Comments Add Comment

ट्याङ्करबाटै तेल चोरी प्रकरण अझै रहस्यमय

१९ मंसिर, मोरङ । ट्याङकरमा लगाइएको आधुनिक लकिङ सिस्टम छलेर डिजेल चोरिएको प्रकरण रहस्यमय बनेको छ ।

गत मंसिर ६ गते नेपाल आयल निगम विराटनगर डिपोका लागि भारतीय आयल कर्पाेरेशन बरौनीबाट डिजेल ल्याउने क्रममा बाटोबाटै २५ सय लिटर डिजेल चोरी भएको थियो ।

दुईसाता अघि भएको चोरी प्रकरणको छानबिनका लागि आयल निगमले गठन गरेको छनबिन समितिले अध्ययन गरी बुझाएको प्रतिवेदन नै गोप्य राखिएपछि घटना रहस्यमय बनेको हो ।

आयल निगमले अन्जना पोखरेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले फिल्ड अध्ययन गरी बुझाएको प्रतिवेदन निगमले सार्बजनिक गरेको छैन् ।

डिजल चोरी प्रकरणमा मुछिएका नेपाल आयल निगम विराटनगर प्रदेश कार्यालयका निर्देशक दिनेशकुमार यादवले चोरी प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएका छन् । बुधवार पत्रकार सम्मेलन गरी उनले आफ्नो कुनै संलग्नता नभएको बताएका हुन् ।

नेपाल आयल निगमभित्र विवादास्पद छबि बनाएका यादवकै निगरानीमा रहने चाबीको प्रयोग गरी डिजेल बाटोबाटै चोरी भएको थियो । तर उनले आफ्नो कुनै संलग्नता नभएको बताएका हुन् ।

छानविन समितिको प्रतिवेदन सार्वजनिक नभएकोले आफुले बोल्न नमिल्ने भन्दै उनले पत्रकार सम्मेलनमा चोरीको कारण बताउन चाहेनन् ।

निर्देशक यादवले पत्रकार सम्मेलन पनि मन्त्रालयकै सुझाव अनुसार गरेको बताए । ‘मन्त्रालयबाट समेत भनिएकोले पत्रकार सम्मेलन गरिएको छ’ उनले भने- ‘निगमको कानून बमोजिम चालक र ट्यांकर सञ्चालकलाई कारवाही भइसकेको छ ।’

उनले चोरी घटनामा संलग्न रहेको ट्यांकर नम्बर को१ख ५९६५ का चालक र ढुवानीकर्तालाई तत्कालै कारवाही गरिएको जानकारी दिए ।

संलग्न ट्यांकरलाई तीन महिना रोक लगाइएको, ढुवानीकर्ता सुखदेव सिंहको नाममा सञ्चालन गरिएका ११ वटा ट्यांकरको पीडिए रोक्का गरिएको, ट्यांकर चालक धर्मेन्द्र स्वर्णकारलाई ६ महिनासम्म ट्यांकर चलाउन नपाउने गरी बन्देज गरिएको, ट्यांकरमा घटि देखिएको २४८४ लिटर डिजेलको खुद्रा मूल्यको दुई गुणा हुने ४ लाख ९३ हजार ९ सय १८ रुपैयाँ ढुवानीकर्ता सिंहबाट असुल गरिएको निर्देशक यादवले जानकारी दिए ।

केही दिनयता राष्ट्रिय अनुसन्धान व्यूरोले चोरी प्रकरणको अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment