Comments Add Comment

विराटनगर भन्सार जाँचचौकी निर्माण सुस्त, २२ महिनामा मात्रै ६२ प्रतिशत काम

१८ मंसिर, विराटनगर । मोरङको बुधनगरमा निर्माणाधीन एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) को प्रगति सुस्त देखिएको छ । २ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि २२ महिनामा ६२ प्रतिशत मात्र काम पूरा भएको छ ।

भारततर्फ जोगवनीमा भने दुई वर्षअघि नै आईसीपी निर्माण भएर सञ्चालन आइसकेको छ ।

नेपालतर्फको आईसीपी निर्माणको ठेक्का दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादले पाएको छ । ठेकेदार कम्पनीका इन्जिनियर अवधेशकुमार साहले काम भइरहेको दाबी गरे । ‘पहिलो चरणको काम भइरहेको छ’, उनले भने, ‘लिंक रोड र आईसीपी हाताभित्र भौतिक संरचना निर्माणको काम भइरहेको छ ।’

आईसीपी निर्माणमा प्रयोग हुने सबै सामग्री र उपकरणमा भन्सार महसुल र राजश्व छुटको सुविधा छ । आईसीपी ८५० मिटर लम्बाइ र ५०० मिटर चौडाइको हुनेछ ।

आईसीपीका लागि १२९ बिघा र चार लेनको लिंक रोडका लागि ४० बिघा जमिन छुट्याइएको छ । लिंक रोडलाई रानी–विराटनगर राजमार्गसँग जोडिनेछ ।

सुविधासम्पन्न संयुक्त भन्सार जाँचचौकी निर्माणका लागि नेपाल र भारतबीच सन् २००५ मै सम्झौता भएको थियो । भारतले जोगबनीमा आईसीपी निर्माण सके पनि नेपालमा जग्गा हस्तान्तरण ढिलो हुँदा विराटनगरको कटहरीसम्म आउने रेलमार्गको काम पनि अगाडि बढ्न सकेको छैन ।

नेपाल र भारत सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको जाँचचौकी सञ्चालनमा आएपछि भन्सार जाँचपास र अवागमनमा सहज हुने पूर्वका उद्योगी–व्यापारीको अपेक्षा छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले आईसीपी सञ्चालनमा आएपछि तेस्रो मुलक र भारतबाट ल्याइने औद्योगिक कच्चा पदार्थलगायतका सामग्रीको भन्सार जाँचपास सहज हुने बताए । उनले भने, ‘यसले आयात, निर्यात दुवैलाई सहज बनाउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment