Comments Add Comment

पूर्वराष्ट्रपतिको विलासी विमान बिक्री गर्दै मेक्सिको सरकार

२० मंसिर, काठमाडौं । मेक्सिकोको नवनिर्वाचित सरकारले सरकारी खर्च कटौतीको अभियानस्वरुप पूर्व राष्ट्रपतिले चढ्ने गरेको भव्य र विलासी विमान बिक्री गर्ने तयारी गरेको छ ।

पूर्वराष्ट्रपतिले विदेश यात्राको लागि प्रयोग गर्ने गरेको उक्त विमान बिक्री गर्ने नयाँ राष्ट्रपतिको निर्णयलाई देशलाई खर्चको भारबाट मुक्त गराउने अभियानको पहिलो कदमको रुपमा लिइएको छ ।

‘हामीले भ्रष्ट नेताहरुले प्रयोग गरेका सबै विमान र हेलिकप्टरहरुलाई बिक्री गर्न गइरहेका छौं’, राष्ट्रपतिको रुपमा कार्यभार सम्हालेको पहिलो दिनको अन्तिमतिर राष्ट्रपति आन्द्रेस म्यानुयल लोपेजल ओब्राडोरले भेराक्रुज नजिकै जालापामा भएको एक विजय जुलुसमा घोषणा गरे । भीडले धेरैबेरसम्म उनको समर्थनमा ताली बजाइरह्यो ।

अर्थमन्त्री कार्लोस उर्जुवाले मेक्सिको शहरमा आइतबार आयोजित एक पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपतिले चढ्ने बोइङ ७८७ ड्रिमलाइनरको अगाडि उभिएर चाँडै नै विमान बिक्री गरिने बताएका थिए ।

त्यसलगत्तै सरकारी अधिकारीहरुको साथमा फोटोग्राफर र क्यामेरापर्सनहरु विमानभित्र गएर त्यहाँ भएका आकर्षक इन्टेरियर डिजाइन, राष्ट्रपतिको बेडरुम, टिभी स्क्रिनहरु र मार्बल बिच्छ्याइएका बाथरुमको तस्वीर र दृश्यहरु देखाएका थिए ।

सन् २०१२ मा २१८ मिलियन अमेरिकी डलरमा किनिएको उक्त राष्ट्रपतीय जेट बिक्री गरिने ६० विमान र ७० हेलिकप्टरमध्ये एक हो ।

‘विमानलाई बोइङको सिफारिसमा क्यालिफोर्निया उडाइनेछ जहाँ विमानले आफ्नो नयाँ मालिक प्राप्त गर्ने छ’ अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै विजयजुलुसमा राष्ट्रपति लोपेज ओब्राडोरले चुनावमा सरकारी ढुकुटी बलियो बनाउनको लागि आफूले घोषणा गरेका अन्य लोकप्रिय अभियानहरु जस्तैः पूर्व राष्ट्रपतिको पेन्सन बन्द गरिदिने र उच्च सरकारी अधिकारीहरुलको तलबसुविधा काट्ने प्रतिबद्धता पनि दोहोर्‍याए ।

त्यस्तै नयाँ राष्ट्रपति लोपेज ओब्राडोरले उनी पूर्व राष्टपति बस्ने गरेको भव्य निवासमा नबस्ने र त्यसलाई साँस्कृतिक केन्द्रमा रुपान्तरण गर्ने पनि बताए ।

रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment