना राखौं । एउटाले संगठन हेर्नुस्, अर्कोले भ्रातृ संगठन हेर्नुस्, अर्कोले अहिलेको राजनीति कता गएको छ, अरु दल के गर्दैछन् विश्लेषण गर्नुस् ।

जसले राष्ट्रका लागि बलिदान गरेको छ, उसलाई राष्ट्रियताको मुद्दामा अर्कोले पछि पार्‍यो । भारतका तत्कालीन प्रधानमन्त्री नेहरुले नेपाललाई केही पर्‍यो भने हामी सहयोग गर्छौ भन्दा वीपीले भन्नु भएको थियो, माफ गर्नुहोला, प्रधानमन्त्रीज्यू, नेपाल आफ्नो सुरक्षा गर्न आफैं सक्षम छ । यो ठूलो च्यालेञ्ज थियो । यस्तो पार्टीलाई अर्कोले उखान टुक्का जोडेर के–के भन्यो भन्यो । खै त पार्टीले त्यसको खण्डन गर्न सकेन, भ्रमपूर्ण प्रचार चिर्न सकेन । त्यसैले, राजनीतिक दलका रुपमा काम गर्न हामीले यसमा ध्यान दिनुपर्छ ।

सहमहामन्त्री पनि तीनजना राखौं । किनभने भोलि कांग्रेसको नेतृत्वमा आउन चाहनेले काम गर्ने, ट्रेनिङ लिने ठाउँ होस् । उसले सभापति, उपसभापति र महामन्त्रीहरुसँग मिलेर धेरैभन्दा धेरै काम गरोस् र सिकोस् पनि ।

यो सँगसँगै नेता व्यवस्थापन पनि होस् । किनभने कांग्रेसमा लागेकाहरुको साह्रै अव्यवस्था भयो । सारा जीवन पार्टीमा लगाएको छ, आफ्नो जीवनमा आएको अरु सबै अवसर गुमाएको छ । अनि भोलि के गर्ने भन्ने निराशामा बस्नुपर्ने अवस्था नहोस्, सबै नेता कार्यकर्ताको संरक्षण होस् । पद नै दिनुपर्छ भन्ने होइन तर, राजनीतिक सम्मान दिनुपर्छ । त्यसैले पदाधिकारी बढाउनुपर्छ भनेको छु ।

कांग्रेसको अहिलेको समस्या पदाधिकारी संख्या नपुग्नु हो र ? विधानमा भएकै पदहरुमा मनोनयन गर्न दुई वर्षभन्दा बढी लाग्यो । विभागहरु अझै बनेकै छैनन्…

म विगतमा जान्नै चाहन्न । इतिहास हाम्रो गौरव हो, त्यही जगमा उभिएका छौैं र भविश्यतिर हेरिरहेको छु । तपाई आफैं भन्नुस् न, चुनावका बेला उपसभापति भएको भए राम्रो हुन्थ्यो होला नि । महामन्त्री भएको भए राम्रो हुन्थ्यो होला नि । विभाग बनेको भए ५०० मान्छे त सक्रिय हुन्थे होला नि । फरक पर्छ, किन नपर्नु ? तर, म फेरि पनि भन्छु, म विगततिर जान चाहन्न । भविश्यमा गौरव गर्ने पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्न चाहन्छु ।

तर, तपाईले पदाधिकारी बढाउनुपर्छ भन्नुको कारण भोलि रामचन्द्र पौडेल सभापतिको उम्मेदवार हुँदा सबै नेतालाई व्यवस्थापन गर्न सकियोस् भनेर हो । देउवा पक्षले बढाउनुहुन्न भन्नुको कारण पनि पौडेल क्याम्पमा नेता व्यवस्थापन नहोस् र आफू सहजै चुनाव जितेर आउन पाउँ भनेर हो भन्छन् नि ?

मेरो दृष्टिकोण मैले तपाईंलाई भनें, यसमा म प्रष्ट छु । अब नेताहरुले आ–आफ्नो कुरो त गरिराख्छन् ।

तर, नेताहरुको त्यही कुरा तपाईमार्फत व्यक्त भएको हो कि ?

नेताहरुको व्यवस्थापन हुन्छ भने के बिग्रियो त ? हाम्रा अग्रज नेताहरु, जसले पार्टीका लागि समय दिएका छन्, त्याग गरेका छन्, उनीहरुको सबैको व्यवस्थापन भयो त के बिग्रियो ? मेरो कुनै पूर्वाग्रह छैन ।

दुबै पक्षबाट विधानमा के व्यवस्था राख्दा आसन्न १४ औं महाधिवेशनमा आफूलाई अनुकुल हुन्छ भन्ने पनि हेरियो भन्छन् नि ?

राजनीति गर्नेले आफ्नो अनुकुलता पनि हेर्छन्, म यसलाई पुरै अस्वीकार गर्दिनँ । तर, मैले मूलरुपमा कुन अधिवेशन आउँदैछ भन्दा पनि भोलि कांग्रेसले राष्ट्रलाई नेतृत्व दिन सक्ने परिस्थिति कसरी बन्न सक्छ र कांग्रेसका कार्यकर्ताले समाजमा कसरी सम्मानित महसुस गर्न सक्छन् भन्ने हेरेको छु ।

तर, रामचन्द्र पौडेल समूहले देउवा फेरि सभापति हुने नै भए, रोक्न नसकिने भयो भनेर एक प्रकारले अहिले नै हार स्वीकार गरेको जस्तो देखियो । विधान संशोधन गर्दा कसरी रोक्न सकिन्छ भनेर हेरियो भन्छन् नि ?

मिडियामा के–के आएको छ, मलाई थाहा छैन । तर, मेरो दृष्टिकोणमा को सभापति हुने भन्दा पनि सभापति कस्तो हुनुपर्छ र कसरी अगाडि बढ्नुपर्छ भन्ने हो । सभापति त सबैको हो, उहाँले सबैलाई समेटेर अगाडि बढ्नुपर्छ । नियुक्त गरेको मान्छे आफ्नो हुने, चुनावबाट आएको नहुने भन्ने थाल्यो भने बर्बाद भइहाल्यो नि ।

पार्टीभित्र पक्ष–विपक्ष हुन्छ, आआफ्नो दृष्टिकोण राख्छन् । राजनीति गर्न आएका हौं, जनताको भलो गर्छु भनेर आएको हो, उसले आफ्नो दृष्टिकोण त राख्छ राख्छ । नेताले चित्त बुझाउँछ, बुझाउँदैन दोस्रो कुरा हो । त्यसैले कसको पक्ष र विपक्षमा भन्ने मुख्य होइन ।

होला, कहीँ न कहीँ कर्नरमा त्यसले पनि प्रभाव पारेको होला, त्यसलाई पूर्ण अस्वीकार गर्दिनँ ।

पदाधिकारीपछि अर्को विवाद सदस्यतामा देखिन्छ । तपाईहरु चाहिँ अहिलेकै व्यवस्थाको पक्षमा ?

मैले अहिले भएको व्यवस्थालाई अझ व्यवस्थित बनाएर लैजानुपर्छ भनेको छु । मेरो प्रस्तावअनुसार सदस्य वा अहिले जस्तै साधारण सदस्य र क्रियाशील सदस्य रहन्छन् । अहिलेसम्म भएका क्रियाशील सदस्य अन्यथा (पार्टी छाडेका) बाहेक स्वतः क्रियाशील सदस्य नै हुने भए । नयाँको हकमा कांग्रेसको सदस्य बनेर दुई वर्ष काम गरेपछि मात्र क्रियाशील सदस्यत हुन पाइन्छ ।

फेरि क्रियाशील सदस्यबारे केन्द्रले होइन, वडाले निर्णय गर्नुपर्छ । यो–यो सदस्य क्रियाशील छन्, उनीहरुलाई अब क्रियाशील सदस्य बनाउनुपर्छ भनेर वडाले सिफारिस गर्छ । त्यसको जानकारी सबै सदस्यलाई दिइन्छ र माथिल्लो समितिले अनुमोदन गर्छ ।

बुझ्नुपर्ने एउटा कुरा के छ भने कांग्रेसमा क्रियाशील सदस्यता नै हाम्रा मतदाता हुन् । त्यसैले यसमा चलखेल हुने सम्भावना रहन्छ । त्यसलाई न्यून गर्न को–को क्रियाशील सिफारिस भए सबैलाई जानकारी दिने र दिनुपर्नेलाई दिइएन वा दिन नहुनेलाई दिइयो भने उजुरी गर्न पाइने व्यवस्था राखौं भनेको छु ।

कांग्रेसको हरेक महाधिवेशनमा राजनीतिक विषयभन्दा बढी विवाद क्रियाशील सदस्यतालाई लिएर हुन्छ । तपाईको प्रस्तावले यसलाई सम्बोधन गर्छ त ?

पूर्ण सम्बोधन गर्छ त म भन्न सक्दिनँ । समस्यालाई न्यून बनाउने गरी हामीले यो प्रस्ताव ल्याएका छौं । अब क्रियाशील सदस्यता पार्टीमा निरन्तर चलिरहने प्रक्रिया हुन्छ । हिजो जब अधिवेशन आउन लाग्यो, क्रियाशील लिने–दिने हुन्थ्यो । अब साधारण सदस्य भएको २ वर्षमा मात्र क्रियाशील सदस्यता पाइन्छ ।

केही नेताले भनेजस्तो सदस्यलाई क्रियाशील सदस्य चुन्न दिनचाहिँ किन सकिँदैन ?

कांग्रेस ‘मास बेस पार्टी’ हो । सदस्यतामा हामी सबैलाई आकर्षित गर्ने प्रयास गर्छौं, तर ‘मास’ लाई परिचालन गर्ने भूमिका क्रियाशील सदस्यकै हुन्छ । मानौं, तपाई कांग्रेसको सदस्य हुनुभयो र तपाईलाई केही अप्ठ्यारो पर्‍यो भने दौडिने क्रियाशील हुन्छ । सबैमा दायित्व प्रदान गर्दा कसैमा पनि दायित्व नरहने स्थिति नहोस् । म राजनीति गर्छु भन्ने मान्छेलाई कहीँबाट थुनछेक हुन नसकोस् ।

विधानको मूल प्रस्तावमा भनिएजस्तो सदस्य मात्रै भन्ने र उनीहरुमध्येबाट केहीले मतदानको अधिकार पाउने हुँदा तपार्ईले भनेको जस्तो गर्न कहाँनिर अफ्ठ्यारो पर्छ ?

हामी अहिले नै त्यो सिस्टममा जान सक्दैनौं । किनभने हाम्रो राजनीति र समाजको मूल्यमान्यता हेर्दा कसैले सदस्यता लिन लगाएर आफू चाहेको पदमा आउन सक्छ ।

बरु हाम्रो प्रस्ताव अनुसार जाने हो भने धेरैभन्दा धेरै क्रियाशील सदस्य हुन सक्छन् । फेरि कांग्रेस ठूलो संघर्ष गरेर आएको ऐतिहासिक पार्टी हो, यसका निश्चित मूल्य मान्यता छन् । पार्टी संरचनाबारे बहस गर्दैगर्दा यो पनि सोच्नुपर्छ ।

सभापति शेरबहादुर देउवाले महाधिवेशन अगाडि भटाभट क्रियाशील सदस्यता बाँडेर भोट बढाउने डरले तपाईहरुले यो प्रस्ताव ल्याउनुभयो भन्छन् नि ?

डर होइन, निश्पक्ष होस् भन्ने चाहना हो । कसैले सिस्टम दुरुपयोग नगरोस् भन्ने हो ।

तपाईहरुले अहिलेको नेतृत्व पद्दतिमा हिँडेन भन्दै आउनुभएको हो । भनेपछि कहीँ न कहीँ डर त छ नि ?

नेतृत्व पद्दतिमा चल्नुपर्छ, संस्थागतरुपमा पार्टी सञ्चालन गर्नुपर्छ । विधान पालना त माथिल्लो मात्र होइन, तल्लो हतको नेतृत्वले पनि गर्नुपर्छ ।

अन्तिममा भनिदिनुस्, यो प्रस्तावलाई मस्यौदा समितिले जस्तै केन्द्रीय समितिले बहुमतबाट पारित गर्‍यो भने ?

त्यो सम्भावना म देख्दिनँ ।

यसको मतलव, नयाँ सहमतिको प्रस्ताव आउँछ त ?

किनभने सहमतिबाटै कांग्रेस अगाडि बढेको सन्देश पनि दिनु छ । महासमितिमा विधान संशोधन गर्न दुई तिहाई चाहिन्छ, जुन त्यसबेला मात्र सम्भव छ, जतिबेला केन्द्रीय समितिबाट सहमतिमा जान्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment