+
+

३० वर्षे जागिरबाट अवकासपछि केरा फलाउँदै हिमप्रसाद

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १८ गते १८:०३

१७, मंसिर, चितवन । जागिरे जीवनबाट निवृत्त हुनेमध्ये धेरैले परिवारसँग आरामको जिन्दगी बिताउँछन् । केहीले चाहिँ राजनीति वा समाजसेवामा आफूलाई भिजाउन खोज्छन् ।

तर, भरतपुर १२ का हिमप्रसाद भट्टराईले फरक विकल्प रोजे । तीन दशक लामो जागिरे जीवनबाट निवृत्त भएलगत्तैं भट्टराईले व्यवसायिक कृषिकर्ममा लागेका छन् । अहिले उनको दैनिकीको ठूलो हिस्सा खेतिबारीमा नै बित्छ ।

उनले जीविका चलाउन वा आर्थिक समस्या भएर कृषिमा हात हालेका होइनन् । उनका घरपरिवारका सदस्यहरु सवै आ-आफ्नो खुट्टामा उभिएका छन् । एक छोरा सिभिल इञ्जिनियर हुन् भने अर्का छोराबुहारी दुबैं जना डाक्टर ।

भट्टराई भन्छन् ‘सेवानिवृत्त जीवनको सदुपयोग गर्न र देशलाई पनि केही योगदान होस् भनेर यता हात हालेको हुँ ।’

भट्टराई ३० वर्षसम्म कृषि विकास बैंकको जागिरे थिए । गत माघमा मात्रै शाखा प्रबन्धकबाट निवृत्त भएका हुन् । गएको वर्ष फागुनबाट नै व्यवसायिक कृषि सुरु गरेका भट्टराई यतिबेला पूर्वी चितवनको पर्सा वरपरका खेतहरुमा भेटिन्छन् ।

५८ वषिर्य भट्टराई २० वर्षे युवा जस्तै आफ्नो खेतीमा खटिने गर्छन् । खैरहनी नगरपालिकाका विभिन्न वडामा २३ विगाहा जमीन भाडामा लिएर उनले अहिले केरा, भुइकटहर, ड्रागनफ्रुट, कुरिलो, लसुन, मेवा खेतीलगाएका छन् । उनले इच्छाकामना गाउँपालिकामा दुई विगाहामा सुन्तला खेती पनि लगाएका छन् ।

भट्टराईलाई स्थानीय सूर्यभक्त ओझाले साथ दिएका छन् । दुई जनाले ६० लाख रुपैयाँ लगानी गरेर यो व्यवसाय सुरु गरेका हन् । १० विगाहामा हरियो केरा, १० विगाहामा मालभोग केरा खेती लगाइएको छ भने तीन विगाहामा अर्गानिक मिश्रति खेती छ । उनीहरुले गत वर्ष वाणिज्य बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरेका थिए । गएको फागुनमा लगाएको केरा अहिले बिक्री गर्न सुरु भएको छ । चार ४ विगाहाको केरा अहिले तयारी अवस्थामा पुगेको छ ।

भट्टराईले भने, ‘चार विगाहाको केरा बिक्री सुरु भइसकेको छ । अरु फल लाग्ने अवस्थामा पुगेको छ, माघ/फागुनसम्म पहिलो पटक लगाएका केराको एक चरण उत्पादन लिइसक्छौं ।’

हटीकल्चर (फलफूल विज्ञान) मा एमएस्सी गरेका भट्टराईलाई यो व्यवसायमा कुनै समस्या छैन । उनले भने, ‘मैले अध्ययन गरेको विषय नै यही भएकोले सबै कुरा बुझेको छु । फलफूलको जात अनुसारको माटो, सिंचाई, औषधि, लगाउने विधिका बारेमा मलाई राम्ररी थाहा छ ।’ उनले सबै खर्च कटाएर वार्षिक ५० लाख आम्दानी हुने अपेक्षा राखेका छन् ।

अर्गानिक फार्म स्टे (आवासीय प्राङ्गारिक र्फम) समेत सञ्चालन गर्ने तयारी गरिरहेका छन् उनीहरु । अर्गानिक खेती गरिएको ठाउँ नजिकै फार्म स्टे सञ्चालनका लागि गृहकार्य भइरहेको भट्टराईले बताए ।

नेपालमा केही हुँदैन विदेश जानेहरु धेरै छन् । तर, भट्टराईको भनाइमा कर्म गरे नेपालको माटो बल्ने खालको छ, यहाँ सुन फल्छ । ‘विदेशमा जति मेहनत गर्‍यौं भने देशभित्र के हुँदैन ?’ उनले भने, ‘तर, पाखुरीमा जाँगर हुनुपर्‍यो ।’

व्यवसायिक कृषि गर्न चाहने कुनै युवा वा समूह भए आफूले उनीहरुलाई प्राविधिक ज्ञान सीप दिन सक्ने भट्टराईले बताएका छन् । ‘मजस्ता कयौंं व्यक्तिहरु कृषिमा लाग्नुपर्दछ अनि बल्ल देशको परनिर्भरता हटाउन सकिन्छ’ उनले भने, ‘राज्यले आवश्यक तालिम, ऋण र पूर्वाधार तयार गरिदिनुपर्दछ ।’

आफ्नो उमेरकालाई पनि उनी सुझाव दिन्छन् ‘निवृत्त हुनुभनेको काम गर्न नसक्नु वा बुढो हुनु हैन, यो उमेरमा स्वस्थ रहन झन् बढि सक्रियता चाहिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?