Comments Add Comment

बच्चालाई यसरी खुसी र आनन्दित हुन सिकाउने कि ?

खुसी रहनु वा आनन्दित हुन अहिलेको समयको सबैभन्दा अह्म आवश्यक्ता हो । अब दुनियाले थाहा पाइसके कि, आनन्दको जीवन किन अपरिहार्य बन्दैछ । आनन्दित वा खुसी हुनु भनेको एक यस्तो भावनात्मक अवस्था हो, जसले मानिसमा नकारात्मक भावहरु पैदा हुन दिदैन ।

आनन्दित वा खुसी हुनका लागि कुनै भौतिक साधनको जरुरत पर्छ भन्ने छैन । यो मनको अवस्था हो । मानसिकताको कुरा हो । जब हामी आनन्दित र खुसी अनुभूत गरिरहेका हुन्छौं, त्यसको प्रभाव हाम्रा छोराछोरी, साथीभाई सबैमा पर्छ ।

एउटा बच्चा आनन्दित एवं खुसी महसुष गर्छ भने, त्यसको संचार उनको पुरा परिवारमा पर्छ । त्यसैले बच्चालाई नै हामीले यसमा अभ्यस्त गराउनुपर्छ । र, यसका लागि कक्षाकोठाको पनि अहंम् भूमिका छ, जहाँ बच्चाले अधिकांश समय गुजार्छन् ।

बच्चालाई दिनुहोस् ‘दिनुको आनन्द’को शिक्षा

हाम्रो प्रवृत्ति के हुन्छ भने, जब कुनै कुरा प्राप्त गर्छौं, तब आनन्दित महसुष हुन्छ । लिएर, पाएर नै हामी खुसी हुने गर्छौं । जबकी दिएर वा गुमाएर खुसी हुने प्रवृत्तिको विकास हुँदैन ।

हाम्रा पूर्खाहरुले दान दिने, क्षमा दिने कुरालाई मानविय गुणमा राखेका छन् । तर, हामी कञ्जुस भएका छौं । हामी भरिपूर्ण भएर पनि केही गुमाउन वा केही दिन चाहँदैनौ । यद्यपी आफ्ना बच्चामा यहि अवगुण नदेखियोस् ।

उनीहरुलाई आफुसँग भएको कुरा, आफुले आर्जन गरेको कुरा, आफुले संचय गरेको कुरा अरुलाई दिन सिकाऔं । र, यसरी अरुलाई दिएपछि जुन सन्तुष्ट प्राप्त हुन्छ, त्यसको अनुभूत गराऔं ।

सामान्य अभ्यास यसरी पनि गर्न सकिन्छ । विद्यालयको कुनै पर्खालमा आकर्षक रंगले पोत्नुपर्छ । त्यहाँ ‘दानवीरको ढोका’ भनेर लेखौं । बच्चासँग भएका अतिरिक्त सामाग्री जस्तो पेन्सिल, पुस्तक, खेलौना त्यहाँ दिने व्यवस्था गरौं । यसरी संकलन भएको सामाग्री अरु दुर्गम वा अभावमा भएका बालबालिकालाई सहयोग गरौं ।

आनन्द दिनुमा छ, अरुको कब्जा गर्नुमा होइन । यहि कुरा सिकाउनुपर्छ ।

शिक्षामा ‘पहिले मित्रता र त्यसपछि मात्र स्पर्धा’को नीति लागु गराउने

अहिले बच्चाहरु एक्लिदै गएका छन् । उनीहरु साथीभाईसँग घुलमिल हुँदैनन् । सामाजिक काममा संलग्न हुँदैनन् । जबकी यी कुराहरुबाट जति टाढा भइन्छ, उत्तिनै दुख, पीडा अनुभूत हुन्छ । यसको अर्थ के हो भने, जति धेरै साथी बनाउँछौं, जति धेरै मित्रवत् व्यवहार गरिन्छ, उत्तिनै खुसी र आनन्द मिल्छ ।

कक्षा कोठामा हामीले बच्चालाई सबैसँग मित्रवत् व्यवहार गर्न सिकाउनुपर्छ । निश्चय पनि उनीहरु आपसमा प्रतिस्पर्धी हुन्छन् । एकअर्कासँग खेलकुद, पढाइमा प्रतिस्पर्धा गरिरहेका हुन्छन् । तर, प्रतिस्पर्धाको भावना मात्र प्रवल भइरहँदा त्यसले उनीहरुमा दम्भ, कुण्ठा, ग्लानी आदिको विकास हुन्छ । यसले उनीहरुलाई कहिल्यै आनन्द दिदैन ।

कुनैपनि प्रतिस्पर्धामा एकाध बच्चाले सफलता हासिल गर्छन् । त्यही विद्यार्थी खुसी हुन्छन् । बाँकी बालबालिकाले हीनताबोध गर्न सक्छन् । यसरी हीनताबोध नगराउनका लागि र सधै जागरुक बनाउनका लागि उनीहरुलाई साथीको जितमा उत्सव मनाउन पनि सिकाउनुपर्छ ।

अर्को कुरा उनीहरुलाई टिमवर्कको भावना र महत्वबारे पनि जानकारी दिनुपर्छ । धेरैजसो खेल टिममा खेलिन्छ । टिममा समावेश हरेक सदस्यको सही सक्रियता र प्रयासबाट जित हासिल हुन्छ । यसरी एकअर्कामा सहयोग गर्ने बानीको विकास हुनुपर्छ ।

शिक्षालाई बनाउनुपर्छ मनोरञ्जक

हाम्रो बच्चा विद्यालय जाने समय अँध्यारो अनुहार लगाउँछन् । रुन्छन् । झगडा गर्छन् । मानौ विद्यालय जानु भनेको सजाय झेल्नु हो । उनीहरु यस्तै ठान्छन् ।

जुन दिन विद्यालय विदा हुन्छ, उनीहरु खुसीले उपि|mन्छन् । फुरुंग हुन्छन् । मानौ उनीहरु कैदी हुन् जो विद्यालयबाट छुट्दा हुर्रे भन्दै रमाउँछन् ।

किन यस्तो हुन्छ ?

किनभने विद्यालयमा बालबालिकाले एक किसिमको दवाव महसुष गर्छन् । उनीहरुले त्यहाँ जानु, पढ्नुलाई फरक कामको रुपमा लिन्छन् । जबकी त्यही बच्चा कुनै पार्क वा खेलमैदानमा पुर्‍याइने हो भने खुसीले उफ्रिन्छन् । त्यसो भए विद्यालय एवं कक्षा कोठालाई किन त्यस्तो नबनाउने, जहाँ प्रवेश गर्दा विद्यार्थी फुरुंग होस् ।

बच्चालाई खेल खेलमा सिकाउनुपर्छ । खेलको माध्यामबाट सिकेको कुरा दिगो र जीवनोपयोगी हुन्छ भनिन्छ । त्यसैले कक्षा कोठालाई उनीहरुको खेल्ने स्थान जस्तै बनाइदिनुपर्छ । त्यहाँ उनीहरु निर्धक्क र उन्मुक्त ढंगले खेल्न पाउनुपर्छ । खेलको माध्यामबाट नयाँ कुरा सिक्ने वा आर्जन गर्ने व्यवस्था मिलाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment